काठमाडौं। तपाईं-हामीले हरेक दिन भान्सामा विश्वासका साथ प्रयोग गर्ने चाउचाउ, बालबालिकाले चाख मानेर खाने आइसक्रिम र स्वास्थ्यका लागि औषधि मानेर खाइने मह जस्ता दैनिक उपभोग्य वस्तु कत्तिको सुरक्षित छन्? पछिल्लो समय बजारमा उपलब्ध केही नाम चलेका ब्रान्ड र उत्पादनहरूको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नियमित अनुगमन, प्रयोगशाला परीक्षण र बजार निगरानीका क्रममा जनस्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने जीवाणु र तोकिएको मापदण्ड विपरीतका कैफियत भेटिएपछि उपभोक्ताहरू आफूले खाँदै आएको खाद्यान्नप्रति चिन्तित बनेका हुन्। हालै मात्र बहुराष्ट्रिय ब्रान्ड ‘डाबर हनि’ को निश्चित ब्याचमा सरकारी मापदण्ड पूरा नभएको भन्दै बजारबाट फिर्ता (रिकल) गर्न दिइएको निर्देशनले यस क्षेत्रको संवेदनशीलतालाई थप उजागर गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार बजारमा रहेका प्रसोधित, अर्ध-प्रसोधित र अप्रसोधित सबै प्रकारका खाद्यवस्तुको नियमित नमुना संकलन गरी परीक्षण गर्ने कानुनी अधिकार राज्यलाई छ। सरकारले तोकेको गुणस्तरको ठोस मापदण्ड (प्यारामिटर) भन्दा बढी वा घटि पाइएमा त्यस्ता वस्तुलाई तत्कालै 'गुणस्तरहीन' घोषित गरी कानुनी कारबाहीको दायरामा ल्याइन्छ। विभागले वर्षैभरि गर्ने नियमित निरीक्षणबाहेक चाडबाडको समयलाई लक्षित गरेर विशेष अनुगमन टोली परिचालन गर्ने गर्दछ। जसअन्तर्गत दसैँको समयमा बढी बिक्री हुने खाद्यान्न, तेल, दलहन र तिहारको समयमा मिठाई जस्ता बढी जोखिमयुक्त वस्तुहरूको विशेष फलोअप र परीक्षण गरिँदै आएको छ।
नयाँ उद्योग स्थापनाको चरणदेखि नै कडा कानुनी प्रक्रिया रहेको विभागको दाबी छ। कुनै पनि नयाँ खाद्य उद्योग खोल्नुअघि अनुमति पत्र (लाइसेन्स) लिनु अनिवार्य हुन्छ, जसका लागि उद्योगीले आफ्ना सम्पूर्ण कागजात र उत्पादनको सही 'लेबल' विभागमा पेस गर्नुपर्छ। उक्त उत्पादनको नमुना प्रयोगशालामा परीक्षण भई पास भएपछि मात्रै खाद्य निरीक्षकहरूले उद्योगको स्थलगत सरसफाइ र प्रविधिको अवस्था हेरेर बजारमा सामान पठाउने अनुमति दिने गर्छन्। सञ्चालनमा आइसकेका उद्योगहरूले पनि हरेक दुई-दुई वर्षमा आफ्नो अनुमति पत्र नवीकरण गराउनुपर्छ। तर, नवीकरणको बीचको अवधिमा पनि बजार र उद्योगबाट आकस्मिक रूपमा नमुना संकलन गर्ने काम निरन्तर भइरहने अधिकारीहरू बताउँछन्।
उत्पादनको ठुलो शृङ्खलामा कहिलेकाहीँ प्राविधिक वा मानवीय त्रुटि हुन सक्ने र त्यस्ता गल्ती पहिचान गरेर सुधार गराउनु नै अनुगमन प्रणालीको मुख्य उद्देश्य भएको विभागको भनाइ छ। बजारमा कुनै ब्याचको उत्पादनमा समस्या देखिएर सामान फिर्ता (रिकल) गराउँदैमा उपभोक्ताले उक्त उद्योगकै सबै सामान खराब हो कि भनी भ्रममा पर्नु नपर्ने विभागले प्रस्ट पारेको छ। कैफियत देखिएका सामानहरू बजारबाट फिर्ता गराएर स्थानीय पालिका, उद्योग र विभागका प्रतिनिधिको रोहबरमा नष्ट गरिन्छ र उद्योगमाथि कानुनी मुद्दा चलाइन्छ। यद्यपि, अनुगमन र रिपोर्ट आउनु अगावै उपभोक्ताको भान्सासम्म पुगेर उपभोग भइसकेका अखाद्य वस्तुको हकमा भने विभागसँग ट्र्याक गर्ने कुनै उपाय नहुँदा प्रणाली मौन बस्नुपर्ने बाध्यता छ।
यस्तो अवस्थामा उपभोक्ता आफैँ पनि सचेत र जिम्मेवार बन्नु आवश्यक देखिन्छ। बजारमा सामान किन्दा आँखाले देखिने खराबी जस्तै– किरा लागेको, ढुसी परेको, भिजेको वा ओसिएको छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ। साथै, प्याकेटमा उपलब्ध खाना किन्दा उत्पादन भएको स्थान, तौल, मूल्य, उत्पादन मिति र उपभोग्य अवधि (Expiry Date) अनिवार्य रूपमा हेर्नु असल उपभोक्ताको दायित्व हो। खाद्य पदार्थ सिधै नागरिकको स्वास्थ्य र जीवनसँग जोडिने विषय भएकाले उद्योगीहरूको सानो लापरबाहीले पनि हजारौँ उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्छ। राज्यले गुणस्तरमा शून्य सम्झौताको नीति लिइरहँदा खाद्य उद्योगहरू अझ बढी जिम्मेवार, पारदर्शी र सचेत बन्नु आवश्यक छ, किनकि उपभोक्ताको विश्वास एक पटक गुमेपछि त्यसलाई सहजै फर्काउन सकिँदैन।


