काठमाडौं । टोखा नगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ नगरपालिकाले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार मनाएको हो।
असार १५ गतेका दिन मनाइने राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका कर्मचारी, स्थानीय कृषक तथा सर्वसाधारणका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य धान खेतीको महत्व उजागर गर्नुका साथै जलवायु अनुकूल कृषि प्रणाली र स्थानीय उत्पादनमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सामूहिक धान रोपाइँ असारे गीत हिलो खेल तथा कृषिसम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले परम्परागत धान खेतीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउँदा उत्साहित देखिन्थे।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरबारे चर्चा गर्दै धान खेतीमा जलवायुमैत्री प्रविधि, उन्नत बीउ, वैज्ञानिक खेती प्रणाली तथा यान्त्रिकीकरणको प्रयोग बढाउनुपर्ने आवश्यकता कृषकले औँल्याए। साथै स्थानीय तहको सक्रियताले कृषकलाई प्रोत्साहन मिल्ने र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे।


