नुवाकोट । भदौ १० गते आएको बाढीले रसुवामा मात्रै ठूलो क्षति पुर्याएन, नुवाकोटको बेत्रावती क्षेत्र पनि बाढीको चपेटामा पर्यो। बेत्रावती नदीमा आएको भीषण बाढीले विदुर नगरपालिका–१० को बेत्रावती बजार र वडा नम्बर १ को ढुंगे बजारमा ठूलो क्षति पुर्याएको छ।
बाढी प्रभावित क्षेत्रमा पुग्दा बेत्रावती र ढुंगे बजारको अवस्था हेर्नलायक थिएन। केही दिन अघिसम्म मानिसको चहलपहल हुने बजार अहिले पानी, लेदो, ढुंगा र माटोले भरिएको छ। घर र पसलका भित्री भागसम्म लेदो पसेको छ। सडकमा मोटरसाइकलदेखि ठूला ट्रकसम्म माटोमा आधा पुरिएका छन्। घरभित्रका सामान बाहिर छरिएका छन्। कतै चप्पल र लत्ताकपडा देखिन्छन्, कतै भाँडाकुँडा र दैनिक प्रयोगका सामग्री हिलोमा पुरिएका छन्।
बाढीले पशुपालन र कुखुरा व्यवसायमा पनि ठूलो क्षति पुर्याएको छ। कतिपय फार्म पूर्ण रूपमा तहसनहस भएका छन्। भर्खरै तयार गरिएको बंगुरको खोरमा पालिएका ५८ वटा ठूला बंगुर बाढीपछि रहेनन्। फार्म विस्तारका लागि अर्को खोरसमेत निर्माण भइरहेको थियो। तर एकैपटक आएको बाढीले फार्मसहित वर्षौंको मेहनत बगाइदियो।
‘बंगुर पनि छैन, कुखुरा पनि छैन, पसल पनि छैन, केही पनि बाँकी भएन,’ एक स्थानीयले बाढीपछिको अवस्था सुनाउँदै भने।
बेत्रावती नदीमा पानीको सतह एकैपटक बढेपछि स्थानीयले घर छोडेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको थियो। कतिपय जंगलतर्फ पुगे भने केही स्थानीय जंगलको बीचमा रहेको घरमा आश्रय लिएर बसे। ज्यान जोगाउन हतारमा निस्किएका उनीहरूसँग घरभित्रका सामान सार्ने समय थिएन। बाँधिएका पशुचौपायालाई समेत त्यत्तिकै छोडेर भाग्नुपरेको स्थानीयको भनाइ छ।
बाढीले विद्यालयहरूलाई पनि छोडेन। कतै विद्यालय भवन पूर्ण रूपमा डुबेका छन् भने कतै भवनको छत मात्रै देखिन्छ। विद्यालय आसपास पुग्दा विद्यार्थीका कापी, किताब, कलम र विद्यालय पोशाकहरू लेदोमा छरिएका भेटिन्छन्। केही दिन अघिसम्म बालबालिकाको पढाइ र चहलपहल हुने ठाउँ अहिले बाढीको भग्नावशेषले भरिएको छ।
तीन तले घरसमेत आधासम्म डुबेका छन्। घरमा बाँकी रहेका परिवारका सदस्यहरू अझै त्रसित छन्। एक स्थानीय वृद्धले बाढीको दृश्य सम्झिँदै आफूले जीवनमा यस्तो अवस्था कहिल्यै नदेखेको बताए।
बाढीले घर, पसल, फार्म र विद्यालयमा क्षति पुर्याएको छ। धेरै परिवारको आम्दानीको आधार नै गुमेको छ। अहिले प्रभावित क्षेत्रमा राहत सामग्री, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुको आवश्यकता देखिन्छ। घर र व्यवसायमा भएको क्षतिको व्यवस्थापनसँगै विस्थापित परिवारलाई सुरक्षित रूपमा बस्ने व्यवस्था गर्नु पनि तत्कालको आवश्यकता बनेको छ।
बेत्रावती र ढुंगे बजारमा बाढीको पानी घटेको छ, तर त्यसले छाडेको लेदो र भग्नावशेष अझै हटिसकेको छैन। बजार फेरि चलाउन र प्रभावित परिवारलाई आफ्नो दैनिकीमा फर्काउन अब उद्धारसँगै राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने देखिन्छ।


