Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

राजाको इस्टकोट सिलाउने सिपालु चन्द्रा

राजाको इस्टकोट सिलाउने सिपालु चन्द्रा

शुक्रबार, कात्तिक १४ २०८२
शुक्रबार, कात्तिक १४ २०८२
  • काठमाडौँ । हामी गैह्रीधारास्थित होप हेर्मिटेज पुग्दा एउटी आमालाई भेट्यौं जसको नाम चन्द्रा लामा हो । उनी नेपालको शाही दरबार र राणा परिवारका सदस्यहरूले लगाउने पोशाक सिउने एक सङ्घर्षशील महिला हुन् । ८२ वर्षीया चन्द्र लामाले हामीसंग आफ्नो जीवनका अप्ठ्यारा, एक्लो सङ्घर्ष र सिलाई कलामार्फत दरबारसम्म पुगेको यात्राबारे बताइन् । 
    भारतको आसाम मा जन्मिएकी चन्द्र लामाको बाल्यकाल धेरै घुमफिर र कष्टमा बित्यो । बुबाको निधनपछि उनको पढाइ अगाडि बढ्न सकेन । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिए पनि दाम्पत्य जीवन लामो समय टिक्न सकेन । विवाहको चार वर्षपछि श्रीमान् अमेरिका प्रस्थान गरे तर श्रीमानले पछि पैसा पठाउन र सम्पर्क गर्न बन्द गरिदिए ।
    हातमा सिलाईको सीप बोकेकी चन्द्र लामाले त्यसपछि एक्लो काँधमा आफ्ना तीन सन्तान (दुई छोरा र एक छोरी) लाई हुर्काइन् । उनको सिलाई कला नै परिवारको पालनपोषणको मुख्य आधार बन्यो । उनको भाइको सहयोगमा उनले आफ्ना सन्तानहरूलाई उच्च शिक्षाका लागि अमेरिका पठाउन सफल भईन् । आफ्नो सङ्घर्षको अवधिमा उनले पाएको एउटा अनौठो अवसर थियो, राणा परिवार र दरबारका महारानीहरूको लुगा सिउने काम । कमल पोखरीमा बस्ने राधा महारानी र लक्ष्मी महारानी लगायतका प्रतिष्ठित परिवारका सदस्यहरूको लुगा सिएरै उनले आफ्नो परिवार धानिन् । 

    images

    उनले तत्कालीन राजा बीरेन्द्रको एक कोटको गला (नेक डिजाइन) मर्मत गरेर सुन्दर बनाएको विशेष क्षण सम्झिन्छिन् । उनलाई राजा महेन्द्र र राजा बीरेन्द्र दुवैले निकै माया र सम्मान गर्ने गरेको बताउँछिन् । राजपरिवारका सदस्यहरूबाट पाएको यही सहयोगले उनलाई छोराछोरी हुर्काउने सङ्घर्षमा ठूलो राहत मिलेको थियो । 
    चन्द्र लामा हालै अमेरिकामा दुई महिना बिताएर फर्किएकी छिन्, जहाँ उनका छोराछोरीहरू बस्छन् । तर, उनलाई अमेरिकाको बसाइ एक्लो र बन्धनमा परेको जस्तो लाग्यो । उनलाई आफ्नो देश, नेपालको स्वतन्त्रता र माटो नै बढी प्यारो लाग्छ ।

    प्रख्यात सङ्गीतकार गोपाल योञ्जन उनको मामाको छोरा हुन् । उनलाई गोपाल योञ्जनका देशभक्तिपूर्ण गीतहरूमध्य , विशेषगरी ‘देशले रगतमागे’ बोलको गीत निकै मन पर्छ । जीवनको अन्त्यतिर आइपुग्दा, उनको एउटै इच्छा छ, ‘अर्को जुनीमा पनि महिला कै जुनी पाउँ’ उनको विश्वास छ कि महिलाहरूले पुरुषभन्दा बढी सहन र त्याग गर्न सक्छन्, त्यसैले उनी महिलाको जुनीलाई महान् मान्छिन् ।

    यो चन्द्र लामाको सङ्घर्ष र स्वाभिमान को जीवनको गाथा हो जसले सिलाई कलाको माध्यमबाट आफ्नो जीवनलाई मात्र होइन, नेपालको शाही इतिहासको एक पाटोलाई पनि जोगाएकी छिन् ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij