काठमाडौं । बालविवाह अन्त्य बालिकाको अधिकार सुनिश्चित तथा डिजिटल सुरक्षा प्रभावकारी बनाउन लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। उनीहरूले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै बालिकामाथि हुने विभेद हिंसा र हानिकारक सामाजिक अभ्यास अन्त्य गर्न राज्य परिवार र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को अवसरमा काठमाडौंमा आयोजित बालिका अधिकार, बालविवाह अन्त्य र डिजिटल सुरक्षासम्बन्धी छलफल कार्यक्रममा सहभागीहरूले बालिकाको शिक्षा, सुरक्षा र समान अवसर सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखेका हुन्।
‘बालविवाह अन्त्य गरौँ र बालिकाको अधिकारमा लगानी गरौँ’ भन्ने नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१२ देखि हरेक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो।
सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न महिलासम्बन्धी विश्व सम्मेलनले पनि महिला तथा बालिकाको अधिकारलाई प्राथमिकताका साथ उठाएको थियो। बालिकाको अधिकार स्थापित गर्ने उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्ने तथा बालविवाह गरिबी अशिक्षा र विभेदजस्ता समस्याबाट मुक्त गराउने उद्देश्यले अन्तर्राष्ट्रिय बालिका दिवस मनाइन्छ।
कानुनको प्रभावकारी कार्यान्वयन र सचेतनामा जोड
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालअधिकारकर्मी तारक धितालले नेपालमा बालिकाको अवस्था, बालविवाह र डिजिटल सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा अध्यक्ष पौडेलले सङ्कट तथा विपद्का समयमा बालविवाह बालश्रम र बालबालिका बेचबिखनजस्ता जोखिम बढ्न सक्ने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन मनोसामाजिक परामर्श तथा सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले नवलपुरमा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्र र त्यसले बालिकाको अधिकार प्रवर्द्धनमा खेल्न सक्ने भूमिकाबारे पनि प्रकाश पारे।
बालविवाहका घटना भइरहे पनि ती सबै प्रहरीमा आधिकारिक रूपमा दर्ता हुने अवस्था नरहेको उनले बताए। बालविवाहसम्बन्धी तथ्याङ्क देखिए पनि प्रहरीमा दर्ता भएका घटनाको अवस्था फरक हुन सक्ने उनको भनाइ थियो।
बालिकाको अधिकार सामाजिक सुरक्षासँग समेत जोडिएको विषय भएकाले विपद्का घटनालाई पनि बालबालिकाको अधिकारको दृष्टिकोणबाट हेर्न आवश्यक रहेको पौडेलले बताए।
कार्यक्रममा सहभागी युवा तथा किशोरकिशोरीले बालविवाहसम्बन्धी बुझाइमा एकरूपता कायम गर्न, कानुनी व्यवस्थाबारे स्पष्टता ल्याउन तथा बालविवाहका नकारात्मक असरबारे अभिभावक र समुदायमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
विपद् र डिजिटल माध्यममा बालिकाको सुरक्षा चुनौती
कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले विपद् महामारी तथा अन्य सङ्कटका समयमा बालविवाह र अनलाइन सुरक्षाको विषय थप संवेदनशील बन्ने बताएका थिए।
भ्वाइस अफ चिल्ड्रेनका राजु घिमिरेले विपद् तथा महामारीका समयमा बालविवाह र अनलाइन सुरक्षासम्बन्धी जोखिम बढ्न सक्ने भन्दै बालबालिकाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।
त्यसैगरी, प्लान इन्टरनेसनलका इर्साद अन्सारी र एक प्याट लगजम्बरकी अमृता पौडेलले बालविवाह अन्त्य तथा बालिकाको शिक्षाको सुनिश्चितताका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय बाल अधिकार परिषद्का रामबहादुर चन्दले तीनै तहका सरकार नागरिक सङ्घसंस्थासँगको सहकार्यमा बालविवाह अन्त्यका लागि प्रयासरत रहेको बताए।
जस्ट राइट्स फर चिल्ड्रेनका विष्णु थापा जीएनबीका प्रकाश खतिवडा एनसीजीआरकी ऋतु भट्टराई, वान लभ वान वर्ल्डका सुनिल लामा तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका राजेन्द्र चौलागाईँलगायतले बालिका सुरक्षित बनाउन र बालविवाह अन्त्य गर्न स्थानीय तहलाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्ने धारणा राखे।
सहभागीहरूले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका थिए। स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका निकायबीच समन्वय र सहकार्य बढाउँदै बालिकाको शिक्षा, सुरक्षा र अधिकार सुनिश्चित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।
कारितास जर्मनी, प्लान इन्टरनेसनल र सेभ द चिल्ड्रेनलगायत संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि, युवा तथा किशोरकिशोरीको सहभागिता रहेको थियो।
नेपालमा बालिकाको अवस्था
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ। तीमध्ये बालिकाको सङ्ख्या ४७ लाख ५५ हजार ७८ अर्थात् कुल बालबालिकाको ४८ दशमलव १७ प्रतिशत रहेको छ।
कुल बालबालिकाको जनसङ्ख्यामा बालिकाको अनुपात घट्दै गएको तथ्यले छोराप्रतिको प्राथमिकता र छोरीप्रतिको विभेदबारे गम्भीर प्रश्न उठाएको कार्यक्रममा औँल्याइएको थियो। कानुनले समान अधिकार सुनिश्चित गरे पनि त्यसको व्यावहारिक कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको सहभागीहरूको भनाइ थियो।
नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हक समानताको हक शिक्षासम्बन्धी हक स्वास्थ्यसम्बन्धी हक तथा शोषणविरुद्धको हकलगायत बालिका र महिलाका विभिन्न अधिकार सुनिश्चित गरेको छ।
संविधानको धारा ३९ ले बालबालिकालाई बालविवाह गैरकानुनी ओसारपसार अपहरण शोषण तथा दुर्व्यवहारबाट संरक्षण गर्ने व्यवस्था गरेको छ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी रेवा रेग्मीले बालविवाहको अवस्थाबारे नेपालका सातै प्रदेशमा राष्ट्रिय अनुसन्धान गरिएको जानकारी दिएकी थिइन्।
सहभागीहरूले कानुनी व्यवस्था र नीतिगत प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै बालिकामाथि हुने विभेद र हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। बालिकालाई समान अवसर
गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र आफ्नो अधिकार प्रयोग गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकार, परिवार, समुदाय तथा नागरिक सङ्घसंस्थाबीच सहकार्य अपरिहार्य रहेको उनीहरूको निष्कर्ष थियो।


