Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मन भुलाउन अमलाको व्यापार गर्दैछिन् सीता (भिडियोसहित)

मन भुलाउन अमलाको व्यापार गर्दैछिन् सीता (भिडियोसहित)

भक्स पप नेपाल
मंगलबार, फागुन ६ २०८१
भक्स पप नेपाल
मंगलबार, फागुन ६ २०८१
  • काठमाडौं । दोलखा चरिकोटकी सीता श्रेष्ठ आजभोलि काठमाडौंको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन् । हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। कालीमाटीबाट होलसेलमा मौसमअनुसारको फलफूल ल्याएर उनले बेच्दै आएकी छन् ।     

    images

    उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको ४० वर्ष भयो। मिठो फलफूल बेच्ने सीताको कथा भने नमिठो छ । उमेरले ७२ पुगेकी उनी बाध्यता भन्दापनि मन भुलाउन व्यापार गर्छिन् । छोरा बुहारीले आराम गर्न भन्दापनि उनको मनले नै मान्दैन । ४० वर्षअघि श्रीमानको साथ लागेर काठमाडौ आएकी सीताले सुरुवातबाटै फलफूलको व्यापार थालिन् । उनीसँगै व्यापार गर्ने धेरै साथीहरू अहिले यो संसारबाट बिदा भइसकेका छन् । तर सीताले भने आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन् । हिजो बाध्यताले सुरु गरेको व्यवसाय अहिले उनी मन भुलाउन गरिरहेकी छन् ।   

    २८ वर्ष अघि श्रीमानको मृत्युपछि उनको मन शान्त छैन । उनी भन्छिन् ‘श्रीमानलाई टिबी (क्षयरोग)ले लग्यो । उहाँकै उपचारमा गाएको सम्पत्ति सकियो । अहिले न धन छ न मान्छे ’ श्रीमानको मृत्युपछि एक्ली बनेकी सीतालाई छोरा बुहारीले निकै माया गर्छन् तर आफ्नो जीवनसाथी नहुँदाको पिडाले मन भक्कानिँदो रहेछ ।त्यही मन समाल्न उनी काठमाडौंको चोक चोकमा मौसम अनुसारको फलफूलको व्यापार गर्छिन् । कहिले सुन्तला त कहिले काफल अनि अमला  उनले बेच्दै आएकी छन् । किलोमा किनेर उनले मानामा बेच्ने गरेको उनले सुनाइन् ।   

    उनले व्यापारबाट आफ्नो दैनिक खर्च चलाउँछिन् । यता छोराबुहारीले बुढेसकालमा दुख नगर्नु भन्दापनि मन नमानेपछि उनी पोकापुन्तुरा बोकेर निस्किन्छिन् । उनी भन्छिन् ‘छोरा बुहारीले त काम नगर आमा भन्छन् तर मनले कहाँ मान्दो रहेछ र हात खुट्टा चलुन्जेल त यसो गर्न पाए हुन्थ्यो भन्ने हुँदो रहेछ फेरी मैले सकेको यताउता गर्दा स्वास्थ्य पनि राम्नै हुने । मैले कमाएर धेरै केही गर्न त सकिने होइन तर नातिनातिनालाई यसो चकलेट दिन पुग्छ ’     

    गरिबीले आफूले पढ्न नपाएकोमा उनको गुनासो छ ।  ‘सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला ’, सीताले भनिन् ।महानगरले लखेट्दाको पिडा पनि उनले सुनाइन् । स्थानीय सरकारले कुनै पनि विकल्प नदिई सडकबाट हटाउँदा आफूहरू समस्यामा परेका उनको गुनासो छ । उनी भन्छिन्, ’सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ ’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij