काठमाडौं । ‘कमलको फूलझैँ बसाइरहनुहोस्।’ बिहीबार टोखा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा सुनिएको आत्मीय वाक्य हो यो।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईलाई कमलको फूलसँग तुलना गर्दै बिदाइ गरेका हुन्।
भट्टराई १३ महिनादेखि टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। बिहीबार आयोजित बिदाइ समारोहमा उनलाई माला र खादाले सम्मान गरिएको थियो।
१३ महिना सँगै काम गरेका सहकर्मीहरूसँग हात हल्लाउँदै भट्टराई टोखाबाट बिदा भए। अब उनी झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्न जाँदैछन्।
भट्टराईको स्थानमा राम प्रसाद आचार्य टोखा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रवेश गरेका छन्।
नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा पुरानालाई बिदाइ गर्न आयोजित समारोहमा नगर प्रमुख प्रकाश अधिकारीले भट्टराईको खुलेर प्रशंसा गरे। उनले भट्टराईलाई मिजासिलो र हँसिलो नगरपालिका हाकिमका रूपमा स्मरण गरे।
बिदाइ समारोहमा भट्टराईले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई निर्भीक र इमानदारीका साथ काम गर्न आग्रह गरे। उनले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
भट्टराईले नगर प्रमुख अधिकारीको कार्यकाल अब करिब आठ महिना मात्रै बाँकी रहेको स्मरण गराउँदै बाँकी अवधिमा देखिने गरी काम गर्नुपर्ने बताए।
१३ महिना टोखा नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका भट्टराई अब दमकको जिम्मेवारीमा जाँदैछन् भने आचार्यले टोखाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफ्नो जिम्मेवारी सुरु गरेका छन्।


