Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

२१ खर्बको बजेटमा के–के समेटिए ? (पूर्ण पाठ)

२१ खर्बको बजेटमा के–के समेटिए ? (पूर्ण पाठ)

शुक्रबार, जेठ १५ २०८३
शुक्रबार, जेठ १५ २०८३
  • काठमाडौं। सरकारले आर्थिक सुधार, प्रशासनिक मितव्ययिता र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बजेट घोषणा गरेका हुन्।

    images

    कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, प्रदेश र स्थानीय तह गरी तल्लो सरकारमा जाने बजेटका लागि करिब ६ खर्ब रुपैयाँ छुट्याइएको छ। यो बजेटको स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १४ खर्ब ४ अर्ब उठाउने, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ बेहोर्ने लक्ष्य राखेको छ। आगामी वर्ष देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ।

    बजेटले विशेष गरी न्यून तथा मध्यम आय भएका नागरिकलाई ठूलो राहत दिने उद्देश्यले आयकरको व्यवस्थामा ऐतिहासिक हेरफेर गरेको छ। जसअनुसार अब आयकरको न्यूनतम सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ कायम गरिएको छ, जसले गर्दा वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेले अब मात्र १ प्रतिशत कर तिरे पुग्नेछ। त्यस्तै, आयकरको अधिकतम सीमालाई पनि ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको छ। औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्न भन्दै सरकारले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गर्दै २७३ वस्तुको भन्सार महसुल घटाएको छ भने आगामी वर्षदेखि ३६० वस्तुको अन्तःशुल्क पूर्ण रूपमा खारेज गर्ने नीति लिएको छ। कर प्रशासनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय प्रणालीलाई सुदृढ गरिने घोषणा बजेटमा छ।

    चालु खर्च नियन्त्रण र विनियोजन कुशलता कायम गर्न सरकारले प्रशासनिक संरचनामा ठूलो शल्यक्रिया गरेको छ। मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिसकेको जानकारी दिँदै अर्थमन्त्री डा. वाग्लेले अब विभाग र कार्यालयहरूको कटौतीतर्फ ध्यान केन्द्रित गरिएको बताएका छन्। बजेटमार्फत ३१ वटा सरकारी निकाय खारेज, ६ वटाको मर्जर, ६ वटा हस्तान्तरण र १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा गरिएको छ। यसैगरी कार्यालय सञ्चालन खर्चमा उल्लेख्य कटौती गर्दै तालिम केन्द्र बाहिरका तालिम तथा क्यामेरा र टेलिभिजन जस्ता उपकरण खरिदको बजेट पूर्ण रूपमा हटाइएको छ। संस्थानका कर्मचारीले पाउँदै आएको वस्तु तथा सेवा खरिदको छुट र अतिरिक्त कोषहरू समेत खारेज गरिएका छन्। यी सुधारहरूबाट राज्यकोषको करिब २० अर्ब रुपैयाँ बचत हुने सरकारको दाबी छ। अर्कोतर्फ, कर्मचारीतन्त्रलाई मर्यादित र जवाफदेही बनाउन भन्दै निजामती, जङ्गी, प्रहरी र शिक्षकको मनोबल बढाउन सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरिएको छ।

    भौतिक पूर्वाधार र सहरी विकासका लागि सरकारले २ खर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, जसअन्तर्गत आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २०० वटा सडक पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका सडकहरूका लागि ठूलो बजेट छुट्याइएको छ, जसमा पूर्व–पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र ४ लेनमा विस्तार गर्न ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि १७ अर्ब ६४ करोड, नागढुंगा-मुग्लिन सडकखण्डका लागि ६ अर्ब ५५ करोड, हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड, मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड र कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। नागढुंगा सुरुङमार्ग भने आगामी साउनदेखि नै सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ। यसबाहेक नयाँ सहर आयोजनालाई १ अर्ब ८३ करोड दिइएको छ भने निजगढ विमानस्थलको निर्माण र लगानी मोडालिटी ६ महिनाभित्र टुंग्याइनेछ।

