Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

खसीसंग सन्तोषको ३० वर्षे लगाव

खसीसंग सन्तोषको ३० वर्षे लगाव

बिहीबार , असोज ९ २०८२
बिहीबार , असोज ९ २०८२
  • काठमाडौँ । काठमाडौँको टुकुचामा रहेको खसीबजारमा सधैंजसो चहलपहलले गुञ्जिरहन्छ । त्यही भीडभाडबीच चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष सन्तोष बहादुर खत्री आफ्नो काममा व्यस्त देखिन्छन् । झन्डै तीन दशकदेखि उनी यस पेशामा अडिग छन् । चाँगुनारायण वडा नं १ मा बस्ने सन्तोषको यात्रा बाल्यकालमै सुरु भएको हो । जब उनी १३ वर्षका थिए, उनका बुवा खसी व्यापारमा लागे । ओखलढुंगाको गाउँबाट काठमाडौँ आएका बुवाले परिवारलाई सम्हाल्न अनेक काम गरे । किराना पसल, सागसब्जीको व्यापार हुँदै खसी बेच्नेसम्मको काममा उनका बुवा तल्लिन रहे । सन्तोषलाई पनि पढाइभन्दा बुवालाई सहयोग गर्ने चाहना जाग्यो । त्यही चाहनाले उनको जीवनलाई नयाँ बाटोतिर डोर्यायो ।

    images

    बागबजार बस्दाको दिनहरू उनलाई अझै सम्झना छ । बुवाले खसीको मूल्य तोक्थे सन्तोषलाई बेच्न जिम्मा दिन्थे । बेचिएको रकमबाट सन्तोषलाई सय–दुई सय रुपैयाँ हातमा दिन्थे । बुवाले पैसा दिएपछि बिस्तारै सन्तोषको लगाव यसमा बढ्दै गयो र अन्ततः उनी पढाइ अधुरै छोडेर पूर्ण रूपमा यो व्यापारमा होमिए । अहिले उनलाई यो व्यापारसंग गहिरो लगाव छ । २०६६ सालमा उनले चौपाया खरिद–बिक्री संघ दर्ता गराए । प्रारम्भिक अध्यक्ष ज्ञानु श्रेष्ठ थिइन् भने सन्तोष सदस्य थिए । त्यसपछि दिपक थापा, गोविन्द पाठकजस्ता साथीहरू पनि क्रमशः त्यसमा सहभागी भए ।
    टुकुचामा व्यापार सुरु गर्दा वरिपरिको दृश्य आजभन्दा फरक थियो । त्यतिबेला वस्तीभन्दा घारी बढी थिए । खसीहरू समेत भारतबाट भित्रिन्थे । तर अहिले भने बजारको ९० प्रतिशत खसी नेपालकै उत्पादनले धानेको छ । उनी भन्छन् ‘यदि सरकारले यो व्यापारलाई अझै व्यवस्थित ढंगले मान्यता दियो भने, गुणस्तर अझै राम्रो हुन्छ,’

    पूर्खाको संघर्ष उनी कहिल्यै बिर्सन सक्दैनन् । उनका बुबाले काम गर्ने बेलामा खसीको मूल्य ६०–६५ रुपैयाँ प्रतिकिलो मात्र थियो । उनी आफैंले यो व्यापार सुरु गर्दा मूल्य ८०–९० रुपैयाँ पुगिसकेको थियो । आज भने एउटा खसी बेच्दा उनले २० देखि २५ हजारसम्म कमाउँछन् । तर, उनी भन्छन् ‘व्यापारमा सधैं सजिलो हुँदैन, कठिनाइलाई सहेर अघि बढ्नुपर्छ ।’
    दसैंमा भने यो व्यापारमा विशेष चहलपहल हुन्छ । सप्तमी, अष्टमी र नवमीका दिन बजार धमाधम चल्छ । अरु बेलामा भने बिहीबार, शुक्रबार र आइतबार तुलनात्मक रूपमा बढी व्यापार हुन्छ । हालको मन्दीले व्यापारमा प्रभाव पारे पनि उनी थोरै नाफा राखेरै बेचबिखन गर्छन् ।  आज उनीसँग नियमित एकजनामात्र कर्मचारी छन् । यद्यपि दसैंको समयमा भने उनले तीनजनालाई रोजगारी दिएका छन् । खसी व्यापारलाई उनले जुवाको संज्ञा दिएका छन् । उनी भन्छन् ‘यो व्यापार जुवा खेलेको जस्तै हो । कुनैबेला नाफा कुनैबेला घाटा’ यद्यपि, सन्तोष युवाहरूलाइ पनि यो व्यापार गर्न प्रेरित गर्छन् ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij