Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

स्याउ बेच्दै शहर पसेका जुम्ली

स्याउ बेच्दै शहर पसेका जुम्ली

बुधबार, भदौ ३१ २०८३
बुधबार, भदौ ३१ २०८३
  • काठमाडौं । काठमाडौंमा ग्यासको अभावका कारण उपभोक्ता लाइनमा बसिरहेका बेला बालाजुको सडकछेउ दुई जना पुरुष भने जुम्लाबाट ल्याएको स्याउ बेच्न व्यस्त छन्। उनीहरूलाई ग्यास होइन आफ्नै उत्पादनको बजार र त्यसबाट घर चलाउने आम्दानी चाहिएको छ।

    images

    मेघेर तिरुवा र शरण कामी जुम्लाबाट स्याउ बोकेर काठमाडौं आएका हुन्। गाउँमा उत्पादन भएको स्याउ बेच्न उनीहरूले सयौँ किलोमिटरको यात्रा गर्नुपर्छ। बाटोमा पहिरो आयो भने गाडी पाँच सात दिनसम्म रोकिन्छ। त्यति लामो यात्रामा स्याउ बिग्रिने जोखिम हुन्छ। काठमाडौं आइपुगेपछि पनि ग्राहक खोज्दै हिँड्नुपर्छ।

    कहिले दिनमा पाँचसात पेटी बिक्री हुन्छ भने कहिले ५०-६० किलोसम्म। त्यसबाट उनीहरूले प्रतिकिलो १०-१५ रुपैयाँजति मात्रै नाफा निकाल्छन्। तर त्यही थोरै नाफाले घरखर्च धान्न उनीहरू फेरि अर्को खेप स्याउ बोकेर आउँछन्।

    जुम्लामा उत्पादन हुने स्याउ गाउँमै पनि बिक्री हुन्छ। तर बजार सीमित छ। काठमाडौंमा ल्याउँदा मूल्य केही बढ्छ, किनकि त्यसमा गाडी भाडा, बाटोको जोखिम र बसोबासको खर्च जोडिन्छ। उपभोक्ताका लागि महँगो देखिने त्यही स्याउ उनीहरूका लागि भने घर फर्किने खर्च जुटाउने माध्यम हो।

    मेघेरका लागि यो संघर्ष नयाँ होइन। काठमाडौं आउनुअघि उनले करिब १५ वर्ष भारतका विभिन्न सहरमा जडीबुटी तथा अन्य सामान बेच्दै बिताए। दिल्लीदेखि बम्बईसम्म घुमेका उनी अहिले आफ्नै देशमा जुम्लाको उत्पादन बेचिरहेका छन्। परदेशमा पैसा कमाए पनि आफ्नै ठाउँको भाषा र मानिससँग काम गर्न पाउनु फरक अनुभव भएको उनी बताउँछन्।

    तर आफ्नै गाउँमा पर्याप्त रोजगारी छैन। त्यसैले उमेर बढ्दै गए पनि उनीहरू काम खोज्दै सहरसम्म आइपुग्छन्। 'जागिर वा रोजगार भएको भए यति टाढा आउनुपर्ने थिएन,' उनीहरूको भनाइ छ।

    काठमाडौंका लागि उनीहरू स्याउ बेच्न आएका दुई व्यापारी हुन्। तर उनीहरूको यात्राभित्र दुर्गम गाउँको एउटा ठूलो प्रश्न लुकेको छ । आफ्नै ठाउँमा उत्पादन गर्ने हातलाई बजार र रोजगारी किन पुग्दैन?

    उनीहरूलाई ग्यास चाहिँदैन। उनीहरूलाई आफ्नो उत्पादन बेच्ने बजार, श्रमको उचित मूल्य र घरमै बसेर परिवार पाल्न सक्ने रोजगारी चाहिएको छ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij