काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा. ५, गुप्ती गाउँ। पहाडको टुप्पोमा फैलिएको एक शान्त बस्ती। वरिपरि हरियाली छ, सडक पुगेको छ, बिजुली पनि बलेको छ, खानेपानी घरघरमा पुगेको छ। हेर्दा गाउँमा खासै अभाव देखिँदैन। तर गाउँभित्र केही समय बिताएपछि एउटा फरक यथार्थ देखिन थाल्छ। गाउँको वास्तविक पीडा घर बाहिर मात्र होइन घरका भित्ताभित्र लुकेको भेटिन्छ।
६२ वर्षीय मानबहादुर लामा बिहान घरअगाडि बसेर टाढासम्म फैलिएको डाँडातिर हेर्छन्। उनको दृष्टि कहिलेकाहीँ बाटोतिर पुग्छ, मानौँ ति आँखाले कसैलाई पर्खिरहेको छ। त्यो पर्खाइ कुनै एक दिनको होइन यो त वर्षौँदेखि चलिरहेको पर्खाइ हो।
एक समय यही गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो। खेतबारीमा काम गर्नेहरूको भीड लाग्थ्यो। तर अहिले घरहरू छन्, तर धेरै घरहरु सुनसान छन्। आँगनहरू छन्, तर बालबालिकाको हाँसो सुनिँदैन। खेतबारीहरू छन्, तर जोत्न सक्ने हातहरू छैनन्। गाउँमा मानिसहरू छन्, तर अधिकांशको कपाल सेताम्मे भइसकेको छ। एकअर्काको खेतमा सघाउने चलन थियो। गाउँमा पाहुना आए घर घरबाट बोलाइन्थ्यो। बालबालिकाको हाँसो, मेलापातको रमाइलो र सामूहिक श्रमले गाउँलाई जीवन्त बनाएको थियो।
आज त्यही गाउँमा घरहरू त छन्, तर धेरै घरका ढोकामा ताला झुन्डिएका छन्।
मानबहादुरको बाल्यकाल बितेको गाउँ र आजको गाउँबीच धेरै अन्तर छ। कुनै बेला अन्न फल्ने खेतहरू अहिले जंगलले ढाकिएका छन्। बारीका डिलहरू घाँसले भरिएका छन्। खेती गर्न सक्ने हातहरू गाउँमा छैनन्। गाउँका युवाहरू राम्रो भविष्यको खोजीमा शहर र विदेश पुगेपछि खेतहरू पनि उनीहरूसँगै खाली भए।
गाउँमा बाँकी रहेका छन् त केवल बुढाबुढी र उनीहरूका सम्झनाहरू।
बिहानको घाम डाँडामाथि फैलिन थालेपछि गाउँका वृद्धवृद्धाहरू घरअगाडि निस्कन्छन्। कोही घाम ताप्छन्, कोही बाटोतिर हेर्छन्, कोही छिमेकीसँग दुईचार कुरा गर्छन्। दिन बिताउने उनीहरूको आफ्नै तरिका छ। तर ती सबैको जीवनमा एउटा साझा कुरा छ । त्यो हो प्रतीक्षा।
मानबहादुरका पनि तीन सन्तान छन्। सबै आफ्नो जीवनको यात्रामा टाढा छन्। मोबाइलको माध्यमबाट आवाज सुन्न पाइन्छ, हालखबर सोध्न पाइन्छ, तर त्यो आवाजले एक्लोपन मेटाउन सक्दैन। सन्तानसँगको दूरी केवल किलोमिटरको दूरी होइन, त्यो भावनात्मक खालीपन पनि हो।
कुनै समय यही गाउँ बिहानदेखि बेलुकासम्म जीवित जस्तो लाग्थ्यो। खेतबारीमा काम गर्नेहरूको भीड हुन्थ्यो। मेलापातको चलन थियो। कसैको घरमा काम परे गाउँभरिका मानिस जम्मा हुन्थे। विवाह, व्रतबन्ध, पूजाआजा वा कुनै दुःखद घटना पर्दा सबै गाउँ एकजुट हुन्थ्यो।
