काठमाडौं। राजधानीकाे व्यस्त चोक कलङ्कीको, जहाँ दैनिक हजारौँ गाडी र लाखौँ मानिसको ठूलो ओहोरोदोहोरो चल्छ। त्यही भिड, कोलाहल र धुलोको बीचमा ३० वर्षीय सुशील बरालि आफ्नो जीवनको एक महत्वपूर्ण हिस्सा बिताइरहेका भेटिन्छन्।
सडकको छेउमा गाडी रोकेर फोहोर सङ्कलन गर्ने, त्यसलाई लोड अनलोड गर्ने र छुट्ट्याउने उनको दैनिकी हो। धेरैलाई लाग्न सक्छ यो कुनै बाध्यता होला तर, सुशीलका लागि यो विदेशको हन्डर खाएर फर्किएपछिको एउटा सुरक्षित र आत्मनिर्भर यात्रा हो।
बाल्यकाल र सुरुवाती सङ्घर्ष तारकेश्वर नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा सुशीलको सङ्घर्ष सानै उमेरदेखि सुरु भएको हो। उनले ८ कक्षासम्म मात्र पढ्न पाए। बा-आमाको दुःखले गर्दा आफूले पढ्न नपाएपछि उनी पढाइ छोडेर इलम तिर लागे ।
१३/१४ वर्षकै उमेरदेखि काममा लाग्नु उनको रहर थिएन। उनले सुरुमा नेबको बिस्कुट उद्योगमा झण्डै ६ वर्ष बिताए। त्यसपछि उनी गाडी लाइनमा लागे। गाडी लाइनमा लाग्दा उनको उमेर सानै थियो, पछि साथीभाइहरू भेटिए र उनीहरूकै सङ्गतले फोहोरको काममा लागेको उनले बताए।
दुबईको सपना र यथार्थको ठक्कर फोहोरकै काम गर्दागर्दै उनको विदेशको भिसा आयो र उनी सपनाको सहर दुबई तिर उडे। त्यहाँ गएर कार वासमा काम गरेको अनुभव उनले सुनाए। तर दुई वर्ष दुबई बस्दा पनि सोचेजस्तो कमाइ नभएपछि त्यो भन्दा नेपालमै ठिक छ भनेर फर्किए । नेपाल फर्किएपछि एक महिना घर बसेर काम खोजे, तर कतै पाएनन्। हेभी लाइसेन्स भए पनि अन्त काम नपाएपछि उनी फेरि फोहोरकै काममा फर्किए। विदेश जानुअघि पनि सात वर्ष फहोरकै काममा आवद्ध भएको उनले जनाए ।
सुशीलको काम सजिलो छैन। काम गदै गर्दा सिसाहरुले धेरै पटक हात काटेको समेत उनले जनाए । उनी भन्छन् कहिलेकाँही एरिया जाम भएको बेला बिहान ६ देखि बेलुका ६ बजेसम्म काममै खट्नुपर्छ। तर मानिसहरूको व्यवहारले उनलाई धेरै पटक दुखी बनाउँछ। घरमा फोहोर थुप्रिँदा रोग लाग्ला भनेर हामी उठाउन जान्छौँ, तर मान्छेहरू उल्टै नराम्रो बचन सुनाउँछन्।
उनी भन्छन् वास्तवमा भन्नुपर्दा, हाम्रो कामलाई समाजले हेर्ने दृष्टिले राम्रो हेर्दैन, फोहोर बोक्ने मान्छे त हो नि भन्छन् तर यति हुँदाहुँदै पनि उनी आफ्नो कामप्रति लज्जित छैनन्।
सुरुमा त लाज लाग्ने, कोही देख्ला कि जस्तो हुने हुन्थ्यो, तर बानी परेपछि अप्ठ्यारो लाग्दैन। हाइवेमा लाखौँ मान्छे हिँड्छन्, हामी त्यही गाडी माथि काम गर्छौँ। कामको बेला फोहोर भए पनि घर जाने बेलामा हिरो भएर बसिरहेका हुन्छौँ भन्छन्।
उनका कलङ्की, माछापोखरी र थानकोटतिर धेरै साथीहरू छन्। उनी भन्छन्, साथीभाइ जहाँ गए पनि भेटिन्छन्। काम नपाएका साथीहरूलाई पनि मैँले काममा लगाएको छु। जति धेरै साथी मिलेर काम गर्यो, उति सजिलो हुन्छ ।
सुशिलसँग हेभी गाडीको लाइसेन्स छ। घरपरिवारले उनलाई यस्तो फोहोरको गाडीमा किन काम गर्छस्, आफ्नै गाडी चला भन्छन्। तर सुशिल भन्छन्, गाडी चलाएर बाटामा एकजना मान्छे पाइँदैन, कमाइ पनि हुँदैन, बरु यतै फाइदा छ। खटियो भने महिनाको ३५, ४० देखि ५० हजारसम्म पुग्छ। एउटा सुपरभाइजरले खाने स्यालरी हामीले खाइरहेका छौँ, उनी भन्छन्।
अहिले उनी यही कमाइबाट घर खर्च टार्ने र अलिअलि भएको ऋण तिर्ने योजनामा छन् सुशिल। ६ वर्षको छोरा र श्रीमती रहेको उनको परिवारमा आफ्नो जस्तो दुःख छोराले नपाओस् भन्ने उनको चाहना छ। छोरालाई पढाउँछु, नराम्रो बाटोमा हिँड्न दिन्नँ। आफले त दुःख पाइयो पाइयो, उसलाई दुःख दिन्नँ भन्छन् सुशील ।
विदेश जाने सोच बनाएका साथीहरूलाई उनी आफ्नै अनुभवबाट सुझाव दिन्छन्, सकेसम्म अर्काको देशमा नजाओ, थोरै भए पनि आफ्नै देशमा कमाएर बसौँ। हिजो दुबईका चिल्ला गाडी धुने सुशील आज कलङ्कीका सडक सफा गर्दै आफ्नो र परिवारको भविष्य उज्यालो बनाउन व्यस्त छन्।


