Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

‘रुचि पूरा गर्न प्रोत्साहन चाहिने रहेछ’

‘रुचि पूरा गर्न प्रोत्साहन चाहिने रहेछ’

सोमबार, कात्तिक २४ २०८२
सोमबार, कात्तिक २४ २०८२
  • काठमाडौं । नक्साल नारायणचौरको पारीपट्टी शशि रिमालको घर छ । घरमा श्रीमान, छोरा, बुहारी, नाति, नातिनी बुहारी र पनातिनी सहितको ठूलो परिवार छ । 

    images

    शशि रिमाल उमेरले ८९ वर्ष पुगिन् । तर पनि उनमा जोश उत्तिकै छ । यो उमेरमा पनि उनलाई केही नगरी बस्न मन लाग्दैन । त्यसैले त उनी विभिन्न संघ सस्थामा आवद्ध छिन् ।  उनको आमा लोकप्रिया देवी साहित्यकार हुन् जो महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदि पनि हुन् । ५ जना दाइ र ३ दिदिपछि कान्छी सन्तानको रुपमा उनको जन्म भयो । पढाइमा विशेष रुचि राख्ने उनले आइएसम्मको अध्ययन गरेकी छिन् । सामाजिक क्षेत्रमा पनि उनको रुचि पहिल्यैदेखि थियो । 

    उनको समयमा राणाको दरबारमा थिएटर लाग्थ्यो । एकदिन उनी पनि नाच हेर्न त्यहीं पुगिन् । नाँच हेर्दाहेर्दै निदाएकी शशिलाई बुवाआमाले त्यहीं दरबारमै छोडिदिए । विहान उठ्दा आफ्नो बुवाआमा नदेखेपछि उनी रोइन् । तर उनलाई फकाएपछि फकिइन् । त्यसपछि राणाहरूले नै उनलाई छोरीको रुपमा त्यही राखे । आफ्नो बाल्यकालको ६ वर्षदेखि ९ वर्षसम्म उनले त्यही बिताइन् ।   त्यसपछि उनी पटना पनि गइन् । पटनामा ६ वर्ष बसिन् । तर पटनाबाट जान आउन निकै कठिन थियो । पटना जाँदा अम्लेखगञ्ज, भिमफेदी र रेलमार्ग हुँदै डोली, भरिया तथा रेलको प्रयोगबाट गरिने लामो र असाध्यै कठिन यात्रा गर्नुपथ्र्यो । त्यहाँबाट फेरि जहाज चढेर पटना जानुपथ्र्यो । मनको पोको फुकाउँदै उनले भनिन्, ‘बुवाआमाको धेरै छोराछोरी थियौं उहाँहरुलाई गाह्रो पनि भयो होला अनि म आउँदा यहाँ विवाहको कुरा चलिसकेको थियो ।’  

    विवाहपछि उनी घर, श्रीमान् र तीन सन्तानको जिम्मेवारीमा पूर्ण रूपमा व्यस्त भइन् । यद्यपि परिवारको जिम्मेवारीले शिक्षाको रहरलाई मार्न सकेन । तीन सन्तानको जन्मपछि धेरै वर्षको अन्तरालमा पनि उनले पुनः औपचारिक पढाइ सुरु गरिन् । उनको यो निर्णयले सिक्ने इच्छाको कुनै उमेर हुँदैन भन्ने सन्देश दिन्छ । 

    आमालाई असाध्यै आदर गर्ने शशिले आफ्नी आमा तथा  साहित्यकार लोकप्रिया देवीको संकलन हुन सकेका कृतिलाई संसारसामु ल्याउने निर्णय गरिन् । त्यही इच्छाले उनले आफ्ना मामा गोपी माधव देवकोटाकहाँ आमाको कविताहरूको पाण्डुलिपि फेला पारिन् । त्यो पाण्डुलिपिलाई उनले ‘लोकप्रिया देवी’ नामको कविता संग्रहको रूपमा प्रकाशित पनि गरिन् । त्यतिबेला उनलाई आमाको आशिर्वाद पाएजस्तै एउटा ठूलो सफलता मिल्यो ।  
    उनले नेपाल नारी साहित्य पत्रकार संघ स्थापना गरी आमाको नाममा साहित्य पुरस्कारको व्यवस्था गर्नुका साथै बुटवल नजिकै आमाको मूर्ति समेत स्थापना गरेर उनको योगदानलाई अमर बनाइन् । 


    साहित्यकारकी सुपुत्री शशिलाई पनि साहित्यमा रुचि नभएको त कहाँ हो र ? उनले पनि लेखरचनाहरु लेख्थिन् तर त्यसलाई प्रकाशित भने गर्न पाइनन् । उनी उदास हुँदै भन्छिन्, ‘रुचि पूरा गर्न पनि प्रोत्साहन चाहिने रहेछ ।’उनले नन्दी विद्यालय (नक्साल) को व्यवस्थापनमा १५ वर्षभन्दा बढी समय योगदान दिएकी छिन् । उनी दिवासत्रको सचिव र हाल रात्रीसत्रको अध्यक्ष हुन् । उनले निसाय सेवा सदन, साहित्य पत्रकार संघ, फिजियो उपचार केन्द्र (बिरामीहरूको उपचार केन्द्र) लगायत थुप्रै सामाजिक संस्थाहरूमा अध्यक्ष, उपाध्यक्ष र संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छिन् । 

    आफ्नो ८९ वर्षको जीवन अनुभवबाट उनले अहिलेको शिक्षित र सुविधासम्पन्न युवा पुस्तालाई शुभकामना दिन्छिन् । उनको सन्देश छ ‘देशको विकासको लागि हरेकले आफ्नो क्षेत्रबाट उन्नति गर्नुपर्छ र शिक्षा नै सबै विकासको आधार हो ।’
    शशि रिमालको जीवन एउटी महिलाले पारिवारिक, साहित्यिक र सामाजिक गरी तीनै बिधामा कसरी सफलता पाउन सक्छिन् भन्ने कुराको ज्वलन्त उदाहरण हो ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij