Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

दुःख देखाउन पनि पैसा बुझाउनुपर्ने

दुःख देखाउन पनि पैसा बुझाउनुपर्ने

आइतबार, वैशाख २७ २०८३
आइतबार, वैशाख २७ २०८३
  • काठमाडौं। कतै कुहिएको फोहोरको डंगुर त कतै मान्छेका पुराना हड्डीहरू। सुन्दा पनि डर लाग्ने त्यो ठाउँमा कसैलाई बस्ने रहर हुँदैन। तर, मञ्जु तामाङका लागि त्यही ठाउँ एउटा प्यारो संसार थियो। आज त्यो संसार पनि बाँकी छैन्। सरकारले चलाएको डोजरले उनको घर मात्र होइन, एउटी गरिब आमाको वर्षौँको पसिना र सपनालाई पनि एकै क्षणमा धुलोमा मिलाइदिएको छ।

    images

    मञ्जुको जिन्दगीमा कहिल्यै घाम लागेन। सङ्खुवासभाको पहाडबाट सुरु भएको उनको दुःख काठमाडौंका गल्लीहरूमा आइपुग्यो। बुबालाई क्यान्सरले खाएपछि भएको अलिअलि जग्गा पनि सकियो। सानै उमेरमा काठमाडौं छिरेकी उनले अरूको घरमा काम गर्दै ५ कक्षासम्म पढिन्।

    उनी आफ्नो विगत सम्झिँदै भन्छिन्, ‘बिहान-बेलुका साहुको घरमा काम गर्थेँ, दिउँसो मात्र स्कुल जान पाउँथेँ। शनिवार त झन् कामै काम हुन्थ्यो।’ विवाहपछि त झन् उनले कहिल्यै बिर्सिन नसक्ने चोट पाइन्। ‘मेरो जीवनको सबैभन्दा ठूलो चोट भनेकै विवाह र श्रीमान् हो। त्यो पीडा त म शब्दमा भन्नै सक्दिनँ,’ उनी भक्कानिन्छिन्।

    छोराछोरीको पेट पाल्न उनी सात समुद्र पारि इराक पुगिन्। तर, परदेशको भूमि झन् कठोर बन्यो। मालिकको हातबाट कुटाई खाँदा पनि उनी चुपचाप सहन्थिन्। किनकि, उनलाई नेपालमा आफ्ना छोराछोरीका लागि एउटा छानो बनाउनु थियो।

    ‘इराकमा धेरै कुटाई खाएँ, धेरै आँसु बगाएँ। त्यही आँसु र रगत बेचेर कमाएको पैसाले बल्खुको सुकुम्बासी बस्तीमा एउटा ओत बनाएकी थिएँ। हाम्रो रहर थिएन खोलाको किनारमा बस्ने। जग्गाजमिन नभएपछि कहाँ जाने त? फोहोर फाल्ने ठाउँमा हड्डीहरू भेटिन्थे, त्यहीँ घर बनाएर बस्यौँ। तर, आज त्यो पनि रहेन।’

    थापाथली भत्काउँदा बल्खुमा केही हुँदैन भन्ने लागेको थियो उनलाई। तर, एक दिन एक्कासि डोजर आइपुग्यो। ‘शुक्रबारको दिन एक्कासि डोजर हालिदिनुभयो। न सामान झिक्न पायौँ, न ओढ्ने ओछ्‌याउने नै। एउटा खाट थियो, त्यो पनि पुरियो। दराज त छँदै थिएन, भएका डस्न-सिरक पनि माटोमै पुरिए।'

    अहिले उनी त्रिपुरेश्वरको अस्थायी शिविरमा छिन्। सरकारले खाना र सुत्ने ठाउँ त दिएको छ, तर एउटी आमाको मन कहाँ मान्छ र? ‘सुत्ने ठाउँ र खाना दिएर के गर्नु? जति चोट मेरो मनमा छ, त्यो कसले बुझ्छ र? हामीलाई ठूलो महल चाहिएको होइन, जम्मा दुई कोठा र एउटा शौचालय भएको सानो ठाउँ दिए पनि हामी आफैँ दुःख गरेर खान्थ्यौँ,’ उनी भन्छिन्।

    मञ्जुलाई अहिले आफ्ना सन्तानको भविष्यले पिरोल्छ। १५ वर्षको छोरो काममा जान सक्दैन, १३ वर्षकी छोरीको पढाइ रोकिएको छ। अझ दुःखको कुरा, उनलाई सहयोग गर्न आउने मिडियाले पनि भ्युज खोज्दो रहेछ भन्ने थाहा पाउँदा उनी झन् दुःखी छिन्।

    ‘धनीहरूको बोली बिक्छ, हामी गरिबको बोली कसले सुन्ने? मिडियाका सरहरू पनि भ्युज आउँदैन भनेर हाम्रो कुरा सुन्न मान्नुहुन्न।’ मञ्जु प्रश्न गर्छिन्, ‘के हाम्रो दुःख देखाउन पनि पैसा नै बुझाउनुपर्ने हो र? हामी त बिहान कमाएर बेलुका खाने मान्छे हौँ। सरकारले हामीलाई यहाँबाट अब कहाँ लैजान्छ? काम पाइए हुन्थ्यो, बालबच्चाले पढ्न पाए हुन्थ्यो।’

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij