Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जागिर छोडेर बने करोडपति

जागिर छोडेर बने करोडपति

बिहीबार , जेठ २१ २०८३
बिहीबार , जेठ २१ २०८३
  • काठमाडाैं। संसारमा हरेक व्यक्तिको एउटै साझा लक्ष्य छ। आफ्नो वर्तमान अवस्था बदल्नु र आर्थिक रूपमा सबल बन्नु। तरिका र बाटोहरू फरक होलान्, तर लक्ष्य वित्तीय सुरक्षा र समृद्धि नै हो। यही दौडको भीडमा कतिपयले परम्परागत जागिरमै जीवन बिताउँछन्, त कतिपयले जोखिमसँग खेल्दै सफलताको नयाँ बाटो भेटाउँछन्। यस्तै एउटा उदाहरणीय र प्रेरणादायी नाम हो, श्याम चालिसे।

    images

    सन् २०१४ सम्म काठमाडौंमा एक चिनियाँ कम्पनीमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत श्याम आज वैश्विक स्टक मार्केटका स्थापित लगानीकर्ता र वित्तीय गुरुका रूपमा चिनिन्छन्। नेपालमा सेयर बजार भन्नसाथ धेरैको दिमागमा 'नेप्से' मात्र आउने गर्थ्यो। तर, तिनै श्यामले आज संसारभर छरिएका हजारौँ नेपालीहरूलाई अमेरिका र क्यानडाको विशाल स्टक मार्केटको ढोका घच्घच्याउन सिकाएका छन्। उनी सेयर बजारलाई जुवा होइन, अध्ययन र अनुशासनको विज्ञान हो भन्छन्।

    सुर्खेतमा जन्मिएर काठमाडौंको वातावरणमा हुर्किएका श्याम चालिसे परिवारका तीन सन्तानमध्ये कान्छा हुन्। विद्यालय तहमा उनी अरू भन्दा फरक विद्यार्थी थिए। उनको सोच सधैँ फरक र नवीन कुरामा केन्द्रित हुन्थ्यो। जीवविज्ञान भन्दा गणितमा बढी रुचि राख्ने उनले सन् २००७ सालमा काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ पूरा गरे।

    इन्जिनियरिङपछि उनले नेपालमै करिब सात वर्ष काम गरे। यसैबीच उनी वैवाहिक जीवनमा बाँधिए। जीवन सहजै चलिरहेको थियो, तर भविष्यलाई अझ सुरक्षित र उन्नत बनाउन आम नेपालीको जस्तै  उनी पनि सन् २०१४ मा क्यानडा पुगे।

    उनी भन्छन्, 'कक्षा ९ मा हुँदा कताकता सेयर बजारबारे सुनेको मात्र थिएँ। यदि म नेपालमै रोकिइरहेको भए सायद यो नयाँ संसार कहिल्यै सिक्न पाउने थिइनँ। जीवनमा केही नयाँ गर्नका लागि अभाव मात्र होइन, सोच्ने तरिका नै बदल्न जरुरी हुँदो रहेछ।'

    क्यानडा पुगेर उनले इलेक्ट्रिकल इन्जिनियरिङको थप अध्ययन गरे र सोही क्षेत्रमा जागिर पनि सुरु गरे। तर, उनको मन जागिरको ९ देखि ५ को घेरामा अटाउन सकेन। उनलाई पैसाभन्दा बढी समयको स्वतन्त्रता मूल्यवान लाग्न थाल्यो।

    श्याम भन्छन्, 'हामीमध्ये धेरै मानिस समयको दुरुपयोग गरिरहेका हुन्छौँ। पैसा त आउनेजाने कुरा हो, तर हामीले समय कसरी बिताइरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि हामीले समयलाई नियन्त्रण गर्न सक्यौँ भने मात्र वास्तविक नतिजा आउँछ।'

    समयको खोजी गर्ने क्रममा एकदिन फुर्सदमा युट्युब हेरिरहँदा उनको नजर 'रिच ड्याड पुअर ड्याड' का लेखक रोबर्ट कयोसाकीको एउटा भिडियोमा पर्यो। त्यो भिडियोले उनको दिमागमा ठूलो झट्का दियो। उनले बुझे केवल कसैको लागि काम गरेर मात्र धनी बन्न सकिँदैन, त्यसका लागि आफ्नो पैसालाई काममा लगाउनु अर्थात् लगानी गर्नु अनिवार्य छ।

    भिडियोबाट प्रेरित भएपछि उनले स्टक मार्केटको गम्भीर अध्ययन सुरु गरे। सुरुका दिनहरू सहज थिएनन्। बजारका प्राविधिक शब्द र चार्टहरू बुझ्न निकै कठिन हुन्थ्यो। तर, उनले हार मानेनन्। किताब, भिडियो र अनुसन्धानलाई उनले आफ्नो हतियार बनाए।

    सन् २०१५ को सुरुवाती महिनाहरूमा उनले बैंक र म्युचुअल फन्डहरूबाट साना लगानीको यात्रा सुरु गरे। 'सधैँ अध्ययन गरिरहने मानिस मात्र आर्थिक रूपमा अगाडि बढ्न सक्छ' भन्ने पुस्तकका ज्ञानलाई उनले व्यवहारमा उतारे।

    सन् २०१५ देखि २०२० सम्म आइपुग्दा उनले बजारको लय र वास्तविक शक्तिलाई गहिरोगरी बुझिसकेका थिए। पहिले उनी स्टक किन्नु र बेच्नुलाई मात्र बजार ठान्थे, तर पछि मात्र उनले वास्तविक सम्पत्ति निर्माणको रहस्य बुझे। सन् २०२० मा उनले म्युचुअल फन्डहरूमा रहेको आफ्नो सम्पूर्ण पैसा निकालेर सही र रणनीतिक स्टकहरूमा स्थानान्तरण गरे र 'फुल टाइम' लगानीकर्ताका रूपमा आफूलाई उभ्याए।

