Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

दुग्ध व्यवसायका सफल बन्जारा

दुग्ध व्यवसायका सफल बन्जारा

सोमबार, जेठ २५ २०८३
सोमबार, जेठ २५ २०८३
  • ललितपुर। ललितपुरको दक्षिणी भेगमा अवस्थित महाङ्काल गाउँपालिका धार्मिक, ऐतिहासिक र आर्थिक दृष्टिकोणले निकै महत्त्वपूर्ण क्षेत्र हो। शिवको अवतार महाङ्कालको नामबाट यस गाउँपालिकाको नामकरण भएको हो। यहाँ चन्दनपुर महाङ्काल र गोटीखेल महाङ्काल जस्ता धार्मिक स्थलहरू छन्। यहाँका धेरैजसो संघसंस्थाहरूको नाम समेत महाङ्कालकै नाममा राखिएका छन्।

    images

    यस गाउँपालिकालाई चिनाउने मुख्य धार्मिक स्थल बैतर्णी धाम हो। हालैको बाढीले यस धामलाई ठूलो क्षति पुर्‍याएको छ। त्यति हुँदाहुँदै पनि त्यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटकहरू आउने गरेका छन्। यहाँको अर्को प्रमुख चिनारी कालेश्वर महादेवको धाम हो। सतीदेवीको घाँटी पतन भएर यो धाम स्थापना भएको किंवदन्ती छ। धार्मिक पर्यटनका हिसाबले यस गाउँपालिकामा प्रचुर सम्भावना रहेको छ।

    यस क्षेत्रको मुख्य विशेषता र सम्भावना भनेको यहाँ पाइने दूध हो। महाङ्काल गाउँपालिकामा मानिने मुख्य महाङ्काल 'खाने महाङ्काल' हो। यहाँका किसानको प्रमुख आम्दानीको स्रोत नै दूध संकलन हो। यहाँ उत्पादन हुने दूध निकै गुणस्तरीय र राम्रो मानिन्छ। किसानले दूध राम्रोसँग सरसफाइ गरेर ल्याउँछन् र दूधको फ्याट (चिल्लोपना) पनि राम्रो हुन्छ।

    यहाँको दूध चन्दनपुर बहुउद्देश्यीय सहकारी मार्फत संस्थागत रूपमा संकलन हुन्छ। संकलित दूध लेलेको तिलेश्वर डेरीमा लगेर बेचिन्छ। त्यहाँ कुल तीनवटा संकलन केन्द्रहरू छन्। सिजन अनुसार त्यहाँ सात देखि आठ सय जना किसानको दूध संकलन हुन्छ।

    milk, khuwa, gittikhel.00_06_12_03.Still007.jpg.jpg

    किसानहरू बिहानै ४-५ बजे उठ्छन्। उनीहरू गाईवस्तुलाई खोले बनाउने, भकारो सोर्ने, पानी खुवाउने र दुहुने कार्य गर्छन्। त्यहाँको दूध बिहान ६ बजेदेखि ८ बजेभित्र सबै संकलन भइसक्छ। दूध बेच्न नपाए यहाँका किसानको घर चल्दैन।

    पहिले घरघरमा खुवा बनाएर बजारमा बेच्ने प्रचलन थियो। व्यावसायिक रूपमा दूध सङ्कलन गर्ने कार्य वि.सं. २०४२-४३ सालको आसपासबाट सुरु भएको हो। पहिले त्यहाँ मानामा भरेर दूध बेचिने गरिन्थ्यो। त्यतिबेला दुई रुपैयाँ मानाबाट सुरु भएको दूध ५०-६० रुपैयाँ मानासम्म पुगेको थियो। अहिले भने लिटरले दूध नापिन्छ। दूधको फ्याट अनुसार किसानलाई पैसा दिने चलन छ।

    पहिले त्यहाँ संकलन भएको दूध बोकेरै लेलेसम्म पुर्‍याउनुपर्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। अहिले संकलन केन्द्रमै आएर डेरीहरूले दूध लैजान्छन्। पहिलेको तुलनामा अहिले धेरै सजिलो भएको छ। गाउँपालिकाले पनि किसानलाई गोठ सुधार, भकारो सुधार र पशुपालनका लागि अनुदान जस्ता विषयमा सहयोग गरेको छ।

