काठमाडौं । बुढ्यौलीलाई केवल आश्रय चाहिने उमेरका रूपमा हेर्ने कि अनुभव, ज्ञान र सम्मानको समयका रूपमा बुझ्ने भन्ने प्रश्न अहिले झन् गहिरिँदै गएको छ। संयुक्त परिवारको संरचना कमजोर हुँदै जाँदा आमाबुवा, हजुरबुवा हजुरआमासँग बिताउने समय घटेको छ। छोराछोरी रोजगारी र सुखद भविष्यको खोजीमा टाढिँदै जाँदा घरमै भएका ज्येष्ठ नागरिक भने कहिलेकाहीँ एउटै छानामुनि भएर पनि एक्लिँदै गएका छन्।
'हामीले वृद्धाश्रम बनाउने मात्र होइन, वृद्धमैत्री परिवार बनाउनुपर्छ,' अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिएका थिए ।
छोराछोरी सुखद भविष्य खोज्दै घरबाट टाढिँदै छन्। कोही रोजगारीका लागि विदेश पुगेका छन्, कोही आफ्नै व्यस्त जीवनमा अल्झिएका छन्। तर उनीहरूका पछाडि रहेका आमाबुवा भने उमेरसँगै बढ्दै गएको एक्लोपनसँगै घरमा बसिरहेका छन्।
समस्या छोराछोरी टाढा हुनु मात्र होइन। एउटै घरमा बस्दा पनि ज्येष्ठ नागरिकले आफूलाई परिवारबाट टाढिएको महसुस गर्न थालेका छन्। समय दिन नसक्नु, कुरा नसुन्नु र निर्णय प्रक्रियाबाट अलग राखिनुले उनीहरूको एक्लोपन अझ गहिरिँदै गएको छ।
पहिले परिवारमै पुस्ताबीचको सम्बन्ध बलियो थियो। हजुरबुवा हजुरआमाका अनुभव सुन्दै हुर्किने पुस्ता अहिले मोबाइल र प्रविधिको संसारमा हुर्किरहेको छ। यससँगै अघिल्लो पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुग्ने क्रम पनि कमजोर हुँदै गएको छ।
ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने कुरा खाना, औषधि र बस्ने ठाउँ मात्र होइन। उनीहरूलाई आफ्नो परिवारमा अझै पनि आफू आवश्यक र मूल्यवान् छु भन्ने अनुभूति चाहिन्छ।
तर बुढ्यौलीसँगै उनीहरूका समस्या पनि थपिँदै जान्छन्। स्वास्थ्य समस्या, आर्थिक निर्भरता, सम्पत्तिमाथिको अधिकार, बीमा तथा दैनिक काममा अरूमाथिको निर्भरता उनीहरूको जीवनलाई थप असुरक्षित बनाउँछ।
विशेषगरी स्मरणशक्ति कमजोर हुँदै जाने अवस्थाले सम्पत्ति र निर्णयको अधिकारको प्रश्न झन् जटिल बनाउँछ। ज्येष्ठ नागरिकले आफूले जीवनभर कमाएको सम्पत्ति आफ्नै उपचार र सुरक्षाका लागि प्रयोग गर्न नसक्ने अवस्था आउन सक्ने चिन्ता पनि अहिले बढ्दो छ।
यस्तो अवस्थामा वृद्धाश्रमलाई समाधानका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। वृद्धाश्रम आवश्यक पर्ने अवस्थाका मानिसका लागि सुरक्षित स्थान हुन सक्छ, तर प्रत्येक परिवारले आफ्नै घरलाई पनि ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता छ।
ज्येष्ठ नागरिकको सम्मान कुनै नयाँ कानुनले सिकाउने विषयभन्दा पहिले परिवारबाट सुरु हुने संस्कार हो। उनीहरूलाई दयाको पात्र होइन, परिवारको इतिहास, अनुभव र ज्ञान बोकेको सदस्यका रूपमा हेर्न आवश्यक छ।
किनकि एउटा पुस्ता बुढो हुँदै गर्दा अर्को पुस्ता पनि त्यही बाटोमा अघि बढिरहेको हुन्छ। आज आफ्ना आमा बुवालाई दिने व्यवहार नै भोलि आफूले पाउने समाजको स्वरूप पनि बन्न सक्छ।