    ऊर्जा उत्पादन, प्रसारण र वितरणलाइन निर्माण गर्न कुल ८५ अर्ब ५4 करोड रुपैयाँ छुट्याइएको छ, जसमा निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनका लागि मात्रै ७० अर्ब बजेट रहेको छ। सरकारले आगामी वर्ष थप जलविद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने र छिमेकी मुलुकहरूमा विद्युत व्यापार विस्तार गर्ने नीतिलाई निरन्तरता दिएको छ। ग्रामीण विद्युतीकरणलाई पूर्णता दिन र औद्योगिक क्षेत्रमा २४सै घण्टा गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण लाइन सुदृढीकरण गरिनेछ। सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनाहरू राष्ट्रिय गौरवका सिक्टा, बबई र रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई तीव्रता दिन थप बजेट विनियोजन गरिएको छ।

    कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले व्यावसायिक खेती, शीतभण्डार निर्माण र कृषि उत्पादनको बजारीकरणमा अनुदान दिने व्यवस्था गरेको छ। रासायनिक मलमा दिइँदै आएको अनुदानलाई व्यवस्थित र समयमै आपूर्ति सुनिश्चित गर्न पर्याप्त बजेट छुट्याइएको छ। पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउँदै आगामी वर्ष नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य राखिएको छ। प्रमुख पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकास र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रवर्द्धनका लागि विशेष प्याकेज घोषणा गरिएको छ। सूचना प्रविधि (IT) क्षेत्रलाई रोजगारीको नयाँ गन्तव्य बनाउन देशभित्रै डिजिटल इकोसिस्टमको विकास गरिनेछ भने स्टार्टअप व्यवसायहरूलाई सुरुवाती पुँजी र कर छुटको व्यवस्था मिलाइएको छ।

    शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गर्दै प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिइएको छ। खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड र श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रतर्फ जीर्ण बनेको स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकृत गर्दै 'एकल भुक्तानी विधि' मार्फत व्यापक सुधार गरिनेछ र आगामी ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइनेछ। नेपाल औषधि लिमिटेडले अब निःशुल्क वितरणका लागि थप २५ प्रकारका औषधि उत्पादन गर्नेछ भने सडक दुर्घटना रोक्न 'राष्ट्रिय ट्रमा नीति' तर्जुमा गरिने भएको छ। सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब बजेट विनियोजन गर्दै सरकारले सडक बालबालिकामुक्त मुलुक घोषणा गर्ने र आगामी वर्षभित्रै भूमिहीनहरूको व्यवस्थापन गरिसक्ने घोषणा गरेको छ।

    राजनीतिक र वित्तीय क्षेत्रमा पारदर्शिता ल्याउन सरकारले केही दूरगामी र नवप्रवर्तनकारी कदमहरूको प्रस्ताव गरेको छ। राजनीतिक दलहरूलाई उनीहरूले निर्वाचनमा प्राप्त गरेको पछिल्लो मतका आधारमा राज्यकोषबाटै अनुदान दिनेबारे देशव्यापी बहस चलाइने र उक्त रकमको अनिवार्य रूपमा महालेखा परीक्षकबाट अडिट गराइने कानुनी व्यवस्था गरिने बजेटमा उल्लेख छ। सेयर बजार र सरकारी संस्थानको सन्दर्भमा राष्ट्रिय जीवन बीमा र विशाल बजारको सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिने घोषणा गरिएको छ। काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न केयूकेएल, खानेपानी व्यवस्थापन बोर्ड लगायतका चारवटा छरिएका निकायहरूलाई गाभेटर एउटै शक्तिशाली संरचना बनाइने भएको छ, जसले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई २४सै घण्टा 'स्मार्ट वितरण प्रणाली' बाट स्वच्छ पिउने पानी सुनिश्चित गर्ने दाबी गरेको छ।

    अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि सुधार्न नेपाललाई वित्तीय कारबाही कार्यदल (FATF) को 'ग्रेलिस्ट' बाट यथाशीघ्र हटाउन सरकारले विशेष प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाएको छ। आधुनिक प्रविधि र रणनीतिक आयोजनाहरूमा लगानी जुटाउन सरकारले एउटा विशेष 'मातृभूमि कोष' स्थापना गर्ने घोषणा गरेको छ। यो कोषमार्फत नेपालमै पहिलोपटक एआई (Artificial Intelligence) फ्याक्ट्री स्थापना गर्ने, देशमा कम्तीमा ३ महिनाका लागि इन्धन भण्डारण गृह निर्माण गर्ने तथा अन्य रणनीतिक महत्त्वका ठूला आयोजनाहरूमा लगानी परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

    Budget Speech-2083

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij