Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

जीवनसँग हार नमानेकी मैयाको कथा

जीवनसँग हार नमानेकी मैयाको कथा

सोमबार, कात्तिक १६ २०८३
सोमबार, कात्तिक १६ २०८३
  • काठमाडौं । कहिलेकाहीँ जीवनले मानिसलाई यस्तो मोडहरुमा पुर्‍याउँछ जहाँ आफूले चाहेको बाटो रोज्नेभन्दा परिस्थितिले देखाएको बाटोमा हिँड्नुको विकल्प हुँदैन। कसैको जीवनमा त्यो मोड बाल्यकालमै आउँछ त कसैको वैवाहिक जीवनमा।

    images
    मैया केसीको जीवनमा पनि यस्ता मोडहरू एकपछि अर्को गर्दै आइरहे। बाल्यकालमै विवाह, घरपरिवारको जिम्मेवारी, श्रीमान्ले अर्को विवाह गरेपछिको एक्लोपन र छोरीको भविष्यको चिन्ता। यी सबै पार गर्दै उनी अहिले ८६ वर्षको उमेरमा आइपुगेकी छन्।

    उमेरले ८६ वर्ष पुगे पनि मैया अरूको सहारामा मात्रै दिन बिताउन चाहन्नन्। उनी कहिले धार्मिक कार्यक्रममा पुग्छिन्, कहिले घरमै बसेर धार्मिक पुस्तक पढ्छिन् त कहिले आफ्ना पुराना दिन सम्झिन्छिन्।

    उनको जन्मथलो ओखलढुंगा हो। बाल्यकालमा उनले पनि अरू ग्रामीण बालबालिकाले जस्तै घाँसदाउरा गर्ने, कुटोकोदालो चलाउने र घरायसी काममा सघाउँदै जीवन बिताइन्। तर उनका लागि पढ्ने अवसर भने सहज थिएन।

    त्यस समयमा छोरीलाई पढाउनुपर्छ भन्ने सोच समाजमा थिएन। अरु छोरीहरुला‌ई जस्तै उनलाई पनि अक्षर चिन्ने अवसर सहजै मिलेन। तर उनको पढ्ने चाहना भने कहिल्यै मरेन। उनी बाख्रा चराउन जाँदा घरमा सिकेका अक्षर सम्झिँदै आफैँ अभ्यास गर्थिन्। बाख्रा हेर्दै कखरा दोहोर्‍याएर उनले अक्षर पनि चिन्न सिकिन्। अरूले पढाइदेला भनेर पर्खिनुभन्दा आफूले जानेसम्म आफैँ सिक्ने उनको बानी सायद त्यतिबेलै बसेको थियो।

    सानै उमेरमा विवाह भएपछि उनको जीवनको जिम्मेवारी पनि फेरियो। माइतीमा घाँसदाउरा र खेतीपातीमा सघाउने उनी विवाहपछि घरधन्दामा व्यस्त भइन्। श्रीमान् आर्मीमा जागिरे थिए। जागिर र पारिवारिक परिस्थितिका कारण उनीहरूको बसाइँ पनि एउटै ठाउँमा स्थिर रहेन।

    उनको दाम्पत्य जीवन आफ्नै गतिमा अघि बढ्दै थियो। विवाहको केही वर्षपछि उनीहरूको एउटी छोरी जन्मिइन्। छोरी जन्मिएपछि उनको संसारमा खुसी सँगै नयाँ जिम्मेवारी पनि थपियो।

    तर उनको वैवाहिक जीवन उनले सोचेअनुसार अघि बढ्न सकेन। उनको श्रीमान्ले अर्को विवाह गरे । श्रीमान्ले अर्को श्रीमती लेराएपछि उनी छोरी लिएर छुट्टै बस्नुपर्ने अवस्थामा पुगिन्। त्यसपछि उनको जीवनमा श्रीमान्को साथ रहेन। छोरीको पालनपोषण र भविष्यको जिम्मेवारी पनि उनकै काँधमा थपियो। उनी श्रीमान्सँगै बसिरहन सकिनन्। अन्ततः उनी आफ्नो माइतीतर्फका भाइहरू भएको ठाउँ काठमाडौँ आइन्।

    त्यतिबेला काठमाडौँ उनको लागि परिचित सहर थिएन। ओखलढुंगाबाट सुरु भएको उनको जीवनयात्रा विभिन्न ठाउँ हुँदै धुम्बाराहीमा आएर रोकियो। उनी वि.सं. २०२२ सालतिर पनि काठमाडौँ आएको सम्झिन्छिन्। तर त्यहाँको बसाइँ सहज भएन, फेरि फर्किनुपर्‍यो। पछि छोरीलाई लिएर वि.सं. २०४० सालमा काठमाडौँ आएपछि भने यहीँ बसिन्। त्यसयता करिब चार दशकभन्दा बढी समय उनले धुम्बाराहीमै बिताएकी छन्।

    उनलाई एक्लै छोरी हुर्काउनु सजिलो थिएन। तर उनले छोरीको जिम्मेवारीबाट आफूलाई कहिल्यै पछि हटाइनन्। समय बित्दै जाँदा उनकी छोरी हुर्किइन्, उनको विवाह भयो र परिवार पनि बढ्यो। अहिले छोरी आफ्नो परिवारसहित छाउनीतिर बस्छिन्।

    उनका अहिले नातिनातिनाहरू पनि छन्। तर मैया भने आफ्नै बसाइँमा छिन्। चाडपर्वका बेला छोरीको घर पुगेर टीका लगाउने र भाइहरूकहाँ जाने उनको पारिवारिक भेटघाट अझै चलिरहन्छ। उनको उमेरले टाढा बनाउँदै लगे पनि आफन्तसँगको सम्बन्ध भने टुटेको छैन।

