काठमाडौं । भक्सपप नेपालले वरिष्ठ ज्योतिषी पद्मप्रसाद अंगाईंसँग २०८१ सालको समग्र मूल्यांकन र २०८२ सालमा देखिन सक्ने राजनीतिक, आर्थिक, सामाजिक परिदृश्य तथा आम नेपाली जनताको जीवनमा पर्न सक्ने सम्भावित प्रभावबारे ज्योतिषशास्त्रीय आधारमा विशेष संवाद गरेको छ।
२०८१ साल समग्रमा कस्तो रह्यो ?
ज्योतिषीय गणनाअनुसार २०८१ साल ग्रहहरूको शौर्य मण्डलको अधिक प्रभावमा रह्यो। गत वर्ष ग्रह गोचरअनुसार ‘राजा’को रूपमा मंगल र ‘मन्त्री’को रूपमा शनि रहेका थिए । मंगल ग्रह स्वभावतः आक्रामक, विद्वंशात्मक र क्षुद्र निर्णय गर्ने प्रवृत्तिको मानिन्छ । शनि भने सत्य, न्याय, कर्म र अनुशासनको प्रतीक ग्रह हो । तर यी दुई ग्रहबीच परम्परादेखि नै शत्रुतापूर्ण सम्बन्ध रहँदै आएकोले यस वर्ष सामाजिक, राजनीतिक र प्राकृतिक क्षेत्रहरूमा स्पष्ट अस्थिरता देखियो।
मंगलको आक्रोश र शनिको ढिलो न्याय प्रवृत्तिका कारण राज्य सञ्चालनदेखि लिएर जनजीवनसम्म उथलपुथल देखियो। सरकार स्थायित्वतर्फ उन्मुख हुँदै गर्दा रातारात सत्तापरिवर्तन भयो, जसमा अन्तर्राष्ट्रिय दबाब वा हस्तक्षेपको आभाससमेत देखियो।
शुभग्रह बृहस्पतिको प्रभाव न्यून देखिनु, र यथोचित स्थानमा प्रभावकारी ढंगले काम गर्न नपाउनुका कारण नीति निर्माणमा अस्पष्टता रह्यो। सहकारी काण्डदेखि अशोजमा आएको विनाशकारी बाढी–पहिरोले गरेको जनधनको क्षति, राजावादीहरूको अराजक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, शिक्षक आन्दोलन, राजनीतिक अविश्वास जस्ता घटनाहरूले गत वर्षलाई सङ्कटपूर्ण बनायो।
२०८२ साल कस्तो रहनेछ?
वरिष्ठ ज्योतिषी अंगाईंका अनुसार २०८२ साल ग्रह गोचरको आधारमा सकारात्मक संकेतहरू बोकेको वर्ष हो। यो वर्षको ‘राजा’ सूर्य र ‘मन्त्री’ चन्द्रमा रहेका छन्। सूर्य र चन्द्रबीच मित्रता रहेकोले तुलनात्मक रूपमा सत्तारूढ शक्ति र जनताबीच केही सुमधुर सम्बन्ध बन्ने सम्भावना प्रवल रहेको छ।
सरकार र नागरिकबीच विश्वासको सम्बन्ध विकास हुने, नीति जनमुखी बन्ने, र जनताले केही हदसम्म राहतको अनुभूति गर्ने वातावरण बन्नेछ । सरकारी निर्णयहरू स्पष्ट र कार्यान्वयनमुखी हुने संकेत देखिन्छ। जनताको आवाजप्रति सरकार संवेदनशील बन्नेछ।
तर, सूर्यको स्वभाव आक्रामक र अधिकारवादी हुने भएकाले नेतृत्व तहमा व्यक्तिगत अहं र टकरावको सम्भावना रहनेछ। दलहरूबीच गहिरो मतभेद, नयाँ गठबन्धनको सम्भावना, सरकार विघटन तथा परिवर्तनको श्रृंखला दोहोरिन सक्नेछ। यस्ता अस्थिरता हुँदाहुँदै पनि राज्य संयन्त्र पूर्णरूपमा जर्जर हुने सम्भावना भने छैन।
आर्थिक क्षेत्रमा व्यापार–व्यवसायमा गति आउने, लगानी विस्तार हुने, र निजी क्षेत्र चलायमान बन्ने संकेत देखिन्छ। बेरोजगारी दर केही घट्ने, नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। कृषिमा केही सुधार देखिए पनि जलवायु परिवर्तनका असर देखापर्न सक्नेछन – कतै सुख्खा, कतै बाढी वा असिनाका कारण उत्पादन प्रभावित हुनसक्छ।
के २०८२ मा अनिष्ट घटनाहरूको सम्भावना छ ?
२०८२ सालमा सूर्यको प्रभाव प्रधान रहने भएकाले अत्यधिक ताप, गर्मीको लहर, तथा वर्षाको अनियमितता (कतै अत्यधिक, कतै न्यून) देखिन सक्छ। यसले कृषि प्रणालीमा प्रत्यक्ष असर पार्नेछ ।
ज्योतिषशास्त्रका अनुसार कुनै समयमा ठूलो प्राकृतिक विपद्, दुर्घटना वा हिंसात्मक घटना हुने संकेत पनि देखिन्छ। यसबाट बच्नका लागि सरकारले धार्मिक तथा आध्यात्मिक विधिहरू – ग्रहशान्ति, होम, यज्ञ, महापुराण आदि जस्ता कार्यक्रम आयोजना गर्नुपर्ने सल्लाह अंगाईको छ ।
कलियुगको राजा राहु मानिन्छ र हाल राहुको अवस्था पूर्णरूपमा शान्त छैन । राहुको प्रभावका कारण अघिल्लो वर्ष ठूला अनिष्ट घटनाहरू घटेका थिए। त्यसैले यो वर्ष पनि सतर्कता आवश्यक छ भन्ने उनले सुझाव दिए ।
२०८२ साल तुलनात्मक रूपमा केही सकारात्मक ऊर्जा लिएर आएको भए पनि राजनीतिक स्थायित्व, आर्थिक अनुशासन, सामाजिक सद्भाव कायम राख्न सरकार र जनताबीच निरन्तर संवाद र सहकार्य आवश्यक छ। प्राकृतिक प्रकोप र अनिष्ट घटनाबाट जोगिन धार्मिक विश्वास र परम्परागत उपायमार्फत सकारात्मक ऊर्जा विस्तार गर्नु महत्त्वपूर्ण हुने वरिष्ठ ज्योतिषी अंगाईंले सुझाए ।


