Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

नयाँ जोशका पुराना पुस्ता !

नयाँ जोशका पुराना पुस्ता !

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • काठमाडौं । कुनै समय थियो जब विद्यालय जानु नै धेरै परिवारका छोराछोरीका लागि ठूलो कुरा हुन्थ्यो। पढ्न वा लेख्न चाहिने किताब र कापी सहज रुपमा पाइने थिएनन् । पढाइका लागि घरभन्दा बाहिर निस्कनुपर्ने अवसर पनि सीमित थियो।

    images

    गाउँमा विद्यालय खोल्न शिक्षकहरू घरघर पुगेर अभिभावकलाई छोराछोरी पठाउन आग्रह गर्नुपर्थ्यो। मन्दिरका कोठा विद्यालय बन्थे, परालका सुकुलमा बसेर पढिन्थ्यो र स्लेटमै अक्षर कोरिन्थ्यो।

    त्यही पुस्ताले छोटो समयमै संसारलाई पूरै बदलिएको देख्यो। स्लेटबाट कापी, कापीबाट टाइपराइटर हुँदै कम्प्युटरसम्म आइपुग्यो। छिमेकीसँग ऐँचोपैँचो गर्ने समाज डिजिटल सम्पर्कमा पुग्यो। काम सिक्ने ठाउँ फेरियो र सूचना पाउने तरिका पनि फेरियो।

    तर यो परिवर्तन हेरेर बसेको पुस्ता भने एउटै ठाउँमा रोकिएको भने छैन। यस्तै व्यक्तिहरू मध्यका एक उदाहरण हुन् ८२ वर्षिया सानुकाजी श्रेष्ठ।

    बाल्यकालमा मन्दिरभित्रको विद्यालयमा सुकुलमा बसेर स्लेटमा लेखेका श्रेष्ठ अहिले पनि नयाँ कुरा सिक्ने क्रममै छन्। कक्षामा स्लेट भुइँमा खसाएर टुक्रिएपछि प्रधानाध्यापकबाट चड्कन खाएको घटना उनलाई अझै सम्झना छ। त्यो चड्कनलाई उनी अहिले पनि अनुशासन सिकाएको एउटा पाठका रूपमा सम्झन्छन्।

    तर उनको कथा त्यहीँ सकिँदैन। समयसँगै उनले विभिन्न सीप सिके र कम्प्युटरको किबोर्डमा विशेष रुचि बनाए। अहिले पनि किबोर्ड नहेरी कम्प्युटर चलाउन सक्ने उनी कुनै नयाँ सीप मन परे त्यसलाई सिकेर नछोड्ने बताउँछन्।

    ‘कुनै पनि स्किल मनले खायो भने म त्यसलाई टिपिहाल्छु,’ उनी भन्छन्।

    उनीजस्ता मानिसका लागि उमेरसँगै सिकाइ रोकिएको छैन। बिहान योग गर्ने, नयाँ कुरा सोच्ने, त्यसलाई परीक्षण गर्ने र आफूले जानेका कुरा अरूसँग बाँड्ने उनको दिनचर्या छ। त्यसैले उनी जेष्ठ नागरिकलाई केवल सहारा चाहिने उमेर समूहका रूपमा हेर्ने प्रवृत्तिमाथि प्रश्न गर्छन्।

    उनको पुस्ताले अभाव देख्यो, सामूहिकता देख्यो र परिवर्तन पनि देख्यो। नयाँ मान्छे टोलमा आउँदा उसको सीपबारे चासो राख्ने, समस्या पर्दा छिमेकी गुहार्ने र अनुभवबाट समाधान खोज्ने संस्कार उनीहरूका सम्झनामा अझै छ। अहिले त्यो सम्बन्ध र निर्भरता विस्तारै कमजोर हुँदै गएको उनी महसुस गर्छन्।

    उता नयाँ पुस्तासँग प्रविधि छ, सूचना छ र नयाँ सम्भावना खोज्ने गति छ। तर श्रेष्ठका लागि पुस्तान्तरण भनेको पुरानो पुस्ताले नयाँलाई उपदेश दिने कुरा मात्र होइन। एउटा पुस्ताको अनुभव र अर्को पुस्ताको ऊर्जा जोडिनु पनि हो।

    त्यसैले उनी जेष्ठ नागरिकलाई आफ्ना अनुभव गुम्साएर नराख्न र युवालाई आफ्नो वरिपरिको समाज तथा सम्भावना चिन्न आग्रह गर्छन्।

    स्लेटदेखि कम्प्युटरसम्म आइपुगेको यो पुस्ताको कथा केवल विगतको सम्झना होइन। यो परिवर्तनसँगै आफूलाई बदल्दै आएको एउटा पुस्ताको कथा हो । जसले धेरै कुरा गुमायो, धेरै कुरा सिक्यो र अझै नयाँ कुरा सिक्ने क्रममै छ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij