काभ्रेपलाञ्चोक। काभ्रेको तेमाल गाउँपालिका–५, खावाटोल पुग्दा हरियालीले ढाकिएको एउटा बारी आँखामा पर्छ। कतै काक्रा झुन्डिएका छन्, कतै टमाटर लटरम्म फलेका छन्। टनेलभित्र तरकारीका लहरा फैलिएका छन्। यही बारीको बीचमा उभिएका छन् ३३ वर्षीय सत्यलाल मोक्तान। उनको अनुहारमा थकानभन्दा बढी सन्तुष्टि देखिन्छ। कारण, यो केवल तरकारी बारी होइन, उनको संघर्ष, साहस र आत्मविश्वासको परिणाम हो।
केही वर्षअघि सत्यलालको जीवन बिल्कुल फरक थियो। गाउँमा अवसर नदेखेपछि उनी हजारौँ नेपाली युवाझैँ रोजगारीका लागि मलेसिया पुगे। तीन वर्षसम्म विदेशी भूमिमा पसिना बगाए। प्लास्टिक कम्पनीमा काम गर्दा दिनको १२ घण्टा उभिएर काम गर्नुपर्थ्यो। आरामको समय कम, परिवार टाढा र जीवन एउटै चक्रमा घुमिरहने गर्थ्यो।
त्यही अनुभवले उनलाई अब आफ्नै गाउँमा केही गर्ने एउटा निर्णयमा पुर्यायो ।
सुरुवात सहज थिएन। उनले दुईवटा टनेलबाट तरकारी खेतीको परीक्षण गरे। पानीको समस्या, बजारको अनिश्चितता र अनुभवको कमीबीच पनि उनले हार मानेनन्। युट्युब हेरे, विज्ञसँग सल्लाह लिए, तालिममा सहभागी भए र बिस्तारै सिक्दै गए। आज उनको खेती एक रोपनीबाट बढेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ।
उनको बारीमा काँक्रा, टमाटर, क्याप्सिकम, खुर्सानीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन्। तीन दिनको अन्तरालमा १४ देखि १५ सय केजीसम्म काँक्रा काठमाडौं पठाउने अवस्था बनेको छ।
तर सत्यलालको गर्व केवल उत्पादनमा छैन। उनी सकेसम्म अर्गानिक खेतीमा जोड दिन्छन्। विषादी कम प्रयोग गर्ने उनको प्रयासले तरकारीको आकार र रंग आकर्षक नदेखिए पनि गुणस्तरमा उनी विश्वस्त छन्। भोक लाग्दा बारीमै टिपेर खाने आत्मविश्वास उनको खेतीको विशेषता हो।
यद्यपि चुनौतीहरू अझै सकिएका छैनन्। केही समयअघि आएको हुरीले केही सेकेन्डमै लाखौंको क्षति पुर्यायो। टनेल उडाइदियो, बिरुवा नष्ट गरिदियो। यस्तो बेला उनलाई विदेश फर्किने सोच पनि आउन सक्छ। तर उनी फेरि उठ्छन्, फेरि काममा जुट्छन्।
सत्यलालका लागि कृषिमा सबैभन्दा ठूलो समस्या उत्पादन होइन, बजार हो। किसानले मेहनत गरेर उत्पादन गरे पनि त्यसको उचित मूल्य नपाउने अवस्था उनलाई चिन्ताजनक लाग्छ। बिचौलियाको लामो शृङ्खलाबीच किसानको भागमा न्यून आम्दानी र उपभोक्ताको भागमा महँगो मूल्य पर्ने अवस्थाले उनलाई दुःखी बनाउँछ।
उनको अर्को चिन्ता अर्गानिक उत्पादनको मूल्य हो। विषादी प्रयोग गरेर उत्पादन गरिएको तरकारी चिटिक्क र आकर्षक देखिन्छ। उपभोक्ताले पनि प्रायः त्यही रोज्छन्। तर अर्गानिक तरकारीको गुणस्तर बुझ्ने ग्राहक अझै कम छन्। किसानले मेहनत धेरै गर्ने, उत्पादन कम हुने, तर बजारमा उचित मूल्य नपाउने अवस्था देख्दा उनलाई दुःख लाग्छ।
गाउँका अधिकांश युवा विदेश गइरहेका बेला सत्यलाल भने गाउँमै सम्भावना देख्छन्। उनको विचारमा नेपालमा काम छैन भन्ने होइन, काम गर्ने सोच र आधारभूत सुविधा आवश्यक छ। राम्रो सडक, पर्याप्त पानी र व्यवस्थित बजार भए कृषिबाट पनि सम्मानजनक आम्दानी गर्न सकिने उनको विश्वास छ।
उनको यात्रामा परिवार पनि बलियो साथ बनेको छ। विद्यालयमा पढाउने श्रीमतीले समय मिल्दा खेतीमा सहयोग गर्छिन्। आर्थिक र मानसिक दुवै साथले उनलाई थप हौसला दिएको छ।
आज सत्यलालको सपना केवल आफ्नै खेती विस्तार गर्ने मात्र होइन। उनी गाउँका खाली जमिनमा उत्पादन बढेको हेर्न चाहन्छन्। उनी विश्वास गर्छन्, मेहनत गर्न तयार युवाले विदेशको १२ घण्टे ड्युटी जस्तै लगन आफ्नै गाउँमा दिने हो भने सम्भावनाको ढोका यहीँ खुल्न सक्छ।
सत्यलाल मोक्तानको कथा कुनै ठूलो सफलता हासिल गरिसकेको मानिसको कथा होइन। यो संघर्ष गरिरहेको, सिकिरहेको र हार नमानेको एउटा युवाको कथा हो। यो जोखिम उठाउने साहसको कथा हो। संघर्षबाट भाग्ने होइन, त्यससँग जुध्ने अठोटको कथा हो। यो जोखिम उठाउने साहसको कथा हो । र सबैभन्दा ठूलो कुरा, यो आफ्नै गाउँ, आफ्नै माटो र आफ्नै मेहनतप्रतिको विश्वासको कथा हो। जसले विदेशको सपना छोडेर आफ्नै माटोमा पसिना बगाउने निर्णय गर्यो र प्रमाणित गरिरहेको छ कि, गरियो भने गाउँमै पनि भविष्य बनाउन सकिन्छ।


