Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बिर्सन नसकेको त्यो आन्दोलन

बिर्सन नसकेको त्यो आन्दोलन

शुक्रबार, जेठ २२ २०८३
शुक्रबार, जेठ २२ २०८३
  • काठमाडौं। नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनका लागि थुप्रै साना-ठूला आन्दोलनहरू भए। राणा शासनको अन्त्य, प्रजातन्त्रको उदय, पञ्चायत काल, २०४६ सालको जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व, यस्तै धेरै उतारचढावहरू भएका छन्। यिनै आन्दोलनहरूमध्ये कुन आन्दोलनले नागरिकलाई अहिले पनि बढी पिरोल्छ र त्याे समयमा उनीहरूको भोगाइ कस्तो थियो भनेर आज हामीले भक्सपप संकलन गरेका छौँ।

    images

    आन्दोलन र क्रान्तिका नाममा भएका घटनाहरूलाई नागरिकले अझै बिर्सन सकेका छैनन्। एक जेष्ठ नागरिक भन्छन्, 'यति धैरे मान्छे मारेर देश चलाउन खोजियो, तर देश कतै पुगेन। माओवादीले गरेकाे आन्दोलन जस्तो डरलाग्दो त केही थिएन। उनीहरूले न क्रियापुत्री भने, न किरियामा बसेका पण्डित, न त सुत्केरी महिला नै भने। जताततै डर र त्रासको माहोल मात्र थियो।'

    'त्यो बेला गाउँमा बस्न नसकेर हामी लखेटियौँ। द्वन्द्वकालमा पुलिसको पनि गल्ती थियो, माओवादीको पनि। हाम्रै आँखाअगाडि प्रहरीले निर्दोष व्यक्तिहरूलाई बन्दुक तेर्स्याएर, फोटो खिचेर 'आतंकवादी हो' भन्दै आरोप लगाए। हाम्रै कतिपय साथीहरू मारिए। राजनीतिक दलका नेताहरूले देश बनाउँछन् कि सोचेका थियौँ, तर उनीहरूले देशका लागि होइन, आफ्नै लागि मात्र गरे।'

    विगतका फरक-फरक शासन व्यवस्था देखेका वृद्धवृद्धाहरू राणा र पञ्चायत कालको पनि चर्चा गर्छन्। 'राणा कालमा चार जना सहिद मारिएपछि राणा शासन हट्यो। २००७ सालमा राजा त्रिभुवन आएपछि मात्र देशमा स्कुलहरू खुल्न थाले। त्यसअघि त पढ्ने ठाउँ नै थिएन।' 

    पञ्चायत कालको आर्थिक र भौतिक विकासलाई सम्झँदै उनीहरू भन्छन्, 'पञ्चायत कालमा अहिलेको जस्तो जताततै पैसाको भकभकी (भ्रष्टाचार) थिएन। मुस्ताङ जस्तो दुर्गम जिल्लामा पनि ११ सालतिर स्कुल खुल्यो, पछि जोमसोममा सिधै प्लेन आउन थाल्यो। हामी झुमझुमबाट १० कक्षा पढ्न आउँथ्यौँ। राजाको पालामा दुःख भए पनि शान्ति र विकासको सुरुवात भएको थियो। तर, पछिल्ला राजनीतिक दल र कम्युनिस्टहरूले गर्दा सबै व्यवस्था खत्तम भयो।'

    २०४६ सालको जनआन्दोलनलाई नजिकबाट भोगेका नागरिकका आफ्नै संघर्षका कथाहरू छन्। धनगढीको एउटा घटना स्मरण गर्दै एक सर्वसाधारण भन्छन्, '२०४६ सालको आन्दोलनमा हामी प्रजातन्त्रको माग गर्दै धनगढीमा मसाल जुलुस निकाल्थ्यौँ। त्यो बेला प्रहरीले हामीलाई लखेट्थ्यो। जताततै काँडेतारहरू हुन्थे। प्रहरीबाट बच्न तार नाघेर भाग्ने क्रममा मेरो देब्रे हात र शरीरमा अझै पनि चोटका दागहरू छन्। यदि पुलिसको फन्दामा परेको भए अझ बढी कुटाई खाइने डर थियो। पछि राजा वीरेन्द्रले प्रजातन्त्रको घोषणा गरे।'

    विगतका ऐतिहासिक आन्दोलन मात्र होइन, पछिल्लो समय (जस्तै २०८२ सालको भदौमा भएकाे आन्दोलनमा पनि नागरिकले उस्तै असुरक्षा र अन्योल महसुस गरेका थिए। गौशाला क्षेत्रमा भएको हालैको आन्दोलनलाई सम्झँदै एक युवा भन्छन्, 'अस्ति सेप्टेम्बरमा भएको आन्दोलन निकै खतरनाक र अन्योलपूर्ण थियो। दुई दिनसम्म आन्दोलन भयो, तर सत्ता सम्हाल्ने कोही नभए जस्तो देखियो। प्रधानमन्त्री को हुने, देश कता जाने भन्ने केही टुङ्गो थिएन। अब के होला, कस्तो माहोल आउला भनेर जनता निकै कन्फ्युज र डराएका थिए।'

    नेपालमा व्यवस्था परिवर्तनका लागि थुप्रै आन्दोलनहरू भए पनि आम नागरिकको जीवनस्तरमा भने सोचेजस्तो परिवर्तन आउन सकेको छैन। राजनीतिक दलहरूले पक्ष र विपक्षको राजनीति गरिरहँदा, जनता भने अझै पनि विगतको हिंसा, वर्तमानको अन्योल र असुरक्षित भविष्यलाई लेकर चिन्तित देखिन्छन्। नागरिकहरूको एउटै चाहना छ देशमा अब फेरि त्यस्ता डरलाग्दा आन्दोलनहरू कहिल्यै नहोऊन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij