काठमाडौं। काठमाडौँको नक्सालस्थित नारायणचौरमा पारिलो घाम तापिरहेका एक वृद्धमा हाम्रो आँखा पर्यो। उनीसँग अघिल्लो पुस्ताका बारेमा कुराकानी गर्दा मात्र थाहा भयो कि उनलाई धेरै कुरा भन्नु रहेछ । पुतलीसडकको एउटा कुनामा सुस्ताइरहेका ८१ वर्षीय मरिचमान सिंहका आँखाले अहिलेको काठमाडौँको कोलाहल मात्र देख्दैनन्, बरु ती आँखामा विगत आठ दशकका परिवर्तनका अनेकौँ चित्रहरू नाचिरहेका छन् ।
काभ्रेपलाञ्चोकबाट सुरु भएको उनको जीवनको यात्राले राणा शासनदेखि गणतन्त्रसम्मको आरोह–अवरोह र भारी बोक्नेदेखि ४० वर्ष रिक्सा चलाउँदासम्मको सङ्घर्षलाई नजिकबाट नियालेको छ ।
मरिचमानलाई हिजो जस्तो लाग्छ, जतिबेला ५ रुपैयाँको मूल्य ’आकाश’ जस्तै ठुलो थियो । उनी सुनाउँछन्, ‘त्यो बेला ५ रुपैयाँमा ३ देखि ४ भारी मकै वा कोदो आउँथ्यो । त्यसलाई बोक्न २–३ जना मानिस चाहिन्थ्यो । आज ५ रुपैयाँले एउटा राम्रो चकलेट पनि आउँदैन ।’ ५० पैसा कमाउन टेम्पो समातेर कालीमाटी धाउनुपर्ने ती दिनहरू सम्झँदा उनलाई आजको महँगीले अचम्मित बनाउँछ ।
अहिलेको पुस्तालाई नुन भनेको पसलमा सजिलै पाइने वस्तु हो, तर मरिचमानका लागि यो एक सास्तीपूर्ण काम थियो । ढिके नुन लिन १०–१२ जनाको समूह मिलेर ७–८ दिनसम्म पैदल हिँडेर भोट (तिब्बत) पुग्नुपर्थ्याे ।
‘बाटोमा खानेकुरा र दाउरा आफ्नै पिठ्युँमा हुन्थ्यो । ओडार र जङ्गलमा बास बस्नुयर्थ्याे,’ उनी विगत कोट्याउँछन्, ‘जङ्गली जनावरको डर हुन्थ्यो। त्यससबाट बच्न साथमा सधैँ खुकुरी लैजान्थ्यौँ । अहिले त न खुकुरी बोक्ने चलन रह्यो, न त बारीको शुद्ध तोरीको तेल नै ।’
माओवादी द्वन्द्व सुरु भएपछि गाउँ छोडेर काठमाडौँ छिरेका मरिचमानले करिब चार दशक रिक्सा चलाएरै बिताए । त्यही रिक्साको पाङ्ग्रा घुमाएर उनले आफ्ना सन्तानको पालनपोषण गरे । काठमाडौँका सडकहरूमा पसिना बगाउँदै उनले समाज र सत्ता फेरिएको धेरै पटक देखेका छन् ।
राणा, राजा र गणतन्त्र तीनवटै शासन भोगेका मरिचमानलाई वर्तमान राजनीतिले भने पटक्कै छोएको छैन । उनको अनुभवमा राजाको पालामा अहिलेको जस्तो भ्रष्टाचार र असुरक्षा थिएन । ‘ठुला नेताहरू केपी ओली, गगन थापा र प्रचण्डले कुरा मात्र ठुला गरे, जनताको अवस्था उस्तै छ,’ उनले चित्त देखाए । यद्यपि, काठमाडौँका मेयर बालेन शाह जस्ता युवाहरूले नेतृत्व सम्हाले देश फेरिएला कि भन्ने झिनो आशा भने उनिमा बाँकी छ ।
८१ वर्षको उमेरले उनलाई अहिले थकाएको छ । शरीरका अङ्गहरू दुख्न थालेका छन् । १० वर्षदेखि वृद्ध भत्ता थापिरहेका उनी छोराछोरीको साथमा छन्।
‘बिरामी परेर थला परेर परिवारलाई दुःख दिनु भन्दा हिँड्दाहिँड्दै यो संसार छोड्न पाइयोस्,’ उनी आफ्नो अन्तिम इच्छा सुनाउँछन् । पाथी र मुरी हराएर किलोमा सीमित भएको आधुनिक बजार जस्तै, मरिचमानका पुराना कथाहरू पनि बिस्तारै ओझेल पर्दैछन् ।
उनको यो सङ्घर्षशील जीवन कथाले हामीलाई सिकाउँछ कि समय बलवान् छ र सङ्घर्ष नै जीवनको अर्को नाम हो ।