गुप्ती गाउँको यो कथा केवल एउटा परिवारको कथा होइन। गाउँका अधिकांश घरको अवस्था उस्तै छ। कतै वृद्ध दम्पती मात्रै छन्, कतै एकजना वृद्ध एक्लै छन्। कहिलेकाहीँ दिनभर कसैसँग बोल्ने मानिस समेत भेटिँदैन।
यसले गाउँमा कति गहिरो एक्लोपन जन्माएको छ भन्ने एउटा घटनाले देखाउँछ। केही समयअघि गाउँकी एक वृद्ध महिलाको मृत्यु भएपछि तीन दिनसम्म कसैले थाहा पाएन। घरभित्र एक्लै रहेकी ती महिलाको निधनपछि ढोका नखुलेको देखेर छिमेकीले खोजी गर्दा मात्रै घटना बाहिर आएको थियो।
यो घटना गाउँको बदलिँदो यथार्थको प्रतीक बनेको छ।
पहिले गाउँमा एक घरको दुःख अर्को घरको पनि दुःख हुन्थ्यो। अहिले घरहरू एकअर्काको नजिक भए पनि मानिसहरू टाढा भएका छन्। सम्बन्धहरू फोनको स्क्रिनमा सीमित भएका छन्।
गाउँमा विद्यालय अझै छन्, तर विद्यार्थी घट्दै गएका छन्। कुनै बेला सयौँ विद्यार्थीले भरिने कक्षाकोठाहरू अहिले सुनसान बन्दै गएका छन्। युवाहरू गाउँ छोड्दै जाँदा विद्यालयहरू पनि बिस्तारै खाली हुँदै गएका छन्।
मानबहादुरलाई सबैभन्दा धेरै पीडा गाउँको यही परिवर्तनले दिन्छ। विकासका धेरै काम भएका छन्, तर गाउँलाई जोगाउने मान्छेहरू हराउँदै गएका छन्। सडक बने, भवन बने, कार्यालय खुले, तर गाउँको आत्मा मानिने युवा पुस्ता गाउँमै टिक्न सकेन।
बुढ्यौलीमा मान्छेलाई धेरै कुरा आवश्यक पर्दैन। एउटा साथ, केही कुरा सुन्ने कान र आफ्नै मान्छेको उपस्थितिले पनि जीवन सहज हुन्छ। तर आज धेरै वृद्धहरूको जीवनमा यही कुरा अभाव बनेको छ।
साँझ पर्दै जाँदा गुप्ती गाउँ झन् सुनसान हुन्छ। घरका झ्यालबाट बत्तीको उज्यालो त देखिन्छ, तर आँगनमा पहिले जस्तो हल्ला सुनिँदैन। न त मेलापातको तयारी हुन्छ, न त सामूहिक कामको योजना। समयसँगै गाउँको सामाजिक जीवन पनि खुम्चिँदै गएको छ।
मानबहादुरलाई अझै विश्वास छ, यदि गाउँमा रोजगारी र अवसर सिर्जना भए युवाहरू फर्किन सक्छन्। खेतबारीहरू फेरि हराभरा हुन सक्छन्। बन्द घरका ढोका फेरि खुल्न सक्छन्। विद्यालयहरू फेरि भरिन सक्छन्।
तर त्यो दिन कहिले आउला भन्ने प्रश्नको जवाफ उनीसँग पनि छैन।
आज गुप्ती गाउँमा धेरै कुरा छन् सडक छ, बिजुली छ, पानी छ, घरहरू छन्। तर गाउँलाई साँच्चिकै गाउँ बनाउने मानिसहरू भने कम हुँदै गएका छन्।
त्यसैले मानबहादुरको कथा वास्तवमा एउटै मानिसको कथा होइन। यो नेपालका हजारौँ रित्तिँदै गएका गाउँहरूको कथा हो, जहाँ बुढाबुढीहरू अझै पनि बाटोतिर आँखा लगाएर बसेका छन्। कसैको छोरा फर्किने आशामा, कसैकी छोरी आउने प्रतीक्षामा, र कुनै दिन गाउँ फेरि पुरानै जस्तो हुने सपनामा।


