Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

‘जे गर्छ, कुर्सीले गर्छ’

‘जे गर्छ, कुर्सीले गर्छ’

आइतबार, माघ १८ २०८२
आइतबार, माघ १८ २०८२
  • काठमाडौं। आजको अघिल्लो पुस्ता टेक बहादुर श्रेष्ठसँग।

    images

    राजनीति, सामाजिक अवस्था र इतिहासबारे गहिरो रुचि राख्ने टेक बहादुर रिटायर प्रोफेसर तथा अनुसन्धाता हुन्। कुराकानीमा उनले नेताहरुको व्यवहार, चुनावी प्रक्रिया, जनता र सरकारबीचको जिम्मेवारी, र देशको विकासका विषयमा आफ्नो दृष्टिकोण व्यक्त गरेका छन्।

    देशलाई उन्नतितिर लानको लागि सबैभन्दा पहिलो भूमिका जनताकै हुने उनको भनाइ छ। जनता सचेत भए नेता पनि राम्रो हुने उनी बताउँछन्। ‘सामान्य जनता र विशेषगरी ग्रामीण भेगका मानिसहरूको अवस्था, असुविधा र समस्याहरू अझैँ ज्युँका त्युँ छ,’ उनी भन्छन्, ‘ त्यसैले यस्ता कुरालाई पार लाउन सबैभन्दा पहिला जनता सचेत हुनुपर्छ। राम्रो उमेदवार छान्नुपर्छ।’

    राजनीतिमा ईमानदारी, जिम्मेवारी लगायत कुरा आवश्यक हुने भन्दै उनले त्यस्तो नेता अहिलेसम्म नदेखिएको बताए।

    अब, यहाँ प्रस्तुत छ जग बहादुरले भनेको कुरा जस्ताको तस्तै;

    चुनाव आउँछ, उम्मेद्वारहरू देखिन्छन्। सबैले भन्छन्– म यस्तो गर्छु, उस्तो गर्छु, देश बनाउँछु, जनताको दुःख हटाउँछु। बोल्न सजिलो छ, तर गर्न गाह्रो। यही कारणले आज देशको मुख्य समस्या विकासभन्दा पनि नेतृत्वको नियत र व्यवहार बनेको छ। जनताले एक घण्टा, दुई घण्टा, कहिलेकाहीँ चार घण्टासम्म हिँडेर भोट हाल्छन्। त्यो भोटसँगै उनीहरूले ठूलो आशा बोकेका हुन्छन्। कम्तीमा पानी पिउन पाउने, आधारभूत सुविधा पाउने, आफ्नो समस्या सुन्ने नेता पाउने। तर चुनाव जितेपछि धेरै नेता फर्केर गाउँसम्म जान भ्याउँदैनन्। जनताको आशा विस्तारै निराशामा बदलिन्छ।

    कुर्सीमा नपुग्दासम्म नेताहरू जनतासँग निकै नजिक हुन्छन्। तर कुर्सीमा पुगेपछि उनीहरूको सोच, व्यवहार र प्राथमिकता बदलिन्छ। जति पायो, त्यति नै अझ पाउन चाहने मनोवृत्ति देखिन्छ। सत्ता सेवा होइन, सत्ताको खेल बन्न थाल्छ। चुनावका बेला गरिएका वाचा सम्झिनेभन्दा पनि सत्ता जोगाउने र विस्तार गर्ने सोच हाबी हुन्छ। यही कारण जनताको दैनिक जीवनमा खास परिवर्तन देखिँदैन। त्यसैले, जे गर्छ, कुर्सीले गर्छ।

    इतिहास हेर्दा पनि यो समस्या नयाँ होइन। भक्तपुरका राजा रणजित मल्लले छोडेको अभिलेख आज पनि उत्तिकै सान्दर्भिक छ। उहाँले भनेका छन्– राजा वा शासकले गल्ती गरे जनता र राज्य संयन्त्र मिलेर कारबाही गर्नुपर्छ, कर्मचारी वा भारदारले गल्ती गरे नेतृत्व र जनताले सुधार गर्नुपर्छ, र जनता स्वयं लापरवाह भए राज्यले अनुशासनमा ल्याउनुपर्छ। यही सन्तुलन कायम भए मात्र देश चल्छ। आज त्यो सन्तुलन कमजोर हुँदै गएको देखिन्छ।

    विकासको कुरा गर्दा नेपालभित्रै ठूलो असमानता देखिन्छ। पूर्वतिर जाँदा खेतीयोग्य जमिन, पानीको सुविधा र अपेक्षाकृत सुखी जीवन भेटिन्छ। तर पश्चिम नेपालतिर जति जति बढ्दै गयो, त्यति नै अभाव र पीडा देखिन्छ। दैलेख, रुकुम, जुम्लाजस्ता ठाउँमा मानिसहरूलाई पानी पिउन घण्टौँ हिँड्नुपर्छ। खेतीयोग्य जमिन छैन, बस्ती सर्नुपर्ने अवस्था छ। पानीजस्तो आधारभूत आवश्यकतासमेत पूरा नहुँदा विकासका ठूला भाषण अर्थहीन लाग्छन्। कतिपय ठाउँमा तलको पानी लिफ्ट गरेर माथि पुर्‍याएपछि मात्र मानिसहरू शान्तसँग बस्न सकेका उदाहरण छन्। यसले देखाउँछ- विकास भनेको ठूला योजना होइन, जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो।

    आजको अर्को ठूलो समस्या जनताको विभाजन हो। एमालेको जनता अलग, कांग्रेसको अलग, माओवादीको अलग। प्रधानमन्त्री जुन दलको भए पनि अर्को दलले विरोध गर्छ। यसरी दलगत विभाजन हुँदा जनताको साझा माग ओझेलमा पर्छ। जबसम्म जनता दलभन्दा माथि उठेर आफ्नो हक र आवश्यकताका लागि एक हुँदैनन्, तबसम्म देश बन्न सक्दैन।

    नयाँ पुस्ता र नयाँ पार्टीहरूबाट जनताले आशा गरेका छन्। भ्रष्टाचार अन्त्य गर्ने, सुशासन ल्याउने, देश विकास गर्ने इच्छा उनीहरूमा छ। उद्देश्य खराब छैन, तर कार्यान्वयन कमजोर देखिन्छ। यदि सबै युवाहरू इमानदार रूपमा एकजुट भए भने परिवर्तन सम्भव छ। म इतिहासको विद्यार्थीको भएकोले नेपालको विगत राम्रोसँग अध्ययन गरको छु। इतिहासका आन्दोलनहरूले पनि यही देखाएका छन्– इच्छा मात्र पर्याप्त हुँदैन, निरन्तरता र इमानदारी चाहिन्छ।

    देश कहिले बन्छ भन्ने प्रश्नको उत्तर सरल छ। नेताहरूले दिएका आश्वासन पूरा गरे, जनता सचेत र एक भए, र इतिहासबाट पाठ सिकियो भने मात्र देश बन्छ। आश्वासन होइन, उत्तरदायित्वको राजनीति आजको आवश्यकता हो। पानी पिउन पाउनेजस्तो सामान्य अधिकार पूरा हुनु नै अहिलेको सन्दर्भमा सबैभन्दा ठूलो विकास हो। जनता चनाखो भए मात्र देशले सही दिशा लिन्छ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij