काठमाडौं । व्यवसाय सुरु गर्न पैसा मात्र पर्याप्त हुँदैन। बजारको अवस्था, समय, सीप, जनशक्ति र परिस्थितिले पनि व्यवसायीको यात्रा निर्धारण गर्छ। नेपालमा हस्तकलाका सामग्री तथा ऊनजन्य वस्तुको व्यवसाय सुरु गर्ने पुस्ताले भने यी सबैसँगै देशको द्वन्द्व पनि सामना गर्नुपर्यो। बजार डिजिटल भइसकेको थिएन। ग्राहक भेट्न प्रदर्शनी र पसलसम्म पुग्नुपर्थ्यो। विदेशबाट अर्डर लिन विदेशमै पुग्नुपर्ने अवस्था थियो।
श्याम सुवेदीले त्यस्तै समयमा व्यवसाय सुरु गरेका थिए। वि.सं. २०५७/५८ सालतिर उनले काम सुरु गर्दा नेपालमा यो क्षेत्रमा लाग्ने व्यवसायीको संख्या पनि निकै कम थियो। सुरुमा उत्पादनबारे उनलाई खासै ज्ञान थिएन। ग्राहकले दिएको नमुना हेरेर कसरी बनाउने भन्ने आफैँ सिक्नुपर्थ्यो। ऊन रंगाउनेदेखि बल र पर्स बनाउनेसम्मका काम उनले परीक्षण गर्दै सिके। कहिलेकाहीँ असफल भए, फेरि अर्को तरिका अपनाए। केही काम सिकेका दिदीबहिनीको सहयोग लिएर साना पर्स र झोलाबाट उत्पादन सुरु गरे।
व्यवसाय विस्तार हुँदै थियो। तर देशको द्वन्द्वले उनको संघर्षलाई अर्कै मोड दियो।
त्यतिबेला उनको कारखाना घरमै थियो। दैनिक ठूलो संख्यामा कामदार आउजाउ गर्थे। द्वन्द्वरत समूहका मानिसले कारखानाको गतिविधिमाथि निगरानी राख्थे र विदेशमा सामान बेच्ने व्यवसाय भएकाले ठूलो रकम ‘चन्दा’ माग्थे। श्यामका अनुसार माग निकै ठूलो हुन्थ्यो। आफूले त्यस्तो रकम दिन नसक्ने बताएपछि परिवारमाथिसमेत दबाब र धम्की आउन थाले।
त्यो समय उनका लागि आर्थिकभन्दा मानसिक दबाब ठूलो थियो। श्रीमान् श्रीमती बिहानदेखि रातिसम्म १८ घण्टासम्म काम गर्थे। तर अर्डर समयमै पूरा गर्न नसक्दा सामान फिर्ता हुने र अर्डर रद्द हुने जोखिम पनि थियो। त्यही मेहनतका बीच आफूलाई नै ‘डलर कमाउने व्यवसायी’ भनेर हेर्न थालिएपछि उनी निराश भए। अन्ततः व्यवसायबाट करिब एक दशक टाढिनुपर्यो।
त्यो दूरी पनि सहज थिएन। उत्पादन बन्द भए पनि उनी प्रदर्शनीका लागि विदेश गइरहे। पछि पारिवारिक जिम्मेवारी केही सहज भएपछि पुरानै व्यवसायमा फर्किए। अहिले श्रीमती र छोराछोरीसमेत व्यवसायमा जोडिएका छन्।
तर संघर्ष सकिएको छैन। अहिले ग्राहक र अर्डरको कमी छैन, समस्या दक्ष कामदारको छ। हातैले गर्नुपर्ने धेरै चरणका काम भएकाले मागअनुसार उत्पादन गर्न चुनौती छ। यही कारण विभिन्न ठाउँमा साना शाखा बनाएर काम बाँड्नुपरेको छ।
द्वन्द्व, पारिवारिक जिम्मेवारी, व्यवसायबाटको दूरी र पुनः सुरुवात पार गर्दै श्याम अहिले पनि यही काममा छन्। उनका लागि व्यवसाय आम्दानीको माध्यम मात्र होइन, आफूले रोजगारी सिर्जना गर्न सक्ने ठाउँ पनि हो। त्यसैले आफ्ना छोराछोरीलाई विदेशभन्दा नेपालमै सम्भावना खोज्न उनी प्रेरित गर्छन्।