    नेपालमा धेरैले सेयर बजारलाई रातारात धनी बन्ने सर्टकट वा भाग्यको खेल मान्छन्। तर, श्यामको बुझाइ फरक छ। उनी भन्छन्, 'यदि विना अध्ययन र विना अनुशासन बजारमा पस्नुहुन्छ भने यो क्यासिनोभन्दा पनि खतरनाक छ। किनकि क्यासिनोमा हार्ने एउटा सीमा हुन्छ, तर बजारमा अज्ञानताका कारण मानिसले असीमित घाटा व्यहोर्नुपर्ने हुन सक्छ।'

    उनी चार्ट, ग्राफ र वित्तीय सूचकहरूको गहन विश्लेषण गरेर मात्र लगानी गर्न सुझाउँछन्। उनी थप्छन्, 'जति पैसा र स्वतन्त्रता स्टक मार्केटले दिन सक्छ, त्यो जागिर गरेर पाउन गाह्रो छ। यदि सही ढङ्गले बजारमा लगानी गर्ने हो भने मानिसलाई ठूलो ऊर्जा, श्रम र जोखिम चाहिने परम्परागत व्यवसाय गरिरहनु पनि आवश्यक पर्दैन।'

    आफूले सिकेको ज्ञान र भोगेको अनुभवलाई नेपाली समुदायमा बाँड्न श्यामले क्यानडामा '4D Training' को सुरुवात गरे। अहिले उनले नेपालमा पनि संस्थागत रूपमा कम्पनी स्थापना गरी विश्वभरका नेपालीहरूलाई प्रशिक्षण दिइरहेका छन्। युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरू आज उनीमार्फत वित्तीय साक्षरता लिइरहेका छन्।

    छोटो समयमै उनको कम्पनीले ठूलो उचाइ लिएको छ। हाल उनको कम्पनीमा ११ जनाको व्यावसायिक टोली कार्यरत छ, जसमा सेल्स एक्जुक्युटिभदेखि लिएर ग्राहकको समस्या समाधान गर्ने कस्टमर र विज्ञ टोली सक्रिय छन्।

    अनलाइन माध्यमबाट सञ्चालन हुने यस कोर्समा विद्यार्थी र लगानीकर्ताहरूलाई व्यक्तिगत रूपमा कल गरेर उनीहरूका समस्या सुन्ने र समाधान गर्ने गरिन्छ। कतिपय मानिसहरू पहिले ठूलो रकम डुबाएर, निराश भएर तालिममा आउने गर्छन्। तर, यहाँ सिकेपछि उनीहरूले आफ्नो गुमेको रकम मात्र उठाउँदैनन्, बरु एउटा परिपक्व लगानीकर्ता बन्न सफल हुन्छन्।

    कम्पनीका एक टोली सदस्य भन्छन्, 'विगत ६ महिनामा मात्रै ८०० भन्दा बढी ग्राहकहरू हाम्रो कोर्समा आबद्ध भइसक्नुभएको छ। यो आफैँमा एउटा ठूलो सङ्ख्या हो। हाम्रो सेवाबाट सन्तुष्ट भएर ग्राहकहरूले आफ्ना साथीभाइ र आफन्तलाई पनि यो कोर्स लिन सिफारिस गरिरहनुभएको छ। यसले हाम्रो कोर्सको प्रभावकारितालाई पुष्टि गर्छ।'

    श्याम चालिसेको उद्देश्य केवल तालिम दिएर पैसा कमाउनु मात्र होइन, संसारभरका नेपाली समुदायमा लगानीको एउटा स्वस्थ र अनुशासित संस्कृति निर्माण गर्नु हो। बजारमा छिटो धनी बन्ने हवाइ सपना बेच्नेहरूको भीडमा उनी आफूलाई यथार्थ बोल्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छन्।

    उनी व्यावहारिक वित्तीय शिक्षाका लेखक पनि हुन्। उनले 'Three Rules of Money' र 'Real Estate Multifamily Wealth Formula' नामक दुईवटा पुस्तकहरू लेखेका छन्, जहाँ उनले पैसाको नियम, लगानीको मनोविज्ञान र सम्पत्ति निर्माणका आफ्ना वास्तविक अनुभवहरू साझा गरेका छन्।

    आज उनको कम्पनीले नयाँ लगानीकर्तालाई मात्र होइन, पहिले नै बजारमा रहेका तर व्यवस्थापन गर्न नसकेका पोर्टफोलियोहरूलाई परिमार्जन गर्ने, जोखिम न्यूनीकरण गर्ने र दीर्घकालीन रूपमा चक्रवृद्धि मुनाफा कमाउने स्टक सजेसन र परामर्श सेवा समेत प्रदान गर्दै आएको छ।

    एउटा सामान्य विद्यार्थी, काठमाडौंको सुरक्षित इन्जिनियरिङ जागिर, क्यानडाको संघर्ष र आज विश्वभरका नेपालीलाई वित्तीय रूपमा स्वतन्त्र बनाउने महाअभियान श्याम चालिसेको यो यात्रा प्रमाणित गर्छ कि यदि सही समयमा सही निर्णय लिएर, अनुशासनका साथ स्वाध्ययनमा लाग्ने हो भने भूगोल र पृष्ठभूमिका सीमाहरूले सफलतालाई कहिल्यै रोक्न सक्दैनन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij