काठमाडाैं। दुई वर्षको कलिलो उमेरमा आमा गुमाइन्। आमाको अनुहार कस्तो थियो, उनलाई याद छैन्। १४ वर्षको उमेरमा विवाह भयो। युवा अवस्थामा घरको काम, खेतीपाती, भैँसी पालनसँगै बिहान दुई बजे उठेर राँकोको भरमा जङ्गलको दाउरा र खोलाको बालुवा बोकेर दुःख गरिन्। अहिले ६३ वर्षको वृद्ध शरीरमा क्यान्सर रोगले दुःख दिइरहेको छ। टौदहकाे चिसो किनारामा माछाको चारो बेचिरहेकी कमला केसीको आँखामा लुकेको सबैभन्दा ठुलो घाउ रोग होइन, श्रीमान् नहुँदाको एक्लोपनको हो।
विगत १३ वर्षदेखि श्रीमानको साथ छुटेपछि रोग र भोकसँग एक्लै लडिरहेकी कमलाको जीवनमा अब अरू कसैको सहारा छैन। सहारा छ त केवल त्यही माछाको चारो र आफ्नै आँटको। आमा सानैमा बिते पनि बुबा र भाउजूहरूले आमाको जस्तै माया दिएर हुर्काए। तर कमलालाई बाल्यकालमा पढ्ने रहर कहिल्यै भएन। स्कुल जान भनी हिँडे पनि उनी बाटोबाटै जङ्गलतिर मोडिएर साथीहरूसँग काफल खान जान्थिन्। पढाइ छुटेपछि १४ वर्षकै उमेरमा उनको बिहे भयो र १६-१७ वर्षको उमेरमा दुई छोराहरू जन्मिए।
कमलालाई आफ्नो बाल्यकालको एउटा कुराले भने अहिले पनि सोच्न बाध्य बनाउँछ। आमा बितेपछि उनलाई बालघर अर्थात् अनाथालयमा राख्ने कुरा भएको थियो र उनी त्यहाँ पुगेकी पनि थिइन्। तर विभिन्न कारणले उनलाई त्यहाँ राखिएन। उनी भन्छिन्, 'त्यहाँ राखेको भए केही बन्थेँ कि जस्तो लाग्छ के, केही ठुलो मान्छे बन्थेँ कि! जे होस्, अब यो मागेर बस्न त पर्ने थिएन नि। माग्ने काम हो यो बाबु, लैजाऊ न बाबु भन्नुपर्छ।'
विवाहपछिको जीवन कमलाका लागि निकै सङ्घर्षपूर्ण रह्यो। परिवार पाल्नका लागि उनले रात दिन भनिनन्। उनी पुराना दिन सम्झिन्छिन्, 'त्यतिखेर त वनको दाउरा बोकियो बाबु, खोलाको बालुवा नि बोकियो। दाउरा लिन बिहान दुई बजे उठ्ने, पूजाआजा गरेर भात पकाएर खाने। अनि तीन बजे घरबाट निस्किने। त्यतिखेर बत्ती थिएन, छलीको राँको वा जुत्ताको तल्ला बालेर हिँड्नुपर्थ्यो। बाटो एकदम अँध्यारो हुन्थ्यो, डर लाग्ने ठाउँ थियो। उज्यालो हुँदा वनमा पुगिन्थ्यो, अनि दाउरा बोकेर बेलुका घर आइन्थ्यो।'
यस्तै दुःखकै बीच ३५ वर्षको उमेरमा उनलाई क्यान्सर भयो। वर्ष दिन हस्पिटल बसेर उपचार गरेपछि उनले भारी काम गर्न छाेडिन्। १३ वर्षअघि उनका श्रीमानको पनि मृत्यु भयो। श्रीमान् बितेपछि कमलाको जीवनमा ठुलो एक्लोपन सुरु भयो। अहिले कसैले अलि चर्को बोल्यो भने पनि उनको मन निकै दुख्छ। 'श्रीमान् भएको र नभएकोमा धेरै फरक पर्छ। बुढो छँदा खेरि, यिनीहरूले भने के त, मेरो बुढो छन् नि! भन्ने आँट आउँथ्यो। अब अहिले आँट हराउँदो रहेछ।'
छोराहरूले उनकाे राम्राे रेखदेख गरिरहेका छन्। तर घरमा बसिरहन झ्याउ लागेपछि आफ्नो खर्च आफैँ जुटाउन कमला विगत तीन वर्षदेखि नदी किनारामा बस्न थालेकी हुन्। समितिबाट २५ किलोको बोरा किनेर ल्याउने र आफैँ प्लास्टिकमा प्याक गरेर बेच्ने उनको दैनिकी हो। ६३ वर्षको उमेर र क्यान्सरको रोग भए पनि उनले हार मानेकी छैनन्। उनी भन्छिन्, 'जीवन खै के हो के, यही हो भन्न सक्दिनँ म त। जे गर्नुथ्यो गरेँ। अब सकुन्जेल यही गर्ने, नसके यो पनि नगर्ने।'