    यही दुग्ध व्यवसायको जगमा उभिएर स्थापित भएका सफल व्यवसायी हुन्, बलराम बन्जारा। महाङ्काल गाउँपालिका वडा नं. ५ का निवासी बन्जाराको वास्तविक नाम हेमनारायण बन्जारा हो। उनको मुख्य पेसा खुद्रा तथा होलसेल व्यापार र दूध सङ्कलन हो। स्थानीय बासिन्दा उनलाई एक सफल व्यापारीको रूपमा हेर्छन्।

    milk, khuwa, gittikhel.00_06_06_06.Still006.jpg.jpg

    बन्जारा भन्छन्, 'यहाँका किसानको प्रमुख आम्दानीको स्रोत दूध हो। दूध बेच्न नपाए किसानको घर चल्दैन।' उनी पुराना ती कष्टकर दिनहरू अझै सम्झन्छन्, जब दूध बोकेर लेलेसम्म पुर्‍याउनुपर्थ्यो। आफू सफल हुनुमा कामको निरन्तरता रहेको उनी बताउँछन्। दूध खरिद गर्ने ठाउँबाट पैसा नआउँदा पनि उनले ऋण गरेर किसानलाई भुक्तानी दिने गरेका छन्। उनले यस्ता कार्यलाई कहिल्यै गाह्रो र झन्झट मानेनन्। यही निरन्तरताले उनलाई सफल बनायो। उनी भन्छन्, 'जाँगर लगाएर, तन-मन दिएर जुनसुकै पेसा व्यवसाय गरे पनि राम्रो आम्दानी हुन्छ। पशुपालन पनि त्यस्तै आम्दानीको स्रोत हो।'

    बन्जाराको पूरै परिवार यही पेसामा लागेको छ। उनका दुई छोरा र दुई छोरी छन्। छोरीहरू विवाह गरेर आ-आफ्नो घर गइसकीन्। कान्छो छोरा काठमाडौं बस्छन्। जेठो छोराले भने त्यहीँ दूध संकलनको काम गर्छन्। परिवारका सबै सदस्यले उनलाई सघाउँछन्।

    उनको यो पेसालाई अहिले जेठो छोराले अघि बढाउँदैछन्। जेठो छोराले आफूले भन्दा धेरै दुःख गरेर दूध संकलनको कार्य गरिरहेकोमा उनी अत्यन्तै खुसी र हर्षित छन्। दूध संकलन गर्ने र हिसाबकिताब गर्ने सम्पूर्ण कार्य जेठो छोराले नै गर्छन्।

    milk, khuwa, gittikhel.00_06_09_04.Still008.jpg (1).jpg

    दूधकै कारण चर्चित यस गाउँलाई गाउँपालिकाले सहयोग गर्दा बन्जारा निकै खुसी छन्। तर पशुपालनलाई अझ राम्रो र व्यावसायिक बनाउन गाउँपालिकाले आफ्ना नीतिहरूमा सुधार गर्नुपर्ने उनको बुझाइ छ। उनी गाउँपालिकाले गरिरहेका सकारात्मक कामको निरन्तरतासँगै किसानका लागि अनुदान र उत्दापानका कार्यक्रमहरू अझै बढाउन माग गर्छन्।

    पशुपालन व्यवसाय जोखिमपूर्ण हुने भएकाले पशु बिमा प्रणालीलाई थप प्रभावकारी र सरल बनाउनुपर्ने बन्जारा बताउछन्। साथै, पशुहरूमा लाग्ने रोगविरुद्धका आवश्यक भ्याक्सिनहरू सरकारले समयमै वितरण गरिदिनुपर्छ। किसानलाई व्यावसायिक बन्न सघाउन सरल ब्याजदरमा ऋणको व्यवस्था हुनुपर्ने उनी बताउँछन्।

    बन्जाराका अनुसार दुग्ध व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यहाँको सडक व्यवस्थापन हो। सडकको अवस्था राम्रो भएमा संकलन भएको दूध समयमै बजारसम्म पुग्छ र दूधको गुणस्तर घट्न पाउँदैन। यस्ता आधारभूत कार्यहरूमा सरकार र स्थानीय निकायले ध्यान दिने हो भने नेपालका सम्पूर्ण किसानहरूलाई ठूलो राहत पुग्ने उनी दाबी गर्छन्। बन्जारा भन्छन्, 'यस्ता कार्यमा सरकारले ध्यान दिए नेपालका सबै किसानलाई सहज हुनेछ।'

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij