Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

घरबाट होल्डिङ सेन्टर, अब फेरि कहाँ?

घरबाट होल्डिङ सेन्टर, अब फेरि कहाँ?

मंगलबार, असार २३ २०८३
मंगलबार, असार २३ २०८३
  • काठमाडौं । सरकारले थापाथलीमा डोजर चलाएको त्यो दिनसँगै थापाथलीका धेरै सुकुम्बासीको जीवन उथलपुथल भयो। वर्षौंदेखि टाउको लुकाउँदै आएको बस्ती भत्कियो, उनीहरूलाई होल्डिङ सेन्टरमा सारियो। तर अहिले त्यो होल्डिङ सेन्टरसमेत स्थायी आश्रय बन्न सकेको छैन। नयाँ ठाउँ खोज्न भनिएको छ, तर जाने कुन ठाउँ हो कसैलाई थाहा छैन।

    images

    त्यही भिडभित्रकि अलमलमा परेकी एक पात्र हुन् हरिमाया जिम्बा। उनको हरेक बिहान एउटै प्रश्नबाट सुरु हुन्छ ,'अब म कहाँ बस्ने?'

    यस्तै भविष्यको चिन्ता बीच बसिरहेकी छन् हरिमाया जिम्बा। तर यो कथा हरिमायाको मात्र होइन। थापाथलीबाट विस्थापित भएर अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका सयौँ सुकुम्बासीको साझा कथा हो।

    उनको सबैभन्दा ठूलो माग पनि धेरै ठूलो छैन। उनलाई न लालपुर्जा, न सरकारी सुविधा, न मासिक भत्ता चाहिएको छ। उनी बारम्बार 'हामीलाई एउटा बास चाहियो ' भनी एउटै कुरा दोहोर्‍याउँछिन् ।

    वर्षौंदेखि नदी किनारको बस्तीमा बस्दै आएका धेरै परिवारले आफ्नो जीविका त्यहीँबाट चलाएका थिए। कसैले सरसफाइको काम गर्थे, कसैले ज्यालादारी, कसैले सानो व्यवसाय गर्थे। हरिमायाले पनि कुखुरा पालिन्, घरघरमा सरसफाइ गरिन् र त्यसैबाट आफ्नो घर र औषधिको खर्च जुटाइन्।

    तर अहिले भने उनको जीवनमा सबैभन्दा कठिन अवस्था सुरु भएको छ।

    उनको अहिले न काम छ न त नियमित आम्दानी नै। उनलाई दीर्घरोगका कारण महिनैपिच्छे औषधि चाहिन्छ। चिकित्सकले थप उपचारका लागि भारत जानुपर्ने सुझाव दिएका छन्। तर अहिले उनीसँग औषधि किन्न समेत पैसा छैन।

    विस्थापनले उनको घर मात्र खोसेन, आत्मनिर्भर भएर बाँच्ने आधार पनि खोस्यो।

    सरकारले कोठा भाडाका लागि सहयोग दिने कुरा गरेको उनी सुन्छिन्। तर उनको चिन्ता भने फरक छ। उनलाई 'सुकुम्बासी' भनेर चिनिए पछि कसैले सजिलै कोठा भाडामा नदिने डर छ। त्यसैले उनी पैसाभन्दा पहिले बस्ने ठाउँको सुनिश्चितता खोजिरहेकी छन्।

    होल्डिङ सेन्टरमा बितेका तीन महिनाले उनको मनमा अर्को गम्भिर प्रश्न पनि छोडेको छ ,'अस्थायी बसाइ कति दिनसम्म?'

    पानी पर्दा पालभित्रै पानी पस्छ। कहिले अर्को सूचना आउँछ भन्ने अन्योल छुट्दैन। आज यहाँ, भोलि कहाँ भन्ने चिन्ता सधैँ उनको साथमा छ।

    हरिमायाका शब्दमा निराशा मात्र छैन, लामो राजनीतिक यात्राप्रतिको थकान पनि सुनिन्छ। वर्षौंदेखि नेताहरूका आश्वासन सुन्दै आएको उनको विश्वास अहिले कमजोर बनेको छ। उनी भन्छिन्, चुनावमा धेरै कुरा सुनियो, तर अहिले आफूहरूलाई कसैले सम्झिने समय छैन। 

    नयाँ सरकारप्रति उनको ठुलो आशा थियो । चुनावका बेला देखा परेका अनुहारले उनका आवाज सुन्छन् कि, बुझ्छन् कि भन्ने विश्वास उनीमा थियो । तर विडम्बना चुनावका बेला हात जोड्दै आएका अनुहार न त उनीहरूका हालखबर बुझ्न आए न त समस्या समाधान गर्न नै आए । 

    अहिले उनी सरकारबाट पूर्ण रुपमा निराश बनेकी छिन् ।  उनी आफू र आफ्ना सात पुस्तालाई पनि भोट हाल्न दिँदिन भनी आक्रोश पोख्छिन् । 

    तर उनी अझै पनि कुनै दिन स्थायी रूपमा बस्न मिल्ने एउटा सुरक्षित ठाउँ पाइएला कि भन्ने आश बोकेर बसेकी छिन्।

    हरिमायाको आवाजमा आँसु छ। तर त्यो आँसु व्यक्तिगत पीडाभन्दा पनि राज्यसँगको एउटा साधारण प्रश्न हो 'बाँच्नका लागि मानिसलाई आखिर कति चाहिन्छ?'

    सायद त्यसको उत्तर उनको अन्तिम आग्रहमै लुकेको छ 'हामीलाई भात पनि चाहिँदैन, राहत पनि चाहिँदैन। एउटा बास मात्रै देऊ। बाँकी हामी आफैं कमाएर खान्छौं।'

    हरिमायाको यो कथन एउटा व्यक्तिको पीडा मात्र होइन, विस्थापनपछि अनिश्चित भविष्यसँग जुधिरहेका धेरै परिवारको साझा आवाज हो। उनको पूरा अनुभव, संघर्ष र पीडा शब्दमा व्याख्या गर्न सकिदैन ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij