काठमाडौं डिल्लीबजारको सडकसँगै जोडिएको हुलाक सेवा विभागको कम्पाउन्ड भित्र आगो बाल्दै थिइन चिनीमाया कार्की । दाउरा मिलाउँदै मकै पोल्न कोइला निकाल्दै गरेकी कार्कीको यो दैनिकी नै हो । तातो घाम होस, चाहे पानीको झरी किन नहोस् । आगोमा मकै पोलेर बटुवालाई कुरेर बस्नु उनको दैनिकी हो ।
दोलखा ठुलो सैलुङकी कार्की अहिले श्रीमानसङै काठमाडौँ २९ डिल्ली बजारमा बस्छिन् । श्रीमानले भारी बोकेर कमाउने उनी श्रीमतीले मकै पोलेर गुजारा चलाइरहेका छन् । कालीमाटीबाट हरियो मकै ल्याउन उनका श्रीमानले साथ दिने गरेका छन् । बजारमा एकाबिहानै नपुगे मकै पाउनै गाह्रो हुन्छ । होलसेलमा प्रतिगोटा २० देखि २५ रुपैयाँसम्ममा मकै किनेर ल्याउने र उनले पोलेर ४० रुपैयाँमा बिक्री गर्ने गर्छिन् । तर मकैको सिजनमा भने हरियो मकै होलसेलमा १० देखि १५ रुपैयाँमा नै पाउने गरेको उनले सुनाइन् ।
उनी भन्छिन् ‘हरियो मकै सस्तो हुँदा मैले पनि सस्तोमा बेच्छु तर के गर्नु मकै मात्र किनेर भएर दाउरा पाउनै समस्या छ भने त्यो पनि किन्दा त हिसाब किताब बराबर ’ उनले पोलेको मकै धेरै मान्छेले मन पराउँछन्। पुतलीसडक, अनामनगर दरबारमार्गबाट उनले पोलेको मकै खानकै लागि ग्राहक आइपुग्छन्।
उनले पोलेको मकै एक पटक चाखेका ग्राहक फेरि पनि फर्केर आउने गरेको उनी बताउँछिन् । उनले पहिले सडक छेउमै मकै पोल्दै आएकी थिइन् तर काठमाडों महानगरपालिकाले सडकबाट हटाएपछि उनी हुलाक विभाको कम्पाउन्डभित्र सरेकी हुन् । सडक किनारामा हुँदा सय देखि डेढ सयसम्म बिक्री गर्ने काकीले अहिले मुस्किलले ५० देखि ६० घोगा बेच्नु परेको छ । ‘अहिले दिनमा पोलेको मकै ५० देखि ६०घोगासम्म नै बेच्छु। पहिले सडक छेउ हुँदा त भ्याइनभ्याइ नै थियो । त्यही पैसाले बुढाबुढी पालिएका छौँ कोठा भाडा तिर्न र खान लाउन पुगेको छ,’ उनले भनिन्, ’७ हजार रुपैयाँ कोठा भाडा तिर्छु।’ सडकबाटै आफ्ना सामाग्री महानगरपालिकाले जफत गरिदिएको नमिठो अनुभव पनि कार्की सँग छ ।
गरिबहरूका लागि महानगरले वैकल्पिक कुनै व्यवस्था गरिदिए हुन्थ्यो भन्ने पनि उनमा छ । उनी भन्छिन् ‘महानगरले दुई दुई पटकसम्म मेरो सबै सामान लगिदियो मैले केही बोल्नै सकिन । म बुढी मान्छेको कुरा कसले सुन्ने बरु चुपचाप डेरातिर फर्किए । पापी पेट कालागि त केही गर्नै पर्यो फेरी यो हुलाभित्र बस्न पाए’ साँझ ७ बजेसम्म उनले मकै बच्ने गरेको बताइन् । दुई छोरी र एक छोराकी आमा चिनीमायासँग अझै आट र हिम्मत भने युवाहरूमा जस्तै छ । छोराको पनि खासै राम्रो जागिर नभएकाले आफूले सक्दासम्म कसैको बोझ भएर नबस्ने उनी सुनाउँछिन् ।


