काठमाडौं । अध्ययन र ज्ञानको यात्रा सधैं किताबका पानाबाट मात्र अघि बढ्दैन। कहिलेकाहीँ घरको आँगन, गुरुले सिकाएको पहिलो अक्षर र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको संस्कारबाट सुरु हुन्छ। प्राध्यापक डा. हरिप्रसाद गौतमको जीवनयात्रा पनि यही निरन्तरताको एउटा उदाहरण हो।
७९ वर्षको उमेरमा पनि अध्ययन र अनुसन्धानमा सक्रिय गौतमका लागि संस्कार पूजा, कर्मकाण्ड वा परम्पराको निरन्तरता मात्र होइन। उनका लागि यो मानिसलाई समाजमा कसरी बाँच्ने, कसरी व्यवहार गर्ने र आफ्नो जिम्मेवारी बुझ्ने बनाउने भन्ने एउटा पद्धति पनि हो। यही दृष्टिकोण उनको अध्ययन र अनुसन्धानको बृहत् कृति ‘वैदिक संस्कार विमर्श’मा पनि प्रष्ट देखिन्छ।
वर्षौंको अध्ययनपछि तयार भएको उक्त कृतिमा वैदिक संस्कारका धार्मिक पक्षसँगै त्यसका व्यवहारिक र वैज्ञानिक पक्षलाई पनि केलाइएको उनी बताउँछन्। सन्तान जन्मनुअघिको तयारीदेखि जन्मपछि गरिने संस्कारसम्मका विषयलाई उनले मानिसको जीवनसँग जोडेर हेरेका छन्।
'असल जीवन हुनका लागि पहिला संस्कार चाहिन्छ,' गौतमको बुझाइ छ। संस्कार भन्नाले उनले धार्मिक विधि मात्र होइन कसरी बोल्ने, पाहुना आउँदा कसरी व्यवहार गर्ने, समाजमा आफ्नो मर्यादा कसरी कायम राख्ने र अरूप्रति कस्तो दृष्टिकोण राख्ने यी सबैलाई संस्कारकै हिस्सा मान्छन्।
उनको विचारमा वैदिक परम्पराभित्र रहेका कतिपय अवधारणालाई आजको पुस्ताले नयाँ दृष्टिले बुझ्न आवश्यक छ। विशेषगरी शिक्षा, नीति, सामाजिक व्यवहार र मानव सम्बन्धसँग जोडिएका विषयलाई उनले यसको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्छन्।
त्यसैले उनी संस्कारलाई अतीतको अवशेषका रूपमा मात्र नभइ बरु त्यसमा रहेका व्यवहारिक पक्षलाई आधुनिक शिक्षासँग पनि जोड्नुपर्ने धारणा राख्छन्। नयाँ पुस्ताले आफ्ना परम्पराको वैज्ञानिक र व्यवहारिक पक्ष बुझ्न सके त्यसले व्यक्तिगत जीवनसँगै समाजलाई पनि प्रभाव पार्न सक्ने उनको विश्वास छ।
उनको सोच संस्कारबाट समाजतर्फ पनि फैलिन्छ। ऋग्वेदको ‘मनुर्भव’ अर्थात् पहिला मानिस बन भन्ने भावलाई उनी जीवनको आधारसँग जोड्छन्। मानिस हुनु केवल जन्मसँग सम्बन्धित कुरा होइन, व्यवहार र जिम्मेवारीसँग पनि जोडिएको विषय हो भन्ने उनको तर्क छ।
उनको विचारमा परम्परा त्यतिबेला मात्र जीवित रहन्छ, जब त्यसले नयाँ पुस्ताको जीवनमा अर्थ राख्छ। साढे छ दशकभन्दा लामो अध्यापन र अनुसन्धानपछि गौतमको निष्कर्ष सायद संस्कार दोहोर्याइने विधिमा मात्र सिमित नभइ बुझेर बाँचिने मूल्य बन्न सके त्यसको अर्थ पुस्तासँगै अगाडि बढ्न सक्छ भन्ने पनि हो ।


