काठमाडौं। अविर शब्द आफैँमा शुभ छ। त्यसमा पनि एक डिजाइनरका लागि रंग नै प्रसाद सरह हुने कुरा विनी बज्राचार्यको अनुभवले बताउँछ।
विनी ‘अविर’ ब्रान्डकी सह–संस्थापक तथा डिजाइनर हुन्। आजभन्दा सात वर्षअघि विनी सहित पाँच जना साथीहरूको सहकार्यबाट बनेको नाम हो—अविर, जुन उनीहरूका नामका अगाडिका अक्षरहरू मिलाएर राखिएको हो। यही ‘अविर’ ले आज नेपाली अर्गानिक कपडालाई रंगाइरहेको छ।
समयक्रममा व्यवसायिक साझेदारी सीमित हुँदै हाल तीन जना मात्र सक्रिय छन्। नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै त्यसको उत्पादन र बिक्री–वितरणमा अविर क्रियाशील छ।
नेपालमै उत्पादन हुने कटन, अल्लोका फेब्रिक तथा करघाबाट बुनेका कपडाहरू अविरमार्फत बजारमा उपलब्ध छन्। नेपाली फेब्रिकको प्रयोग गर्दै अविरले आफ्नै गार्मेन्ट सञ्चालन गरिरहेको छ। यही गार्मेन्टमा उत्पादन भएका कपडाहरूलाई अविरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गर्दै आएको छ। हाल अविरमा करिब २० जना कामदारहरू प्रत्यक्ष रूपमा आबद्ध छन्। एक–अर्कासँग हातेमालो गर्दै अविर अघि बढिरहेको छ।
विनी काठमाडौँको नेवारी संस्कृतिमा जन्मिइन्, हुर्किइन्। उनका हजुरबुबा सिलाइ–बुनाइको काम गर्थे। राणाकालमा राणाहरूका कपडा सिलाउँदै गरेको दृश्य देखेकी विनी चित्र कोर्नमा रमाउँथिन्। विनी भन्छिन्, ‘मेरो डिजाइनिङ्को पहिलो प्रेरणा हजुरबा नै हुनुहुन्छ। उहाँबाटै मैले धेरै कुरा सिकेँ।’
विनीका बुबा सरकारी कर्मचारी हुन्। परिवारका अन्य सदस्यहरू पनि सरकारी सेवामै थिए। विनीलाई पनि सरकारी क्षेत्रमै पठाउने चाहना थियो उनको । उनका दिदी–दाइहरू सरकारी सेवा नै रोजे पनि उनले कला रोजिन्। एक क्रियटिभ क्षेत्र, जो विनीको स्वभावसँगै ठ्याक्कै मिल्थ्यो।
‘म माथि पनि सरकारी जागिर गर्नुपर्ने दबाब थियो। तर मैले आफ्नो मनले मागेको काम गरेँ,’ विनि बताउँछिन्।
विनिले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छिन्। तर सानैदेखि मनमा बसेको सिलाइ–बुनाइ र डिजाइनप्रतिको रुचिले उनलाई अन्ततः आफ्नै सपनातर्फ डोर्यायो।
विवाहपछि विनीले आफ्नो सपनालाई सार्थक बनाउने अवसर पाइन्। उनका श्रीमानले सपनामा उड्न पखेटा थपिदिए। त्यसपछि विनीले आफूभित्रको डिजाइनरलाई मलजल गर्न थालिन् र आज एक सफल डिजाइनरको रूपमा परिचित छिन्।
विनीलाई सुरुदेखि नै नेपालबाट निर्यात हुने कपडाप्रति चासो थियो। नेपालमै उत्पादन भएका कपडाहरू नेपालीले नै प्रयोग गर्न नसक्ने मूल्यमा बजारमा आएको देख्दा उनलाई सोच्न बाध्य बनायो—कसरी यी कपडालाई सुलभ मूल्यमा उपभोक्तासम्म पुर्याउन सकिन्छ?
उनका अनुसार हाल भारतीय बजारमा उत्पादन हुने कपडासँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादनलाई चुनौती छ। तर नेपालीले प्रयोग गर्न सक्ने मूल्यमा नेपाली कपडा बजारमा ल्याउन सकियो भने यो झनै सकारात्मक हुने उनी बताउँछिन्।
प्लास्टिकका रेसाबाट बनेका कपडाभन्दा नेपालमा उत्पादन हुने अर्गानिक कपडा छालाका लागि कम हानिकारक हुने विनीको भनाइ छ। ‘सस्तो मात्र हेर्नेभन्दा दीर्घकालीन रूपमा छालाको स्वास्थ्यलाई ध्यानमा राखेर कपडा छनोट गर्नुपर्छ,’ उनी सुझाउँछिन्।
‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने कुराको राम्रो उदाहरण विनी र उनको समूहको ‘अविर’ हो। विनी भन्छिन्, ‘नेपालमा काम गर्न सजिलो नहोला, पैसा छिटो नकमाइएला, तर यहाँ धेरै अवसर छन्। हामीले नेपाली बजारमा मात्र सीमित नभई विश्व बजारलाई लक्षित गरेर काम गर्न सक्छौँ। र यो आँट्यौँ भने पक्कै हुन्छ।’
सीमित स्रोत–साधनमै यति काम गर्न सकेको भन्दै भविष्यमा अझ राम्रो व्यवस्थापनका साथ अघि बढे अझ धेरै सम्भावना रहेको उनी बताउँछिन्। नेपालमा केही छैन भनेर विदेशिनुभन्दा सानोभन्दा सानो कुरामा पनि सम्भावना खोज्नु उपयुक्त हुने उनको भनाई छ।


