Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

सहिदका नामले चिनिएको गाउँ

सहिदका नामले चिनिएको गाउँ

शुक्रबार, साउन २९ २०८३
शुक्रबार, साउन २९ २०८३
  • गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा प्रवेश गर्दा सबैभन्दा पहिले देखिने कुरा यहाँका सडक, घर वा पहाड होइनन् ति भित्तामा लेखिएका नाम हुन्।

    images

    पालिकाको प्रवेशद्वारदेखि सार्वजनिक चौतारा, प्रतीक्षालय र विभिन्न संरचनासम्म पुग्दा सहिदको स्मृति पटक पटक भेटिन्छ । कतै तस्वीर छन्, कतै स्मृति चिह्न त कतै सहिदका नाम। कुनै संरचनाको नामसँगै ‘सहिद स्मृति’ जोडिएको छ। लाग्छ, यो गाउँले आफ्नो विगतलाई लुकाएको छैन, सार्वजनिक ठाउँमै राखेर अर्को पुस्तालाई देखाइरहेको छ।

    WhatsApp Image 2026-08-14 at 12.29.17 PM (1).jpeg

    यो केवल स्मरणको अभ्यास पनि होइन। यहाँ सहिदको कथा गाउँको पहिचानसँग जोडिएको छ।

    भिमसेन थापा गाउँपालिका आफैं नेपालको इतिहाससँग जोडिएको भूगोल हो। राष्ट्रिय विभूति तथा नेपालका तत्कालीन मुख्तियार भिमसेन थापाको जन्मस्थल बोर्लाङ यही पालिकामा पर्छ। राज्य निर्माण र राजनीतिक इतिहाससँग जोडिएको यो ठाउँले पछिल्ला राजनीतिक आन्दोलनमा पनि ठूलो मूल्य चुकायो। गाउँपालिकाको विवरणअनुसार विभिन्न आन्दोलनमा २९ जनाले ज्यान गुमाए। कतिपय अझै बेपत्ता छन्।

    ती नाम अहिले पालिकाको भित्तामा छन्। गाउँका संरचनाहरुमा छन् । 

    WhatsApp Image 2026-08-14 at 12.29.17 PM (4).jpeg

    तर भित्तामा लेखिएको एउटा नामले त्यो व्यक्तिको कथा बताउँदैन। त्यसको पछाडि एउटा परिवार हुन्छ, अधुरो घर हुन्छ, पर्खेर बसेका मानिस हुन्छन् र कुनै समय देखिएको भविष्यको सपना हुन्छ। त्यसैले यहाँका लागि सहिद स्मृति केवल इतिहासको विषय होइन, व्यक्तिगत र सामूहिक सम्झनाको विषय पनि हो।

    WhatsApp Image 2026-08-14 at 12.29.17 PM (3).jpeg

    गाउँपालिकाले यही सम्झनालाई सार्वजनिक जीवनसँग जोड्ने प्रयास गरेको छ। सहिद स्मृति अस्पताल, विद्यालय, चोक, मार्ग र प्रतीक्षालयजस्ता संरचनामा सहिदको नाम राखिएको छ। राजनीतिक परिवर्तनका क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूका तस्वीर र विवरणसमेत संकलन गरेर राख्ने प्रयास गरिएको छ।

    तर नाम राख्दैमा स्मृति पूरा हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि यहीँ उभिन्छ।

    गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराका लागि यो प्रश्न अरूका लागि जस्तो टाढाको विषय होइन। माओवादी जनयुद्धका क्रममा उनले श्रीमती र बहिनी गुमाएका छन्। वि.सं. २०६२ सालमा गोरखामै भएको घटनामा आफ्ना प्रियजन गुमाएपछि सहिदको पीडा उनको व्यक्तिगत जीवनको हिस्सा बन्यो। आफ्ना प्रियजनको सम्झनामा उनले आफ्नो घरको नामसमेत ‘सहिद स्मृति’ राखेका छन्।

