Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

'भुट्टो एक बहाना है, प्रजातन्त्र को लाना है'

'भुट्टो एक बहाना है, प्रजातन्त्र को लाना है'

सोमबार, पुस ७ २०८२
सोमबार, पुस ७ २०८२
  • काठमाडौं। काठमाडौं स्थित नक्साल चौरमा आराम गर्न आउनेको भीडबिच भेटिए एक पाका मान्छे। उनले नेपालको राजनीतिक इतिहास, आन्दोलनहरू र वर्तमान सामाजिक-राजनीतिक अवस्थाबारे आफ्ना अनुभव र विचारहरू व्यक्त गरेका छन्। उनीसँग नेपालको विगतको राजनीतिक संघर्ष र वर्तमानको नैतिक पतनको चर्चा भएको छ।

    images

    उनले तथ्यसहित यसरी विश्लेषण गरे कि कोहि विश्लेषक जसरी। पछि थाहा भयो, उनको नाम श्रीदास दाहाल।  ऊ बेला वनारसमा पढेका उनले राजनीतिशास्त्रमै एमए गरेका रहेछन्। आफ्नो सक्रिय जीवनकालमा उनले अलिकति राजनीति र अलिअलि पत्रकारिता गरेछन्। बुढ्यौलीमा भने उनी 'फ्रिलेन्सर' का रुपमा विभिन्न पत्रपत्रिकामा लेख्छन्।

    भर्खरै मात्र नेपालमा जेनजीले आन्दोलन गरे। आन्दोलनले नेपालमा कहिल्यै नसोचेको उलटपुलट ल्याइदियो। हुन त यसअघि पनि आन्दोलनले सत्तापलट नगरेका होइनन्, तर यो आन्दोलन किन पनि अरूभन्दा फरक भयो भने यो जेनजी (१३ देखि २८ उमेर समूह) ले गरेका थिए।

    युवाकै नेतृत्वमा नेपालमा यसअघि पनि आन्दोलन भएका हुन्। जसमध्ये सधैँ चर्चामा रहने आन्दोलन हो- विद्यार्थी आन्दोलन। दाहालका अनुसार पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई झुण्ड्याइएपछि नेपालमा विद्यार्थी आन्दोलन चर्किएको थियो। त्यसबेला 'भुट्टो एक बहाना है, प्रजातन्त्र को लाना है' भन्ने नारा तराईदेखि काठमाडौँसम्म गुञ्जिएको थियो। यही आन्दोलनको दबाबका कारण राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्य भएका थिए।

    उनका अनुसार नेपालमा धोकाको राजनीति सात सालदेखि नै सुरु भएको हो। दिल्ली सम्झौताका क्रममा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाललाई आफ्नो प्रभावमा राख्न बीपी कोइरालालाई बाइपास गरेर राजा त्रिभुवन र मातृकाप्रसाद कोइरालालाई मात्र सामेल गराएका थिए ।

    राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन हातमा लिए। दाहालका अनुसार त्यसबेला एसियाका अन्य देशहरूमा पनि तानाशाही व्यवस्था आउने लहर चलेको थियो ।

    दाहालको विचारमा राष्ट्रिय एकता र संस्कृतिको जगेर्नाका लागि राजतन्त्र चाहिन्छ किनभने शाह वंशीय राजाहरूले नै नेपाललाई एक बनाएका हुन् । तर, विकासका लागि भने प्रजातन्त्र (डेमोक्रेसी) अनिवार्य छ। उनले बीपी कोइरालाको 'सेरेमोनियल किङ' र बहुदलीय व्यवस्थाको धारलाई सही मानेका छन्।

    उनले राजा महेन्द्रको 'इगो' (अहंकार) का कारण ऋषिकेश शाह संयुक्त राष्ट्र संघको महासचिव हुन नपाएको उल्लेख गरेका छन्, जसले गर्दा नेपालले ठूलो अवसर गुमाएको थियो।

    जति नै संघर्ष, बलिदानी र आन्दोलन भए पनि त्यसले धेरै ठुलो परिवर्तन ल्याउन नसकेको दाहाल बताउँछन्। उनको विचारमा अहिलेका नेताले राजनीतिलाई नै कमाउने माध्यम बनाए 'पहिले राजनीतिमा लाग्नु भनेको त्याग र जोखिम लिनु थियो, तर अहिले राजनीति पैसा कमाउने 'पेसा' बनेको छ' उनी भन्छन्।

    उनलाई अहिलेका मानिसमा पनि सेवाभाव कम भएको लाग्छ,'पहिलेका मानिसहरू आर्जनको केही हिस्सा दान गर्नुपर्छ भन्ने मान्यता राख्थे, तर अहिले मानिसहरूमा आवश्यकता भन्दा बढी लोभ बढेको छ।' जसरी पनि पैसा कमाउने र विदेश जाने प्रवृत्तिका कारण नेपालीहरूको संसारभर रहेको 'वीर' र 'इमान्दार' पहिचान ध्वस्त हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।

    जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारको विषयमा कम बोल्नु नै उपयुक्त लाग्छ उनलाई। ६ महिनाको म्यान्डेट दिइएको र तीन महिना मात्र बितेकाले तत्कालै यसलाई असफल भन्न नमिल्ने उनको तर्क छ। तर यदि तोकिएको समयमा चुनाव गराउन सकेन भने सरकार असफल ठहरिने उनले बताएका छन्।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij