काठमाडौं। माइतीघर मण्डलामा जारी विरोध प्रदर्शन र अनसनका बीच जेनजी अभियन्ता प्रकाश शर्मासँग कुराकानी गर्यौँ। उनले नेपालको वर्तमान राजनीतिक तथा आर्थिक संकटको समाधानका लागि पाँच वर्षको स्थिर सरकार र पूर्ण राजनीतिक स्थिरता अनिवार्य रहेको बताए।
मण्डलामा भइरहेका गतिविधिका बीच आफ्नो धारणा राख्दै शर्माले भने, ‘७६ जनाको बलिदान केवल सत्ता परिवर्तन वा केपी ओलीको ठाउँमा अर्को व्यक्ति (सुशीला वा अन्य कोही) ल्याउनका लागि मात्र भएको होइन। यो त सुशासन कायम गर्न र वर्षौँदेखिको अस्थिरता अन्त्य गर्नका लागि भएको हो।’
शर्माले वर्तमान निर्वाचन प्रणालीको आलोचना गर्दै आहिलेकै अवस्थामा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे। ‘६–६ महिनामा सरकार परिवर्तन भइरहने प्रणालीले देश चल्दैन,’ उनले भने, ‘यसका लागि संविधान संशोधन अनिवार्य छ। चुनावले मात्र निकास दिन सक्ने भए अहिलेसम्म पाइएकै हुन्थ्यो, तर अहिलेको अवस्थामा चुनावले झन् ठूलो अस्थिरता निम्त्याउने खतरा छ।’
उनका अनुसार केही समयका लागि संविधान निलम्बन गरी सर्वपक्षीय सहमतिमा अन्तरिम संसद् गठन गर्नुपर्छ। उक्त संसद्ले संविधानमा आवश्यक सुधार गरेपछि मात्र चुनावमा जानुपर्छ। उनको विचारमा उक्त संसद्मा राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ता (जेन–जी) को प्रत्यक्ष प्रतिनिधित्व हुनुपर्छ।
मुलुकमा सुशासन कायम गर्न ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ। भुटानी शरणार्थी काण्ड, ललिता निवास र गिरिबन्ध टी–स्टेट जस्ता प्रकरणमा संलग्न जो–कसैलाई कारबाही गर्न उच्चस्तरीय, अधिकारसम्पन्न भ्रष्टाचार निवारण आयोग गठन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाललाई लामो समयदेखि राजनीतिक प्रयोगशाला मात्र बनाइएकोमा आपत्ति जनाउँदै शर्माले अब स्थिरतातर्फ लाग्नुपर्ने बताए। पुराना दल र तिनका नेताहरूबाट मात्रै निकास सम्भव नरहेको तर्क गरे। उनले देशको निकासका लागि सबै पक्षको साझा एजेण्डा सहित अगाडि बढ्न अपिल समेत गरेका छन्।


