काठमाडौँ । काठमाडौँको महाराजगञ्जमा जन्मेर ६ वर्षको उमेरदेखि ११ वर्षसम्म राजदरबार अहिलेको शीतल निवास मा हुर्केकी लक्ष्मी शर्माको जीवन यात्रामा उतारचढाव र प्रेरणाका अनेकौँ घटनाहरू छन् ।
लक्ष्मी शर्माको बाल्यकाल नै कठोर मोडबाट गुज्रियो । छोरी रजस्वला हुनुअघि नै कन्यादान दिएमा आमाबाबु स्वर्ग पुग्छन् भन्ने तत्कालीन परम्पराका कारण उनको तेह्र वर्षको कलिलो उमेरमै विवाह भयो । छोरीले पढेर केही गर्न सक्दैनन् भन्ने सामाजिक सोचले गर्दा उनले औपचारिक शिक्षाबाट वञ्चित हुनुप¥यो ।
पच्चीस–छब्बीस वर्षको उमेरमै तीन सन्तानकी आमा भइसक्दा उनले श्रीमानसँग छुट्टिएर एक्लै सङ्घर्ष गर्ने कठोर निर्णय लिइन् । उनी भन्छिन् ‘त्यसबेला एकल महिलालाई समाजमा ‘ढलेको मुढा’ सरह हेरिन्थ्यो’ यद्यपि उनले हिम्मत भने हारिनन् । बच्चाहरूको शिक्षा र जीविकाका लागि उनले टेम्पो चलाउनेदेखि युरोपेलीको घरमा बच्चाको हेरचाह गर्ने कामसम्म गरिन् ।
जीवनको उतारचढाव गर्दै उनले सन् १९८२ मा लक्ष्मी उड क्राफ्ट उद्योग को स्थापना गरिन् । पशुका हड्डी, सिङ र फलफूलका दानाबाट बटन बनाएर विदेशमा निर्यात गर्न थालिन् । यही सफल निर्यात व्यवसायका कारण उनी ‘नेपालको बटन लेडी’ को नामले प्रख्यात छिन् । उनले आफ्नो उद्योगमार्फत करिब ४ हजारभन्दा बढी मानिसलाई तालिम तथा रोजगारी दिइन् र ६ सय भन्दा बढी महिलालाई टेम्पो चालक बनाएर उनीहरूलाई आत्मनिर्भरताको बाटो देखाइन् । जीवनमा उनले अनेकौँ राजनीतिक हस्तक्षेप र आर्थिक कठिनाइहरू भोग्नुप¥यो । करोडौँको ऋण तिर्नका लागि सङ्ग्रहालय खोल्ने सपना तुहाएर घरजग्गा बेच्नुपरेको पीडा उनी सुनाउँछिन् । तैपनि, उनको आत्मविश्वास कम भएको छैन । हाल उनी एग्रो बायो फर्टिलाइजर उद्योगमा पनि सक्रिय छिन् र देशको कृषि क्षेत्रको विकासमा योगदान दिइरहेकी छिन् ।
उनको सबैभन्दा ठूलो सन्तुष्टि केमा छ भने, उनको जीवनकथा अहिले (१०+२) को पाठ्यक्रम अन्तर्गत ‘उद्यमशीलता’ विषयमा पढाइँदै छ। यसले उनको संघर्षलाई संस्थागत रूपमा सम्मान दिएको छ । उनले ‘सफल सपना’ नामक नेपाली र अङ्ग्रेजीमा आफ्नो जीवनी पनि लेखिसकेकी छिन् । ५०–६० वटा देशको यात्रा गरिसकेकी लक्ष्मी शर्माले विश्वसामु नेपालको गौरव चिनाउन सधैँ अग्रणी भूमिका खेलिन् । न्यूयोर्कको सङ्ग्रहालयमा बुद्धको जन्मस्थल सच्याउन पहल गर्ने महिला उनी नै थिइन् ।
अन्त्यमा उनी भन्छिन्, ‘मलाई राजनीतिले १७ चोटि पछारे पनि म जुर्मुराएर उठेकै थिएँ । जस्तै चोट लागे पनि, हिलोमा लटपटिए पनि मनलाई तल खसाल्नु हुँदैन । आफ्नो लागि मात्र होइन, देशको लागि पनि काम गर्नुहोस्, जहाँ गए पनि नेपाली हुँ भन्न पाउँदा गौरव होस् ।’