    कहिले काहीँ उनलाई आफ्नो जीवनलाई फर्केर हेर्दा धेरै कुरा सम्झना आउँछ। उनले कति दुःख सहिन्, कति परिस्थिति भोगिन् र कति कुरा त मनमै राखिन्। उनलाई कहिलेकाहीँ बितेका दिन सम्झिँदा आफूले भोगेको पीडा आफैँलाई पनि बुझाउन नसक्ने जस्तो लाग्छ। 

    उनी अहिले ८६ वर्षको उमेरमा पनि ऊर्जाशील र फुर्तिलो छिन् । उनी आफूलाई चलायमान राख्नुपर्छ भन्ने मान्यता राखेको बताउँछिन्। उनी अरूलाई पनि शरीरले साथ दिउन्जेल काम गर्न, हिँडडुल गर्न र खानपिनमा नियमित हुन उत्साही हुँदै सल्लाह दिन्छिन्।

    छोराछोरीले हेर्लान्, कसैले खाना देला र आफू बाँचौँला भन्ने आशामा मात्रै बस्नु हुँदैन भन्ने उनको अनुभव छ। बिरामी परेपछि शरीर झन् कमजोर हुँदै जाने भएकाले सकेसम्म आफैँ सक्रिय रहनुपर्ने उनको बुझाइ छ।

    उनी भन्छिन्, ‘आफैले गरेर आफैँसँग होस्। म थला बसेँ, अब सक्दिनँ भनेर कसैलाई जिम्मा नलाउनु।’

    उमेर बढ्दै जाँदा उनको दिनचर्यामा धार्मिक आस्था पनि एक महत्वपूर्ण हिस्सा बनेको छ। उनी भगवत् भक्ति गर्छिन्, धार्मिक पुस्तक पढ्छिन् र आफूले जानेका श्लोकहरू सुनाउँछिन्। रामायण, गीता र स्वस्थानीका प्रसङ्ग उनलाई अझै याद छन्। कतिपय श्लोक सम्झेर सुनाउँदा बीचमा शब्द बिर्सिए पनि फेरि सम्झिने प्रयास गर्छिन्। धार्मिक कार्यक्रममा सहभागी भएर प्रवचन सुन्नु र ज्ञानगुनका कुरा सिक्नु उनको समय बिताउने माध्यम बनेको छ। जीवनमा आइपरेका दुःखलाई पनि उनी भगवान्कै कृपाका रूपमा स्वीकार्ने गर्छिन्।

    आफ्नो जीवनमा जे भयो, त्यसलाई सम्झेर मात्रै बस्नुभन्दा बाँकी जीवन सन्तोषका साथ बिताउन चाहन्छिन्। धेरै धनसम्पत्ति जोड्ने वा ठूलो महल बनाउने उनको चाहना छैन। खान पाए, बस्न पाए र शरीरमा ठूलो रोग नलागे जीवन चल्ने उनको धारणा छ। पैसा आवश्यक भए पनि त्यसकै पछि लागेर देखावटी जीवन बाँच्नुको अर्थ नरहेको उनी बताउँछिन्।

    मैया आफ्नै जीवनका दुःख सम्झिएर मात्रै बस्दिनन्। आजको समाज र देशको अवस्थाबारे पनि उनको आफ्नै चिन्ता छ। युवाहरू रोजगारीका लागि विदेशिनुपरेको, नेपालमा उद्योगधन्दा बन्द हुँदै गएको र भ्रष्टाचार बढेको देख्दा उनलाई दुःख लाग्छ। कुनै समय चलेका जुत्ता, कपडा र सिमेन्ट कारखानाहरू सम्झिन्छिन्। देशमै काम पाउने वातावरण बने युवाहरू विदेशिनुपर्ने थिएन भन्ने उनको चाहना छ।

    ८६ वर्षको उमेरमा आइपुग्दा मैयासँग जीवनका सबै प्रश्नको उत्तर छैन। आफूले कहाँबाट जीवन सुरु गरेँ र कहाँ पुगेर अन्त्य हुन्छ भन्ने पनि उनलाई थाहा छैन। तर जीवनभर भोगेका अनुभवले उनलाई एउटा कुरा सिकाएका छन्, आफ्नो सामर्थ्यले भ्याएसम्म आफैँ अघि बढ्नुपर्छ। अरूको भरमा मात्रै जीवन चलाउने आशा राख्नु हुँदैन।

    उनलाई जीवनमा ,'खान पाऊँ, बस्न पाऊँ, शरीरमा रोग नलागोस् र मनमा सन्तोष रहोस्।' यति मात्रै चाहन्छिन् । बाँकी सबै कुरा यहीँ छोडेर जानुपर्ने हो भन्ने उनलाई थाहा छ।

    ओखलढुंगाको गाउँबाट सुरु भएको उनको जीवनको ८६ वर्षको यात्रा काठमाडौँको धुम्बाराहीसम्म आइपुगेको छ। बाल्यकालमा बाख्रा चराउँदै अक्षर सिकेकी, वैवाहिक जीवनमा साथ गुमाएकी र छोरीको जिम्मेवारी एक्लै सम्हालेकी मैया अहिले पनि आफ्नै जीवनलाई आफ्नै तरिकाले अघि बढाइरहेकी छन्। जीवनले उनलाई धेरै कुरा खोस्यो होला, तर आफूले सकेसम्म आफैँ बाँच्नुपर्छ भन्ने अठोट भने खोस्न सकेको छैन।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij