काठमाडौं। सडकको तातो राप, माइतीघरको भीड र न्यायको निम्ति गुन्जिएको एउटा बुलन्द आवाज—त्यो आवाज हो रिया संगम सुनारको। इनिशा बिकको वीभत्स बलात्कार र हत्या प्रकरणले देश स्तब्ध छ। 'सडक सङ्घर्ष समिति' की सहसचिव रिया, अहिले केवल एउटा नाम मात्र होइनन्, उनी न्यायको आशा र विभेद विरुद्धको रांको बनेकी छन्। उनी यो समाजको कुरूप ऐना देखाउंदै भन्छिन्, 'हामीलाई यो समाजमा एउटा घरमा पालेको जनावरलाई भन्दा पनि तुच्छ व्यवहार गरिन्छ, त्यो मैले आफैंले स्वयं भोगेको कुरा हो।'
रियाको स्वरमा समाजप्रतिको यो गहिरो चोट र आक्रोश त्यसै आएको होइन। उनी न्याय नपाइनुको मुख्य कारण राजनीतिक शक्ति र पहुंचलाई मान्छिन्। उनको ठहर छ कि बलात्कार र हत्या जस्ता जघन्य अपराधमा निम्नवर्गीय र सामान्य परिवारको मान्छे संलग्न हुनै सक्दैन। 'जसको राजनीतिक पावर, दबाब र दलदल छ, जसको माथिमाथि सम्म पहुंच छ, त्यस्तो मान्छेहरूले नै अपराध गरेको भेटिन्छ।' ९९ प्रतिशत यस्ता केसहरूमा अपराधीहरू शक्तिशाली हुने र राजनीतिक आडमा केस दबाइने पीडादायी वास्तविकता उनले नजिकबाट महसुस गरेकी छन्।
पश्चिम रुकुममा जन्मिएकी रियाको पारिवारिक पृष्ठभूमि फौजी थियो। बुबा नेपाल प्रहरीका अवकासप्राप्त अधिकृत हुन् भने दाइ, भाइ, दिदीबहिनी सबैजसो सुरक्षा फौजमै छन्। तर, रियाको बाल्यकाल भने सुखद रहेन। बुबाको काख र मायामा उनी कहिल्यै रमाउन पाइनन्। जाजरकोटबाट बसाइ सरेर रुकुम पुगेकी उनी मामाघरमै हुर्किइन्। परिवारले उनलाई पनि प्रहरी नै बनाउन चाहेको थियो, तर रियाको मनमा अर्कै विद्रोहको बिउ पलाएको थियो। उनलाई भ्रष्टाचार र राजनीतिक दबाबमा चल्ने त्यो सेवामा कहिल्यै रुचि जागेन। उनी स्वतन्त्र भएर बांच्न चाहने स्वभावकी थिइन्, जसले गर्दा उनले सानैदेखि पत्रकारिता, समाजसेवा वा कलाकारिताको सपना देखिन्।
रियाको काठमाडौं सम्मको यात्रा र अहिलेको सक्रियताको पछाडि आफ्नै पीडादायी कथा लुकेको छ। मागी विवाह भएपछि उनले आफ्नै श्रीमानबाट चरम घरेलु र महिला हिंसा भोग्नुपर्यो। सात वर्षअघि काठमाडौं छिर्दा उनीसंग एउटा सानो छोरो र आंखाभरि आंसु मात्र थियो। तर, उनले त्यो आंसुलाई शक्तिमा बदलिन् र विवाहपछि भोगेको त्यही हिंसालाई नै एउटा बाटो बनाइन्। विगत सात वर्षदेखि उनी क्यामेराको पर्दा पछाडि बसेर धेरै महिला संगठनहरूमा काम गरिन्। सुरुमा 'छोरी मान्छेलाई समाजमा बांच्नै गाह्रो छ, कतै मलाई अट्याक गर्छन् कि?' भन्ने डर उनमा थियो, तर इनिशा बिकको घटनाले उनलाई त्यो डरबाट बाहिर निकालेर सडकको नेतृत्वमा ल्याइदियो।
इनिशा बिकको घटना सुन्दा रियालाई आफ्नै शरीरमा आगो बलेजस्तो महसुस भयो। उनी भन्छिन्, 'जुन घरबाट डोली उठ्नुपर्ने थियो, त्यहांबाट आज अर्थी उठेको छ। इनिशाको साससंगै आमाबाबुको सारा आस सकिएको छ।' उनी इनिशाका आमाबुवालाई सम्बोधन गर्दै भन्छिन्, 'हामी पनि तपाईंको छोरीचेली हौं, तपाई कमजोर नहुनुहोला। एउटा छोरी गुमे पनि हजारौं छोरीलाई बचाउन हामी लड्नेछौं।' अहिले उनी ५१-५२ जनाको सङ्घर्ष समिति बनाएर निस्वार्थ रूपमा न्यायको लागि लडिरहेकी छन्। उनले १५ दिनदेखि सडकमै रहेको र नयां सरकारबाट थोरै आशा राखेको बताइन्।
रिया नेपालको न्याय प्रणालीप्रति निकै रुष्ट छिन्। निर्मला पन्तको उदाहरण दिंदै उनी भन्छिन्, 'नेपालमा न्याय ढिलो भएकाे होइन यहां न्याय नदिइएको हाे । ३३ प्रतिशत महिला हक केवल कागजमा मात्र सीमित छ।' आन्दोलनमा लाग्दा उनलाई विभिन्न फेक आइडी र फोनहरूबाट धम्कीहरू पनि आइरहेका छन्। कतिपयले त सङ्घर्ष समितिका सदस्यहरूको नामै तोकेर भिडियोहरू बनाएका छन्। तर रिया डराएकी छैनन्। उनी भन्छिन्, 'कसैले धम्काउंदैमा न्यायको पक्षमा उठेको आवाज चुप लाग्दैन। मेरो आवाज यो राज्य र समाजले सुन्नैपर्छ।'
आज धेरैले रियालाई 'मानव तथा महिला अधिकारकर्मी' भनेर चिन्छन्। झापादेखि काठमाडौंसम्मका पीडित महिलालाई आफ्नै घरमा आश्रय दिएर न्याय दिलाएका उदाहरण उनीसंग छन्। उनी पुरानो संविधान खारेज गरेर 'जनताको माटोबाट' नयां संविधान बन्नुपर्ने र महिला अधिकारलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग राख्छिन्।
उनी सारा महिलाहरूलाई साहस बटुल्न आग्रह गर्दै भन्छिन्, 'हिंसा सहेर मृत्यु रोज्ने होइन। जति सह्यो, त्यति नै दमन हुन्छ। जब गलत हुन्छ, तब सडकमा उत्रिनुस्। तपाईं अगाडि बढेपछि साथ दिने हातहरू हजारौं हुन्छन्।' इनिशा बिकको न्यायको लागि सुरु भएको यो सङ्घर्ष अनिश्चितकालीन रहने र न्यायालयले फैसला नगरेसम्म सडक नछोड्ने रियाको दृढ संकल्प छ।