    त्यसैले उनका लागि सहिदलाई सम्झनु तस्वीर राख्नु वा कुनै संरचनाको नाम परिवर्तन गर्नु मात्र होइन। उनी सहिदहरूले उठाएका मुद्दा र देखेको भविष्यलाई बिर्सन नहुने बताउँछन्।

    WhatsApp Image 2026-08-14 at 12.29.17 PM (6).jpeg

    तर गाउँको वर्तमानले अर्को कथा पनि सुनाइरहेको छ।

    जुन गाउँले राजनीतिक परिवर्तनका लागि आफ्ना मानिस गुमायो, त्यही गाउँ अहिले आफ्ना युवा विदेश र सहरतर्फ गुमाउँदैछ।

    त्यहाँ घरहरू छन्, खेतबारी छन् र सडक पुगेका छन्। सार्वजनिक संरचना बनेका छन्। तर धेरै घरमा युवा छैनन्। गाउँको विकासका लागि आवश्यक श्रम र ऊर्जा बोकेको पुस्ता रोजगारी र अवसरको खोजीमा बाहिरिएको छ।

    गाउँपालिकाको नेतृत्व गरिरहेका बन्जाराले पनि आफ्नो राजनीतिक यात्रामा गाउँलाई बदल्ने सपना देखेका थिए। वि.सं. २०७४ सालमा अध्यक्ष बन्ने तयारीदेखि वि.सं. २०७९ सालमा नेतृत्वमा पुग्दासम्म उनले गाउँका लागि धेरै योजना कोरे। तर अहिले गाउँको अर्को चुनौती उनका अगाडि उभिएको छ । त्यो हो गाउँलाई बस्न लायक बनाउने मात्र नभइ युवालाई गाउँमै बस्न चाहने बनाउने।

    यही कारण सहिद स्मृतिलाई पर्यटन र विकाससँग जोड्ने योजना अघि सारिएको छ।

    ऐतिहासिक तान्द्राङकोटको फेदीमा सहिद स्मृति पार्क निर्माणको योजना छ। दुल्ल पार्क, सहिद स्मृति पार्क र सिद्धकाली क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने सोच अघि सारिएको छ। योजना कार्यान्वयन भए यहाँ आउने मानिसले पहाडको दृश्य मात्रै होइन, यो भूमिले बोकेको राजनीतिक इतिहास र सहिदका कथा पनि बुझ्न सक्नेछन्।

    त्यसैगरी भिमसेन थापासँग जोडिएको ऐतिहासिक स्थललाई पुनर्निर्माण गरी स्मृति पार्क तथा संग्रहालयका रूपमा विकास गर्ने तयारी छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको र पुरातत्व विभागलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।

    तर संरचना थपिँदैमा गाउँको खालीपन भरिन्छ भन्ने छैन।

    सहिदका नाम भित्तामा सुरक्षित छन्। उनीहरूका तस्वीर सार्वजनिक ठाउँमा छन्। पार्क र संग्रहालय बनाउने योजना पनि छ। तर ती नामको वास्तविक अर्थ तब मात्र पूरा होला, जब गाउँमा बाँचिरहेका मानिसको जीवन पनि सहज हुन्छ, बालबालिकाले भविष्य देख्न सक्छन् र बाहिरिएका युवाले आफ्नै गाउँमा फर्किने कारण भेट्छन्।

    सहिद.png

    किनकि कुनै गाउँलाई सहिदको गाउँ बनाउने कुरा केवल विगत सम्झनु होइन, उनीहरूले कल्पना गरेको भविष्य कस्तो थियो भनेर सोध्नु पनि हो।

    भिमसेन थापा गाउँपालिकाका भित्तामा कुदिएका २९ नामले विगत सम्झाइरहेका छन्। गाउँबाट बाहिरिँदै गरेका युवाहरूले भने वर्तमानको अर्को प्रश्न छोडिरहेका छन् । स्मृतिले गाउँ जोगाउँछ कि गाउँमा भविष्यको सम्भावनाले?

    सायद सहिदको साँचो सम्मान यही प्रश्नको उत्तर खोज्नबाट सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij