काठमाडौं : नुवाकोटका ६१ वर्षका मीनबहादुर तामाङको दुवै हातखुट्टा चल्दैन । डेढ वर्षदेखि उनी पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेका छन् । श्रीमती र ९१ वर्षका बुवाको जिम्मेवारी उनकै काँधमा छ । घरको मुख्य मान्छे नै थलिएपछि उपचारमै कठिनाइ भइरहेको मीनबहादुर बताउँछन् ।
नुवाकोटमै खेती किसानी र मजदुरी गरेर व्यवहार चलाइरहेका मीनबहादुर सशस्त्र द्वन्द्व बेला काठमाडौं आएका हुन् । गाउँमा बस्नै नसकेपछि उनी गाउँका आफन्तहरू सँगै काठमाडौं आएर जीवन चलाइरहेका थिए । साथीहरूसँग मिलेर ज्याला मजदुरी गर्दै दैनिक गुजारा चलाइरहेका मीनबहादुर डेढ वर्षदेखि बेरोजगार छन् । उनको दैनिकी भनेको कोठाबाट र आँगन र आँगनबाट कोठा मात्र बनेको छ ।
गत वर्षको भदौदेखि प्यारालाइसिस भएर घरमै बस्नुपरेको हो । कामबाट फर्किएपछि बिस्तारामा आराम गरेका मीनबहादुर एक्कासि बेहोस भए बिउँझिँदा न उनी बोल्न सके न त हातखुट्टा चलाउन सके । घरधनीले थाहा पाए पछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको अहिले पनि उपचार चलिरहेको छ । अहिले फिजियो थेरापीबाट केही सुधार भइरहेको उनी सुनाउँछन् ‘अहिले त धेरै सुधार भएको छ । पुरानै अवस्थामा फर्किन नसके पनि सामान्य हिँडडुल गर्न र खाना खाने अवस्थामा पुग्ने सकिने डाक्टरहरू भन्नुहुन ।
अहिले फिजीयो थेरापीले काम गरिरहेको छ’ हातखुट्टा नचल्दाको पिडा एकातर्फ छ भने आर्थिक तनावले उनलाई सताइरहेको छ । त्यसो त काठमाडौंको महँगो जीवन अर्कोतर्फ बिरामी । उनलाई यो पिडाले सताइरहेको छ । श्रीमतीले जेनतेन गरेको पैसा खान र कोठा भाडा तिर्दा नै सकिने उनी सुनाउँछन् । उनी भन्छन् ‘पहिला त श्रीमान् श्रीमती दुवैले काम गरेका थियौँ सबै कुरा सहज थियो तर अहिले म थला परे । श्रीमतीको मात्र कमाइले पुग्दै पुग्दैन निकै समस्या परेको छ ।’ यो महँगीले गर्दा उनले गाउँ जाने सोच नबनाएका पनि होइनन् तर गाउँ फर्किएर गर्ने काम नै उनले देखेका छैनन् ।
अर्को कुरा गाउँमा फिजियो थेरापीको सुविधा नहुँदा पनि उनी गाउँ जान नसकेका हुन् । उनी सुनाउँछन् ‘मेरो अवस्था यस्तो छ हप्तैपिच्छे थेरापी जानुपर्छ गाउँमा यो सुविधा छैन अर्को कुरा गाउँमा त्यही खेतबारी मात्र हो । कमसेकम काठमाडौंमा हुँदा त श्रीमतीले काम पाएकी छन् अलिअलि भए पनि राहत मिलेको छ । गाउँ फर्केपछि त न घरको ले खान पुग्छ त काम नै पाइनछ झन् बिचल्ली हुन्छ’ । उपचारकालागि उनले याचना गरिरहेका छन् । कसैले सहयोग गरे हुन्थ्यो भन्ने उनको अपेक्षा छ ।


