काठमाडौं। काठमाडौँको बालुवाटार क्षेत्र। सडकको एक कुनामा गाडामा सुन्तला बेचिरहेका एक वृद्ध भेटिए। उनको अनुहारमा जीवनका उकाली-ओरालीका रेखाहरू प्रष्ट देखिन्थे।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१० का यी वृद्धले जीवनका ५० वसन्त पार गरिसकेका छन्। आफ्ना छोराहरूको भविष्य उज्यालो बनाउने एउटै सपना बोकेर उनी वर्षौँअघि राजधानी छिरेका थिए। तर, काठमाडौँको यात्रा सोचेजस्तो सहज कहाँ थियो र! सुरुका दिनमा उनले हातेगाडा तानेरै जीविकोपार्जन गरे। पछि जोरपाटीमा किराना पसल र महाराजगन्जस्थित टिचिङ अस्पताल क्षेत्रमा झण्डै १९ वर्षसम्म फलफूल पसल चलाए।
सङ्घर्ष जारी थियो, तर भाग्यले उनलाई अलिकति ठगिदियो। व्यापारमा ८ देखि १० लाख रुपैयाँको ठुलो घाटा लागेपछि ऋण तिर्न उनले आफ्नो जायजेथासमेत बेच्नुपर्यो। अहिले उनी बालुवाटारमा मासिक १४ हजार रुपैयाँ भाडा तिरेर बस्छन् र त्यही गाडामा सिजन अनुसारको व्यापार गरेर छोराहरूको पढाइ खर्च जुटाइरहेका छन्। उनका दुई छोराहरू स्नातक (बीए) र कक्षा १२ मा अध्ययनरत छन्।
व्यापारकै क्रममा उनले धेरै नमिठा घटनाहरू भोगेका छन्। २०७९ असार १७ गते, महानगर प्रहरीले उनको मकैसहितको गाडा नियन्त्रणमा लियो। महानगरले गाडा खोसेको त्यो पहिलो पटक थियो। त्यसपछि पनि गाडा खोस्ने क्रम नरोकिएको उनी बताउँछन्। उनका अनुसार अहिलेसम्म महानगरका कर्मचारीले ६ वटा गाडा लगिसकेका छन्। गाडा खोस्नु एउटा घटना मात्र होला, तर त्यो खोसिँदाको पीडा उनलाई मात्र थाहा छ। त्यस्तो आपतको समयमा सञ्चार माध्यमले आफ्नो दुःख देखाइदिएर साथ दिएकोमा उनी कृतज्ञता व्यक्त गर्छन्।
हामीसँगको कुराकानीमा उनले पुराना नेताहरूप्रति अब कुनै भरोसा नभएको बताए। नेताहरूले गरिबका दुःख नदेखेकोमा उनको ठुलो गुनासो छ। ‘३०–३५ वर्षसम्म एउटै पुराना अनुहारहरूले देश चलाएको देख्दा दिक्क लाग्छ,’ उनी भन्छन्।
उनको राजनीतिक चेत आफ्नै अनुभवले खारिएको छ। २०५४ सालदेखि राप्रपा समर्थक रहेका उनी पछि नेपाली कांग्रेसमा आबद्ध भए। पशुपति शमशेर राणाले गाउँमा पुर्याएको बिजुली र बाटोको विकासलाई उनी अझै श्रद्धाका साथ सम्झिन्छन्।
अबको नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा उनको धारणा प्रष्ट छ। उनी भन्छन्, ‘अब ७० वर्ष काटेका बुढा नेताहरूले होइन, असल र शिक्षित युवाहरूले देश चलाउनुपर्छ।’ बालेन शाह वा रास्वपा जस्ता नयाँ शक्तिप्रति उनीमा केही आशा त पलाएको छ, तर ती पनि कालान्तरमा पुराना दलकै बाटोमा लाग्ने हुन् कि भन्ने संशयले उनलाई छोडेको छैन।
आउँदो नेतृत्वप्रति यी वृद्धको अपेक्षा सामान्य छ। उनी यत्ति चाहन्छन्– राज्यले साना व्यापारीलाई ‘गरिखाने वातावरण’ बनाइदेओस्। मुख्य सडक वा जाम हुने ठाउँमा व्यापार गर्न नदिए पनि, भित्री सडकहरूमा निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने उनको माग छ।


