धुम्बाराहीको एनक्लेक्स सेन्टरमा हामीले रक्षा अधिकारीलाई भेट्यौं । उनीसंग हामीले युवा अवस्थामा हुने मानसिक तनावको बारेमा कुरा ग¥यौ।
उनी भन्छिन् ‘मानसिक स्वास्थ्य भन्ने कुरालाई नकार्नु भएन है, यसलाई चाहिँ नेग्लिजेन्स गर्नु नै भएन। जसरी तपाईको शाररिक स्वास्थ्य महत्वपूर्ण छ, त्यसरी नै तपाईको मानसिक स्वास्थ्य पनि महत्वपूर्ण छ ।’
मानसिक स्वास्थ्य भनेको एउटा एकदमै वृहत विषय हो, जसको सरल परिभाषा यस्तो छ आफ्नो व्यवहारहरु, सोचाईहरु नै मानसिक स्वास्थ्य हो । यो सन्तुलन कायम भएन भने दैनिक जीवनमा तनाव व्यवस्थापन गर्ने र सही निर्णय लिने क्षमतामा ह्रास आउँछ ।
युवा भनेको देशको मेरुदण्ड र परिवर्तनको बाहक भएकाले उनीहरूको मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर, आजका युवाहरू विशेषगरी दुईवटा कारणले गम्भीर मानसिक दबाब झेलिरहेका छन् ।
करिअरको दबाबः भविष्यको सुनिश्चितता र आफ्नो कामको सिलसिलामा रहने निरन्तरको दबाबले युवाहरूलाई मानसिक रूपमा थकाएको छ । यसका साथै सामाजिक सञ्जालको देखासिकीले पनि युवा पुस्तामा तनाव बढाइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरूले देखाउने ‘उत्कृष्ठ जीवनशैली’ जुन प्रायः असम्भव हुन्छ त्यस्तै जीवनशैलीसँग आफ्नो वास्तविक जीवन र उपलब्धिहरूको तुलना गर्दा निराशा उत्पन्न हुन्छ । अरूले घुमेको, खाएको, वा सफलता प्राप्त गरेको देख्दा आफैँ किन पछि परें भन्ने भावनाले युवामा मानसिक समस्या बढाएको छ ।
मानसिक स्वास्थ्य र निन्द्रा भनेको अत्यन्तै नङ र मासु जस्तो सम्बन्ध हुने उनी बताउँछिन्। निद्रालाई गाँस, बास र कपास जस्तै जीवनको आधारभूत आवश्यकता मान्छिन् उनी । युवालाई स्वस्थ रहन २४ घण्टामा कम्तीमा ६ देखि ८ घण्टाको निद्रा आवश्यक हुन्छ । पर्याप्त निद्रा नहुँदा दैनिक काम गर्ने क्षमतामा कमी आउने, अत्यधिक रिस उठ्ने, चिडचिडाहट हुने, र मस्तिष्कमा सोच्न नसक्ने समस्या देखिन्छन् ।
यदि कुनै पनि बेला आफूलाई अत्यधिक रिस उठेको, भावुक भएको, वा आफ्नो भावनात्मक अवस्था ठीक नभएको महसुस भएमा तुरुन्तै सहयोग माग्नुपर्छ । ‘आफूलाई केहि अप्ठ्यारो भएको, आफ्नो इमोसनहरु ह्यान्डल गर्न गाह्रो भएको या केहि कुनै पनि त्यस्तो खालको महसुस हुनासाथ यसलाई सेयर गर्न चाहिँ हिच्किचाउनु भएन’ उनी भन्छिन् ।
आफूमा उत्पन्न भएको तनाव व्यवस्थापन गर्नको लागि परिवार, साथीभाइ, वा अग्रजहरूसँग कुरा गर्न सकिन्छ । त्यसबाट पनि समाधान नभएमा मनोविद वा चिकित्सकको सल्लाह लिन आवश्यक छ । मानसिक समस्यालाई लिएर गरिने सामाजिक ‘हेट’ वा ’कमजोर’ ठान्ने प्रवृत्ति १००% गलत हो, समाजले सबै मिलेर सहयोग र मोटिभेट गर्नुपर्ने दायित्व छ ।


