काठमाडौं। 'पार्टीको अध्यक्ष छान्ने कार्यक्रम छ रे। कसको पो हो !'
काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको महाधिवेशनमा आएका फुटपाथ व्यापारीको अभिव्यक्ति हो यो। भित्र ठुला नेताको जमघटमा एमालेको बन्द सत्र चल्दै थियो। केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै गुट विभाजित थिए। बन्द सत्र बाहिर दुबै समूहका एमाले कार्यकर्ताको बाक्लो भीड थियो। त्यहि भीडमा देखिन्छन् फुटपाथ व्यापारीहरू।
खास त्यहाँ के हुँदैछ, यो कुरामा बेखबर उनीहरू आफ्नै ध्याउन्नमा थिए। उनीहरूलाई बस्, व्यापार गर्नु थियो। दुई छाकको लागि खर्च जुटाउनु थियो। महाधिवेशनको छेको पारेर व्यापार गर्न आउनेको उपस्थिती उल्लेख्य थियो।
कोही डुल्दै - ठुलो स्वारमा आवाज लगाउँदै थिए- 'बदाम आयो, बदाम !' कोहि सडक छेऊमा लहरै बसिराखेका थिए। कसैले चटपट बेचिरहेका थिए भने कसैले काँक्रो बेच्दै थिए । डुलाउँदै किताब बेच्नेहरू पनि त्यहाँ देखिन्थे।
महाधिवेशन एमालेका कार्यकर्ताको लागि छुट्टै उत्सवको विषय थियो। तर त्योभन्दा ठुलो उत्सब त्यहाँका व्यापारीलाई थियो। उनीहरूलाई सहजै ग्राहक उपलब्ध थिए।
हामीले ती व्यापारीलाई सोध्यौँ- व्यापार कस्तो भइराखेको छ ?
प्राय खुसी देखिन्थे, व्यापार भएकोमा । केहिले भने भर्खरै आएकोले व्यापार नभएको बताए ।
अनि हामीले एमाले महाधिवेशनबारे सोध्यौँ। तर प्रायले आफुलाई थाहा नभएको कुरा सुनाए। उनीहरूमध्ये प्रतिनिधि उत्तर यस्ता छन्-
-कुन चाहिँ पार्टीको अध्यक्ष छान्ने कार्यक्रम छ रे!
-मलाई त केहि थाहा छैन। म त व्यापार हुन्छ कि भनेर मात्र आएको ।
-खै, के हो!
-एमालेको महाधिवेशन छ भन्ने सुनेकी थिएँ। एमालेका केन्द्रिय नेता छान्ने कुरा छ।
यत्तिको थाहा भएकोलाई हामीले अर्को प्रश्न गर्यौँ- ओली र पोखरेलमध्ये को अध्यक्ष होस् भन्ने लाग्छ तपाईँलाई ?
-जो भए पनि देशलाई राम्रो गर्ने मान्छे आउनुपर्छ।
खास, उनीहरूको चाँसोको विषय एमालेको अध्यक्षमा को आउनुपर्ला भन्ने थिएन। जता भीड, उतै व्यापारको लागि जाने यी फुटपाथ व्यापारीको लागि व्यापार गर्न सक्नु र त्यसबाट एक छाक जोड्न सक्नु नै ठुलो कुरा हो।
काठमाडौँका फुटपाथमा व्यापार गर्नेलाई अहिले सास्ती नै सास्ती छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि आफुलाई समस्या भएको उनीहरू बताउँछन्। महानगरबाट विभिन्न समस्या भोगेका उनीहरूलाई एमाले महाधिवेशन ठुलो बजार भयो।


