काठमाडौं। आजभोलि नेपाली समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिने संस्कार घट्दै गएको छ। यसो भन्नेहरु नयाँ पुस्ता नै यसको जिम्मेवार हुन् जस्तो मान्छन्। अर्थात्, ज्येष्ठ नागरिक आफ्ना सन्तानबाटै असम्मानित हुन्छन् भन्छन्। तर ललितपुरका विष्णुप्रसाद पौडेल अलि फरक मत राख्छन्। भन्छन्- ‘सम्मान पाउने कुरा त आफैँमा निर्भर हुन्छ ।’
सन्तानलाई समयमै राम्रो संस्कार सिकाएमा बुढ्यौलीमा समस्या नहुने उनी बताउँछन्। ज्येष्ठ नागरिकलाई सम्मान र संस्कार अति जरुरी भएको बताउने उनी यो कुरा घरबाटै सुरु हुनुपर्नेमा जोड दिन्छन्। कहिलेकाहीँ ज्येष्ठ नागरिकको आफ्नै 'अहम्' ले समस्या निम्त्याउने उनी बताउँछन्।
विष्णुप्रसाद पौडेल वि.सं. २०६८ देखि ललितपुरको धापाखेल ज्येष्ठ नागरिक समाजमा सचिवको रूपमा अनवरत सेवामा छन्। ज्येष्ठ नागरिकको हकहितका लागि सक्रिय रहँदा उनले एउटा तितो यथार्थ भोगेका छन्- ‘ज्येष्ठ नागरिकका लागि नियम र कानुन त सिंहदरबारमा बन्छन्, तर ती व्यवहारमा पूर्ण रूपमा लागू हुँदैनन्। कति यस्ता ज्येष्ठ नागरिक छन्, जसलाई सरकारले आधारभूत सेवामा समेत पहुँच बढाउन सकेको छैन्।’ गत पुष ११ गतेको ज्येष्ठ नागरिक दिवशको अवसरमा सरकारको तर्फबाट काठमाडौँमा भएको कार्यक्रम भईरहेको थियो। यसै बिच हामीसँग कुराकानी गर्दै उनी यसो भनिरहेका थिए। परिवारमा सम्मान नपाउने समस्या त छँदैछ, सरकारले पनि ज्येष्ठ नागरिकलाई सम्मान दिन नसकेको उनको अनुभव छ।
सार्वजनिक यातायातमा सिट र छुटको अभावदेखि अस्पतालहरूमा हुने उपेक्षासम्मले उनलाई समाजको वास्तविक अवस्था महसुस गराएको छ। अहिलेको बदलिँदो समयबारे उनी जानकार छन्। प्रविधिलाई नकार्न नसकिने भन्छन्। ‘तर मोबाइल लगायतको धेरै प्रयोग राम्रो होइन्,’ उनी भन्छन्। उनी डिजिटल समयलाई 'घोप्टे युग' को संज्ञा दिन्छ्। उनलाई लाग्छ- मोबाइलमा व्यस्त रहने युवा पुस्ता र ज्येष्ठ नागरिकबीच संवादको दूरी बढ्दै गयो। ज्येष्ठ नागरिकप्रति बेवास्ता बढ्नुको एक कारण यसला मान्छन् उनी।
उनले नेतृत्वमा रहेको संस्थाले ज्येष्ठ नागरिकहरूको एक्लोपन हटाउन भजन-कीर्तन, स्वास्थ्य प्रवचन र जन्मदिन मनाइदिने जस्ता प्रशंसनीय कार्यहरू गर्दै आएको छ।
धुलिखेलको एउटा सामान्य किसान परिवारमा जन्मिएका पौडेलको बाल्यकाल अभाव र कडा परिश्रमका बीच गुज्रियो। त्यस समयमा शिक्षा प्राप्त गर्नु आफैँमा चुनौतीपूर्ण थियो। विद्यालय पुग्नकै लागि उनले दैनिक घण्टौँ पैदल यात्रा गर्नुपर्थ्यो। आर्थिक विपन्नताका कारण उनले आफ्नो औपचारिक शिक्षालाई आठ कक्षाभन्दा अगाडि बढाउन सकेनन्, यद्यपि सोही समयमा उनले केही कर्मकाण्डको व्यावहारिक ज्ञान भने लिइसकेका थिए, आफ्नो बुबाबाट।
वि.सं. २०४० सालमा आफ्नो भविष्य खोज्दै गाउँ छोडेर काठमाडौँ छिरेका उनले त्रिपुरेश्वर र लगनखेललाई आश्रयस्थल बनाउँदै विभिन्न निजी कम्पनीहरूमा काम गरे। भृकुटी पेपर मिलमा १० वर्ष सेवा गरे र पछि पसल तथा गाडी व्यवसायमा पनि हात हाले। व्यवसायका सबै क्षेत्रमा सोचेजस्तो सफलता नमिल्दा पनि उनी विचलित भएनन् र आफ्नो कर्मलाई निरन्तरता दिइरहे।
आफ्नो जीवनको लामो अनुभव र भोगाइबाट पौडेलले ‘सन्तोषी सदा सुखी’ भन्ने एउटा महत्वपूर्ण पाठ सिकेका छन्। विगतका दुःखलाई धेरै कोट्याएर बस्नुभन्दा वर्तमानमा खुसी खोज्नुपर्छ र मनमा सन्तोष राख्नुपर्छ भन्ने उनको सरल जीवन दर्शन छ। उनी भन्छन्, ‘खुसी हुनका लागि धेरै धनसम्पत्ति भन्दा पनि मनको शान्ति र आफ्ना माता-पिता एवं मान्यजनको सम्मान गरे पुग्छ।’
उनी नयाँ पुस्तालाई अर्ती दिन्छन्- आमाबुबालाई सम्मान देऊ!


