काठमाडौं। तपाईंले किताबका अक्षर सहजै देख्न सक्नुहुन्छ, तर दृष्टिबिहीन व्यक्तिका लागि ती अक्षर खाली र अर्थहीन पाना मात्र हुन्। जहाँ हाम्रा आँखाले संसार नियाल्छन्, त्यहाँ उनीहरूका औँलाका टुप्पाहरूले उज्यालो खोज्नुपर्छ। ब्रेललिपि तिनै खाली र मौन पानाहरूमा जीवनको रङ भर्ने एउटा माध्यम हो, जसले अँध्यारोमा रुमल्लिएका आँखाहरूलाई ज्ञानको संसारसम्म पुग्ने बाटो देखाउँछ। तेह्रथुमकी बालकुमारी सुब्बाका लागि ब्रेल केवल एउटा लिपि मात्र रहेन, यो त उनको जीवन नै बदलदिने एउटा महाअभियान बन्यो। उनी भन्छिन्, 'जीविको पार्जनको लागि पनि यही ब्रेल सिके र एउटा जब पाए।'
आजभन्दा झन्डै तीन दशकअघिदेखि सुरु भएको बालकुमारीको यो यात्रा अहिले पनि उस्तै ऊर्जाका साथ सुकेधारास्थित नेपाल नेत्रहीन संघको कार्यालयमा जारी छ। नेपालमा विक्रम संवत् २०२१ सालदेखि ल्याबोरेटरी माध्यमिक विद्यालयबाट सुरु भएको ब्रेल शिक्षाको इतिहासले आज हजारौँको जीवनमा उज्यालो छरेको छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, जसले छापा अक्षर हेरेर पढ्न सक्दैनन, उनीहरूका लागि छामेर अध्ययन गर्ने यो लिपि शिक्षाको मेरुदण्ड नै हो। जसरी एउटा सग्लो मानिसले आफ्नो दैनिकीका लागि डटपेन र डायरीको प्रयोग गर्छ, त्यसरी नै दृष्टिबिहीन व्यक्तिहरूले स्लेट र स्टायलसको प्रयोग गरेर आफ्ना सपनाहरूलाई अक्षरमा उतार्ने गर्छन्।
राष्ट्रिय जनगणनाको तथ्याङ्कले भन्छ, देशभर ४५ हजार ६७ जना दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति छन्, जसमध्ये ३५ हजार १ सय ४२ जना पूर्ण रूपमा दृष्टिबिहीन छन्। ती हजारौँ बालबालिका र युवाहरूका लागि ब्रेललिपि नै सूचना र शिक्षाको मुख्य झ्याल हो। 'विद्यालय तहमा अध्ययनरत करिब १५ सय भाइबहिनीहरूका लागि समयमै पाठ्यपुस्तक पुऱ्याउनु एउटा ठुलो चुनौतीको विषय हो। सरकारी स्तरबाट १८ वटा एकीकृत कार्यक्रम र ८१ वटा स्रोत कक्षहरूमार्फत शिक्षा दिने प्रयास भइरहे पनि ब्रेल सामग्री उत्पादनमा भने नेपाल नेत्रहीन संघले नै प्रमुख भारी बोकिरहेको छ।' जनक शिक्षा सामग्री केन्द्रसँग पर्याप्त प्रविधि र जनशक्ति नभएका कारण आज पनि यो संघले नै अहोरात्र खटिएर अक्षरहरूलाई स्पर्शमा ढालिरहेको छ।
सुकेधाराको त्यो कार्यालयभित्रका मेसिनहरूले जब कक्षा १ देखि १२ सम्मका पुस्तकहरू छाप्न थाल्छन्, त्यहाँ केवल कागजका ठेली मात्र निस्कदैनन्, विद्यार्थीका भविष्यका सपनाहरू पनि आकार लिइरहेका हुन्छन्। 'डक्सबरी सफ्टवेयरमार्फत डिजिटल अक्षरहरूलाई ब्रेलमा रूपान्तरण गर्दा टाइपिङ र प्रुफ रिडिङमा निकै सावधानी अपनाउनुपर्छ। सानो त्रुटिले पनि एउटा शब्दको अर्थ अर्कै बनाइदिन्छ। कहिलेकाहीँ पुस्तकको मूल डिजिटल प्रति (PRC) नपाउँदा सबै कुरा म्यानुअल्ली टाइप गर्नुपर्ने बाध्यता हुन्छ, जसले गर्दा समय र श्रम दुवै बढी खर्च हुन्छ। नर्वेबाट ल्याइएका ब्रेलो ४०० र ६०० जस्ता मेसिनहरूले घण्टौँसम्म थोप्लाहरू कोरेर पुस्तक तयार पार्छन्, ताकि टाढाका बस्तीमा रहेका बालबालिकाहरू शिक्षाबाट वञ्चित नहोउन्।'
तयार पारिएका पुस्तकहरू काठमाडौंबाट हुम्ला र जुम्ला जस्ता भौगोलिक रूपमा कठिन जिल्लाहरूसम्म पुग्नु अर्को एउटा युद्ध जिते जस्तै हो। कतै बसको छतमा त कतै हेलिकप्टरको साहरामा ती पुस्तकहरू पठाइन्छ। यो यात्रामा एउटा ठुलो डर सधैँ रहिरहन्छ, कतै पानीले भिजेर वा गह्रौँ भारीले थिचिएर ती स्पर्श गरिने थोप्लाहरू मेटिने त होइनन्? यदि थोप्लाहरू मेटिए भने ती पुस्तकहरू पुनः अर्थहीन पानामा परिणत हुन्छन्। संघका प्रतिनिधिहरू भन्छन् 'यसको मुख्य चुनौती भने कहिलेकाहीँ गाडीमा लोड गरेर पठाउदा खेरि बढी दबियो अथवा पानीले भिजियो भने यो अक्षरहरु मेट्टिने पेपरहरु नष्ट हुने त्यस्तो खालको चुनौतीहरु त हुन्छन तर हामीले त्यो हुन दिएका छैनौ। अहिले सम्म विद्यालयहरुमा सहि सलामत नै पाठ्यपुस्तकहरु पुर्याइएको छ।'
विज्ञान र प्रविधिको विकासले आज दृष्टिबिहीन व्यक्तिको जीवन धेरै हदसम्म सहज बनाएको छ। कानले सुनेर पढ्ने सफ्टवेयरहरू आएका छन्, तर पनि ब्रेलको महत्त्व अक्षुण्ण छ। किनकि ब्रेलको विकल्प सहायक प्रविधि मात्र हुन सक्दैन, ब्रेलको विकल्प त ब्रेल नै हो। यसले नै एक दृष्टिबिहीन व्यक्तिलाई अक्षर चिन्न, हिज्जे बुझ्न र वास्तवमै साक्षर हुन सिकाउँछ। सीमित स्रोत र साधनका बिच नेपाल नेत्रहीन संघले गरिरहेको यो प्रयासले हजारौँलाई आत्मनिर्भर बनाएको छ, उनीहरूलाई समाजमा शिर उठाएर बाँच्ने आधार दिएको छ।


