काठमाडौं। खोटाङको एउटा गाउँ। घरको अँगेनामा १७ महिनाकी छोरीलाई काखमा च्यापेर बसेकी थिइन् एक आमा। घरमा अरू कोही थिएनन्। नजिकै बोलाएर सहयोग माग्ने मान्छे पनि थिएन।
अचानक उनलाई छारेरोगले समात्यो। काखमा रहेकी छोरी आगोमा खसिन्।
होस फर्किएपछि आमाले सकिनसकी छोरीलाई आगोबाट निकालिन्। तर त्यसपछि के गर्ने, कहाँ लैजाने र कसलाई बोलाउने भन्ने कुनै उपाय थिएन। गाउँमा अस्पताल थिएन। उपचारभन्दा पनि घरेलु विश्वास बलियो थियो। कसैले 'देखाउन हुँदैन' भने त कसैले कुखुराको रगत लगाउन सुझाए।
सहयोग जुट्दासम्म बालिकाको दुवै खुट्टा गम्भीर रूपमा जलिसकेका थिए।
केही दिनपछि मात्रै उनलाई काठमाडौं ल्याइयो र उपचार गरियो। जीवन बच्यो। तर संक्रमण र जटिल उपचारका क्रममा उनले आफ्ना दुवै खुट्टा गुमाइन्।
ती बालिका हुन् भूमिका अधिकारी।
आज उनी १७ वर्षकी भएकी छन्। यस वर्षको एसईई परीक्षामा ए प्लस जीपीए ल्याएकी छन्। सारङ्गी बजाउँछिन्। सुन्दर अक्षरमा लेख्छिन्। र आफ्नो जीवनले अरूलाई आशा दिन्छिन्।

‘आमा आउँछु भनेर जानुभएको थियो’
दुर्घटनापछि पर्यटन व्यवसायी डेनडी शेर्पाले भूमिकाको अवस्थाबारे सुने। विभिन्न कारणले अपाङ्गता भएका बालबालिकालाई संरक्षण र अवसर दिने अभियानमा लागिरहेका उनले भूमिकाकी आमासँग भेटे र उनलाई काठमाडौंस्थित बाल अपाङ्गता टेवा संस्थामा ल्याउने निर्णय गरे।
त्यतिबेला भूमिका मात्र चार वर्षकी थिइन्।
उनी भन्छिन्, ‘ममीले बाहिर जान्छु, अहिले आउँछु भन्नुभएको थियो। पछि धेरै दिनसम्म नआउँदा मात्रै थाहा भयो उहाँ जानुभएको रहेछ।'
सानो उमेरका धेरै सम्झना धमिला छन्। तर दुर्घटनाको कथा उनले पछि परिवारबाट सुनेकी हुन्।
उनकी आमालाई छारेरोग थियो। त्यही रोगले समातेपछि उनी काखबाट आगोमा खसेकी थिइन्।
समाजले घाउमा नुन पनि छर्कियो। शारीरिक पीडाभन्दा कम थिएन समाजको व्यवहार। विद्यालय जाने बाटोदेखि कक्षाकोठासम्म उनी टिप्पणी, हेपाइ र दयाका नजरसँग जुधिरहिन्। ‘बाटोमा देख्नेहरूले पनि अनेक कुरा गर्थे,’ उनी सम्झिन्छिन्।
यद्यपि समयसँगै केही परिवर्तन आएको उनी मान्छिन्। ‘ठूला मानिसमा धेरै परिवर्तन भएको छ। तर साना बालबालिकाले अझै बुझ्दैनन्।’
समाजका शब्दलाई उनले आफ्नो कमजोरी बन्न दिइनन्। बरु हरेक चुनौतीलाई अघि बढ्ने खुड्किलो बनाइन्।
पढाइ र सारङ्गी दुवैमा उत्तिकै लगाव
भूमिकाको सबैभन्दा प्रिय साथीमध्ये एक हो सारङ्गी।
सुरुमा वाद्ययन्त्रबारे केही थाहा थिएन। संस्थामा आएपछि सिक्न थालिन्। अहिले पाँच - छ वर्षभन्दा बढी समयदेखि नियमित अभ्यास गरिरहेकी छन्।
पढाइ र संगीतलाई सँगै अघि बढाउँदै उनले यस वर्षको एसईई परीक्षामा ए प्लस नतिजा निकालिन्। उनका अनुसार पहिलो बोर्ड परीक्षा भएकाले निकै डर लागेको थियो। तर निरन्तर अभ्यास र शिक्षकहरूको साथले त्यो डर पार गर्न मद्दत गर्यो।
संगीतका साथसाथै उनी विज्ञान विषय पढ्न चाहन्छिन्।
बाल्यकालमा उनी अरूसँग आफूलाई तुलना गर्थिन्।
तर अहिले सोच फेरिएको छ।
'हामीभन्दा पनि धेरै गाह्रो अवस्थामा रहेका मानिस छन्। उनीहरूले पनि गरिरहेका छन् भन्ने देखेपछि आफू पनि सक्छु भन्ने लाग्छ,' उनी भन्छिन्।
इन्टरनेट र युट्युबले पनि उनलाई आत्मविश्वास दिएको छ।
अरू अपाङ्गता भएका व्यक्तिहरूको सफलता देख्दा आफूभित्र पनि सम्भावना देख्न थालेकी छन्।
अर्को घर बनेको संस्था
भूमिकाका बुवाआमा अहिले पनि खोटाङमै छन्।
बिदामा घर जाँदा उनी निकै खुसी हुन्छिन्। तर फर्किने बेला फेरि छुट्टिनुपर्दा मन भारी हुन्छ। यद्यपि वर्षौंदेखि बस्दै आएको बाल अपाङ्गता टेवा संस्था अहिले उनको अर्को घर बनेको छ।
उनी भन्छिन्, ‘यहाँ सबै परिवारजस्तै हुनुहुन्छ। कहिले झगडा हुन्छ, कहिले रमाइलो। तर आफ्नै घरजस्तो लाग्छ।'
संस्थापक डेनडी शेर्पाको चाहना छ भूमिकालाई अझै पढाउने।
भविष्यमा संस्थाकै नेतृत्व सम्हाल्न सक्ने ठाउँमा पुर्याउने। संगीतप्रतिको उनको मोहलाई अझ विस्तार दिने।
१७ महिनाको उमेरमा आगोले भूमिकाका दुवै खुट्टा खोस्यो। तर त्यसले उनको सपना खोस्न सकेन। बरु त्यही घटनाले एउटा यस्तो यात्राको सुरुवात गर्यो, जसले आज धेरैलाई सिकाइरहेको छ कि मानिसलाई अघि बढाउने खुट्टा मात्र होइन, सपना, अवसर र आत्मविश्वास हुन्।


