काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार काठमाडौंमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन्।
राजधानीका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको लाम देखिएको थियो। सुरक्षाकर्मीको कडा निगरानी र व्यवस्थापनबीच मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भएको देखिएको छ। कतिपय स्थानमा ज्येष्ठ नागरिक, महिला तथा युवाहरू उत्साहपूर्वक मतदानमा सहभागी भएको दृश्य देखिएको थियो भने स्वयंसेवक तथा सुरक्षाकर्मीले मतदातालाई सहजीकरण गरेका थिए।
काठमाडौंका सडकहरूमा निर्वाचनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएकाले सवारी चाप कम देखिएको थियो। आवश्यक सेवा र अनुमति प्राप्त सवारीसाधन मात्रै सञ्चालनमा थिए। समग्रमा राजधानीमा मतदान शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको देखिएको छ। फोटोफिचरमा काठमाडौंका विभिन्न मतदान केन्द्र र मतदानमा सहभागी मतदाताको झलक प्रस्तुत गरिएको छ।










