काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियू (क्रान्तिकारी)ले काठमाडौंमा फरक शैलीको विरोध प्रदर्शन गरेको छ।
काठमाडौंको प्रदर्शन मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि क्रान्तिकारीका विद्यार्थीहरूले सडकमा दाउरा बालेर अस्थायी चुलो बनाई भात तथा तरकारी पकाएर विरोध जनाएका हुन्।
ग्यास अ
भावका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भइरहेका बेला सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा सडकमा खाना पकाएर विरोध गरिएको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकालले बताए।
उनले विरोधलाई शान्तिपूर्ण र सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै ग्यास अभावको समस्याप्रति सरकार तथा सम्बन्धित निकायको ध्यान खिच्न कार्यक्रम गरिएको बताए।
‘ग्यास अभावका कारण घरको चुलो बल्नसमेत समस्या भइरहेको अवस्थामा त्यसको विरोधस्वरूप सडकमा खाना पकाएका हौँ,’ ढकालले भने ‘शान्तिपूर्ण ढंगले विरोध जनाउँदै समाजमा सकारात्मक सन्देश दिन पनि यो शैली अपनाएका हौँ।’
विरोध कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो। सडकमा दाउरा बालेर खाना पकाउँदै गरेको दृश्यले उक्त क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणको समेत ध्यान तानेको थियो।
कार्यक्रमस्थलमा सुरक्षाकर्मीको उपस्थिति समेत रहेको थियो।


