काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल जीवनको अपरिहार्य हिस्सा बनिसकेको छ । तर, यसको प्रयोगले मानिसको दैनिकी र मानसिकतामा कस्तो प्रभाव पारिरहेको छ त? हामीले सुजता चालिसेसँग यसै विषयमा जान्ने विचार ग¥यौं । उनी भन्छिन् , ‘सामाजिक सञ्जालको नकरात्मक र सकारात्मक प्रभाव बराबरी छन् ।उनको यो भनाइले सारा नेपालीहरूको विचारलाई समेटेको छ । फेसबुकमा सूचनाको पहुँच र समयको बर्बादी एकसाथ चलिरहेको उनी बताउँछिन् ।
सामाजिक सञ्जालले जीवनलाई सहज बनाएकोमा कुनै शङ्का छैन । देश र विदेशमा के भइरहेको छ भन्ने कुरा हामीले तुरुन्तै थाहा पाउँछौँ । सुजताको विचारमा हामीले फेसबुकमार्फत न्यूजहरू तत्काल थाहा पाउछौँ । हामी अपडेटेड भइराख्छौँ । यसले ज्ञान प्राप्त गर्न मद्दत गर्छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको बारेमा जानकारी दिइरहन्छ ।
यति मात्र होइन, सामाजिक सञ्जाल साथीभाइ र आफन्तसँगको सम्बन्धलाई जोड्ने माध्यम पनि बनेको छ । सधैँ भेटघाट सम्भव नभए पनि च्याट, म्यासेज र भिडियो कलमार्फत उनीहरूसँग जोडिन मद्दत पुगेको उनको अनुभव छ ।
तर, सामाजिक सञ्जालको सबैभन्दा ठूलो चुनौती यसको लत हो । मोबाइल हातमा लिएपछि निरन्तर ‘स्क्रोल’ गरिरहन मन लाग्नु एउटा सामान्य बानी भइसकेको छ । उनी भन्छिन्, ‘बानी नै भएको जस्तो हुन्छ नि त हामीलाई अब बानी परिसकेको छ। एकछिन भए पनि स्क्रोल गर्ने भन्ने हुन्छ नि त ।’
यो बानीले व्यक्तिगत जीवनमा गम्भीर असर पारिरहेको छ । काम गर्ने समयमा होस् या फुर्सदमा, यसले समय बर्बाद गरिरहेको उनी स्विकार्छिन् । कतिपय अवस्थामा त घर परिवारलाई समेत पर्याप्त समय दिन नसकिएको गुनासो उनी गर्छिन्, ‘म मोबाइल हेर्दा त अलि एकहोरो भए जस्तो हुन्छु ।’
शारीरिक स्वास्थ्यमा पनि यसको नकारात्मक प्रभाव देखिएको छ । धेरै स्क्रिनमा हेर्दा आँखा र टाउको देख्नेजस्ता समस्या भोग्नुपरेको उनको भनाइ छः ‘आँखालाई चाहिँ एकदम असर गर्छ जस्तो लाग्छ मलाई ।’
सामाजिक सञ्जालमा रहेका नकारात्मक सामग्री, विशेषगरी नक्कली समाचार र अप्रिय भिडियोहरूले समाजमा नकारात्मक असर पारिरहेको हुन्छ । बालबालिकाको मानसिकतामा पनि यसले गलत प्रभाव पार्न सक्छ ।
यसका साथै, गोपनीयता को विषय पनि महत्त्वपूर्ण छ । आफू एक्लै भएको कुरा वा दैनिक निजी जीवनका हरेक गतिविधिहरू पोस्ट गर्नु खतरनाक पनि हुन्छ । ‘आफ्नो प्राइभेसी चाहिँ मेन्टेन नै गर्नुपर्छ,’ उनी भन्छिन् । सञ्जालको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्नका लागि आत्म–अनुशासन सबैभन्दा महत्वपूर्ण हुन्छ । उनी आफ्नो अनुभव सुनाउँछिन ‘यसको लतबाट छुटकारा पाउन पुस्तकहरू पढ्ने वा अध्ययनमा ध्यान केन्द्रित गरेर माइन्डलाई डाइभर्ट गर्न सकिन्छ ।’ सामाजिक सञ्जाललाई पूर्ण रूपमा छोड्नुपर्छ भन्ने होइन । यो हाम्रो आवश्यकता बनिसकेको छ । तर, यसलाई आफ्नो ‘फ्री टाइम’ मा मात्र सीमित गर्नुपर्ने र यसलाई सावधानीपूर्वक चलाउनुपर्ने उनी बताउँछिन् ।


