Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

स्टेरिङले धानेको जीवन

स्टेरिङले धानेको जीवन

स्टेरिङले धानेको जीवन

आइतबार, माघ ११ २०८२
आइतबार, माघ ११ २०८२
  • काठमाडौँ । काठमाडौँका सडकहरू सधैँ हतारमा हुन्छन् । ठेलमठेल भिडभाड, सवारी साधनको लामो लस्कर अनि कर्कश हर्नको आवाज । यही कोलाहलभित्र एउटा  टेम्पो डोहो¥याउँदै अगाडि बढ्ने बाटो खोज्दै छिन गिता गुरुङ ।
    गिताको हातमा टेम्पोको स्टेरिङ मात्र छैन,  परिवारको भविष्य र छोराको सुन्दर सपना पनि छ । पछिल्लो १० वर्षदेखि काठमाडौँको सडकमा टेम्पो कुदाइरहेकी गिता अहिले एक अनुभवी चालिका भइसकेकी छिन् । 

    images

    सन्तानले राम्रो शिक्षा पाऊन् र भविष्य उज्ज्वल बनोस् भन्ने चाहना कसको हुँदैन र? यही सपना पछ्याउँदै गिताको परिवार गोरखाको गाउँ छाडेर राजधानी छिरेको थियो । काठमाडौँको महँगी र व्यस्त जीवनमा टिक्न सजिलो थिएन । तर, गिताले हार मानिनन् । उनले तीन पाङ्ग्रे टेम्पोको स्टेरिङ समात्ने निर्णय गरिन् ।

    आज उनका छोरा १६ वर्षका भए । कक्षा १० मा पढ्दै गरेका छोराको लगनशीलता देख्दा गिताका सबै दुःख बिर्सिन्छन् । “आमाबाबुले गरेको सङ्घर्ष छोराले बुझेको छ,“ छोराको कुरा गर्दा गिताको अनुहारमा एउटा गर्विलो मुस्कान छाउँछ । आफ्नो र श्रीमानको संयुक्त कमाइले परिवारसँगै बसेर मिठो–मसिनो खान पाएकोमा उनी सन्तुष्ट छिन् ।
    सडक सबैका लागि समान भए पनि महिला चालकका लागि भने व्यवहार सधैँ समान हुँदैन । गिताले कार्यक्षेत्रमा भोग्नुपर्ने समस्याका आफ्नै फेहरिस्त छन् । कतिपय पुरुष यात्रुहरू नियम र मर्यादा मिचेर अगाडिको सिटमा बस्न खोज्छन् । नबस्नुस् भन्दाभन्दै जबरजस्ती गर्दा उनी कहिलेकाहीँ निशब्द बन्छिन् ।

    त्यति मात्र होइन, सडकमा गुड्ने अन्य सवारी चालकहरूको व्यवहार झन् रुखो हुन्छ । “सानो गल्ती हुँदा पनि महिला भएकै कारण तुच्छ शब्द प्रयोग गरेर गाली गर्छन्,“ उनी आफ्नो अनुभव सुनाउँछिन् । तर, ती गाली र अवरोधहरूले उनलाई रोक्न सकेका छैनन् । उनी समाजको संकुचित सोचलाई अर्काे पाटोमा छाडेर आफ्नो कामको गतिलाई निरन्तरता दिइरहन्छीन् । 

    चुनौतीका बीच गितालाई ऊर्जा दिने माध्यम भनेकै उनका यात्रुहरू हुन् । विशेष गरी महिला यात्रुहरूले जब उनको कामको प्रशंसा गर्छन्, तब उनलाई आफ्नो पेशाप्रति झन् गर्व लाग्छ । “दिदी, तपाईंले राम्रो गर्नुभएको छ“ भन्ने वाक्यले उनलाई दिनभरिको थकान मेटाउन मद्दत गर्छ ।
    आजभोलि धेरै नेपाली युवाहरू भविष्य खोज्दै परदेशिने लहर छ । तर, गिताको भोगाइ अलि फरक छ । पारिवारिक ममतालाई थाँती राखेर खाडीको तातो घाममा पसिना बगाउनु धेरैको बाध्यता होला, तर नेपालमै बसेर मेहेनत गर्ने हो भने जीविका चलाउन सकिने उनको विश्वास छ ।

    गिता गुरुङ आज एक सामान्य टेम्पो चालक मात्र होइनन्, उनी ती हजारौँ महिलाका लागि प्रेरणा हुन् जो केही गर्ने आँट त राख्छन् तर समाजको डरले पछि हट्छन् । गिताको १० वर्षे सडक यात्राले सिकाउँछ— काम सानो वा ठुलो हुँदैन, मेहेनत र इमानदारिता भए आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij