काठमाडौँ । सुकुम्बासी बस्ती खाली हुनै थियो। ७१ वर्षीया कान्छी थापाले धेरै पहिले नै यो अनुभव गरिसकेकी थिइन्।
नभन्दै एक दिन सरकारले हटायो पनि।
बालेन, रबी तथा रास्वपा पार्टीलाई खुब समर्थन गर्ने उनलाई यहिँनेरै चित्त दुख्यो । उनलाई अहिलेको सरकारप्रति आश छ। तर बस्ती हटाउँदा सरकारले हठात् चालेको कदमले भने उनको मन दुखाएको छ।
कान्छीको पुर्ख्यौली थलो धादिङ हो। बल्खुको सुकुम्बासी बस्तीमा उनी आउनुको एकै कारण थियो। बूढा ससुराबाको पालामा लिएको २ हजार पैसा तिर्न नसक्दा भएको जग्गा सबै लिलामीमा पर्यो।
काठमाडौँ महानगरपालिका वडा नं ८ र ९ को सुकुम्बासी बस्तीमा बस्दै आएकी ७१ वर्षीया कान्छी थापा विगत २२ वर्षदेखि यही बस्तीलाई आफ्नो घर मान्दै आएकी छन्। जीवनभर अभाव, दुःख र सङ्घर्षसँगै जुधेकी उनी अहिले फेरि एकपटक बस्ती विस्थापनको चिन्तामा छिन्। तर यति धेरै पीडाबीच पनि उनले आशा भने गुमाएकी छैनन्।
राजधानीको सुकुम्बासी बस्तीमा बसाइँ थालेदेखि उनले परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा बोकिन्। बिरामी ससुराको हेरचाह गर्दै उनले आफ्ना साना छोराछोरी हुर्काइन्। आर्थिक अवस्था कमजोर हुँदा पनि उनले हार मानिनन्। जीवनको सबैभन्दा कठिन समय सम्झँदै उनी भन्छिन्,'चार महिनासम्म तीनवटा बच्चा लिएर ऋणको भारीमा घर चलाएँ। के खाने र कसरी बाँच्ने भन्ने चिन्ताले दिनरात सताउँथ्यो।'
उनका अनुसार पहिले कमाइ थोरै भए पनि जीवन चलाउन सकिन्थ्यो। 'त्यो बेला १० – १५ रुपैयाँ कमाउँदा पनि केही न केही जोहो हुन्थ्यो',उनी सम्झिन्छिन्। तर अहिले परिस्थिति फेरिएको छ। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा सामान्य आम्दानीले घर खर्च धान्नै मुस्किल भएको उनको गुनासो छ। दाल, तेल, नुन र चामलजस्ता अत्यावश्यक वस्तु किन्न पनि सोच्नुपर्ने अवस्था आएको उनी बताउँछिन्।
आर्थिक संकटमात्र होइन, अहिले उनी र उनको समुदायमाथि अर्को ठूलो संकट पनि छ। वर्षौँदेखि बसोबास गर्दै आएको सुकुम्बासी बस्ती हटेपछि कान्छी थापाको मनमा भविष्यप्रति गहिरो चिन्ता छ।
विगतका सरकार र नेताहरूप्रति उनको असन्तुष्टि स्पष्ट सुनिन्छ। उनी भन्छिन्, 'धेरै नेताले गरिबको दुःख बुझेनन्। उनीहरू कुर्सी र शक्तिको पछि लागे, तर जनताको समस्या समाधान गर्ने काम भएन।' उनका अनुसार गरिब समुदायले वर्षौँदेखि दुःख, अभाव र उपेक्षा मात्र भोग्दै आएको छ।
तर निराशाको बीचमा पनि कान्छी थापाले केही नेताहरूमा आशाको किरण देखेकी छन्। विशेषगरी बालेन शाह र रबी लामिछानेप्रति उनको विशेष विश्वास छ। उनी उनीहरूलाई केवल राजनीतिक नेता नभई आफ्नै सन्तानसरह माया गर्ने बताउँछिन्।
'म उहाँहरूलाई आफ्नै कोखबाट जन्मिएका छोराजस्तै सम्झिन्छु', उनी भन्छिन्। उनका अनुसार बालेन र रविमा गरिब तथा पीडित जनताको दुःख बुझ्ने संवेदनशीलता छ। उनीहरूको नेतृत्वले देशमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास उनले व्यक्त गरिन्।
कान्छी थापाले ती युवा नेताहरूको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्ने गरेको पनि बताइन्। राम्रो काम गर्नेलाई धेरै चुनौती र अवरोध आउने भएकाले उनीहरू सुरक्षित रहून् भन्ने उनको कामना छ। 'उहाँहरूले देश बदल्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ', उनी भन्छिन्।


