Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बालबालिका

भाइरलको भीडमा हराउँदै बालअधिकार

भाइरलको भीडमा हराउँदै बालअधिकार

सामाजिक सञ्जालमा बालबालिका र गोपनीयताको प्रश्न

मंगलबार, साउन १२ २०८३
मंगलबार, साउन १२ २०८३
  • काठमाडौं । नेपालमा पछिल्ला केही वर्षयता सामाजिक सञ्जालमा बालबालिकाका भिडियो रातारात भाइरल हुने क्रम बढ्दो छ। कसैको बोली, कसैको गीत, कसैको नाच त कसैको दैनिक जीवनका सामान्य क्षणहरू लाखौँ दर्शकसम्म पुग्ने गरेका छन्। केही समयका लागि उनीहरू सामाजिक सञ्जालको केन्द्रबिन्दु बन्छन्। तर त्यस्ता भिडियोले बालबालिकाको गोपनीयता, मानसिक अवस्था र भविष्यमा पार्न सक्ने प्रभावबारे भने अपेक्षाकृत कम चर्चा हुने गरेको छ।

    images

    केही दिनअघि यस्तै अर्को भिडियोले सामाजिक सञ्जालको ध्यान खिच्यो। बर्सादी ओढेर विद्यालयतर्फ हिँडिरहेका तीन जना साना बालबालिकालाई पछाडिबाट पटक पटक ‘हेलो साथीहरू’ भन्दै बोलाइयो। तर विद्यालय पुग्ने हतारमा रहेका उनीहरू नरोकी आफ्नो बाटो लागे। केही सेकेन्डको यही दृश्य लाखौँले हेरे। भिडियो भाइरल बनेपछि धेरैले उनीहरूको परिचय खोज्न थाले, र केही समयपछि ती बालबालिकासँग गरिएको अर्को भिडियोसमेत सार्वजनिक भयो।

    यो घटनाले फेरि एउटा पुरानै प्रश्नलाई अगाडि ल्याएको छ । सामाजिक सञ्जालमा भाइरल सामग्री बनाउने होडमा बालबालिकाको अधिकार र गोपनीयतालाई कति ध्यान दिइएको छ त?

    नेपालमा यसअघि पनि धेरै बालबालिका सामाजिक सञ्जालमार्फत चर्चामा आएका छन्। तीमध्ये बालगायक सचिन परियार को उदाहरण उल्लेखनीय मानिन्छ। उनको प्रतिभाले व्यापक चर्चा पाए पनि लोकप्रियताले मात्र उनको दीर्घकालीन संरक्षण र आवश्यक सहयोग सुनिश्चित गर्न सकेन। उनको असामयिक निधनपछि बालप्रतिभाको संरक्षण र सामाजिक जिम्मेवारीबारे पुनः बहस सुरु भएको थियो।

    बालअधिकारका क्षेत्रमा काम गर्ने निकायहरूले बालबालिकाको तस्बिर वा भिडियो सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता पटक–पटक औँल्याउँदै आएका छन्। एकपटक इन्टरनेटमा पुगेको सामग्री कहाँ, कसरी र कति समयसम्म प्रयोग हुन्छ भन्ने नियन्त्रण गर्न सकिँदैन। त्यसैले क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको जोड छ।

    नेपालको संविधानले बालबालिकाको गोपनीयताको अधिकार सुनिश्चित गरेको छ। त्यस्तै बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकाको हितविपरीत उनीहरूको पहिचान, तस्बिर वा व्यक्तिगत विवरण प्रयोग गर्न नहुने व्यवस्था गरेको छ। त्यसैले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्दा अभिभावकको सहमतिसँगै त्यसले बालबालिकाको भविष्यमा पार्न सक्ने प्रभावबारे पनि उत्तिकै संवेदनशील हुन आवश्यक छ।

    सामाजिक सञ्जालले बालप्रतिभालाई चिनाउने अवसर दिएको छ। तर त्यो अवसर बालअधिकारको मूल्यमा प्राप्त हुनु हुँदैन। किनभने भाइरल हुने भिडियो केही दिनमै पुरानो हुन सक्छ, तर त्यसमा देखिएका बालबालिकाले त्यसको प्रभाव धेरै वर्षसम्म बोक्नुपर्ने हुन सक्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij