Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

विचार

हामी धर्मसँग लडिरहेका छौँ कि भ्रमसँग?

हामी धर्मसँग लडिरहेका छौँ कि भ्रमसँग?

मंगलबार, साउन १२ २०८३
मंगलबार, साउन १२ २०८३
  • काठमाडौं ।‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ नेपालको राष्ट्रिय गानको यही पहिलो पंक्तिले हाम्रो विविधता र एकताको भावलाई प्रतिनिधित्व गर्दै आएको छ । नेपालको सामाजिक इतिहास हेर्ने हो भने विभिन्न धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्व यसको विशेष पहिचान रहँदै आएको छ।

    images

    फरक आस्था, फरक परम्परा र फरक संस्कृतिका मानिसहरू एउटै समाजमा दशकौँदेखि मिलेर बस्दै आएका छन्। तर पछिल्ला केही समययता धार्मिक विषयसँग जोडिएका विवाद, तनाव र झडपका घटनाहरूले एउटा गम्भीर प्रश्न खडा गरेको छ। आखिर किन धार्मिक पहिचानसँग जोडिएका विवादहरू अहिले बढी देखिन थालेका छन् ?

    सुनसरीको इनरुवा आसपास देखिएको पछिल्लो धार्मिक तनाव पनि यही प्रश्नको एउटा उदाहरण हो। कुनै स्थानीय विवादबाट सुरु भएको विषय केही समयमै ठूलो सामाजिक बहसमा परिणत भयो। घटनाको वास्तविकता, कारण र जिम्मेवारीबारे आधिकारिक निष्कर्ष आउनुअघि नै सामाजिक सञ्जालमा विभिन्न दाबी, आरोप–प्रत्यारोप र भावनात्मक प्रतिक्रिया फैलिन थाले। केही घण्टामै धेरै मानिसहरूले आफ्नो धारणा बनाइसकेका थिए, तर ती धारणामध्य कति तथ्यमा आधारित थिए भन्ने प्रश्न भने अनुत्तरित नै छ।

    यस्ता घटनामा सबैभन्दा सजिलो दोष सामाजिक सञ्जाललाई दिन सकिन्छ। तर वास्तविकता त्यति सरल छैन। सामाजिक सञ्जाल आफैंमा एक समस्या होइन । समस्या त्यसको प्रयोग गर्ने हाम्रो तरिका, फैलाइने सूचना र त्यसलाई स्वीकार गर्ने हाम्रो मनोविज्ञानमा पनि छ। सामाजिक सञ्जाल एउटा माध्यम हो, जसले सही सूचना पनि फैलाउन सक्छ र गलत सूचनालाई पनि अत्यन्त छिटो ठूलो समूहसम्म पुर्‍याउन सक्छ।

    आज देशैभर धार्मिक तनाव बढ्नुको एउटा महत्वपूर्ण कारण गलत सूचना र सूचनाको दुरुपयोग पनि हो। सबै गलत सूचना एउटै प्रकारका हुँदैनन्। कतिपय अवस्थामा मानिसहरूले सत्य जाँच नगरी गलत सामग्री साझा गर्छन् जसलाई हामी गलत सूचना (misinformation) भन्छौँ। कतिपय अवस्थामा भने समाजमा भ्रम र तनाव सिर्जना गर्ने उद्देश्यले जानाजानी झुटा सामग्री तयार गरिन्छ, जुन भ्रामक सूचना (disinformation) हो। त्यस्तै, वास्तविक घटना वा सूचनालाई गलत सन्दर्भमा प्रस्तुत गरेर घृणा फैलाउने प्रयास पनि हुन्छ, जसलाई हानिकारक सूचना प्रयोग (malinformation) भन्न सकिन्छ।

    यस्ता सूचनाहरूको प्रभाव केवल तथ्यमा होइन, मानिसको मनोविज्ञानमा पनि पर्छ। मानिसहरू सधैं तर्क र प्रमाणका आधारमा मात्र प्रतिक्रिया दिँदैनन्। कहिलेकाहीँ उनीहरू समूहको हिस्सा बन्न, स्वीकार गरिन वा आफ्नो पहिचान बलियो देखाउन कुनै विचारको समर्थन गर्न पुग्छन्।

    आज सामाजिक सञ्जालमा एउटा प्रवृत्ति देखिन्छ,’सबैले यही भनिरहेका छन् भने सायद यही सही होला।‘ ‘यदि मैले पनि यही पक्ष लिएँ भने म आफ्नो समूहको हिस्सा देखिन्छु।‘ ‘यदि मैले विरोध गरिनँ भने अरूले मलाई कमजोर ठान्लान्।‘ यही भीड मनोविज्ञानले मानिसलाई कहिलेकाहीँ तथ्यभन्दा भावनाको पछि दौडाउन सक्छ। कुनै विषयमा आफ्नो छुट्टै अध्ययन वा सोच बनाउनुभन्दा पहिले नै मानिसहरू समूहको धारणासँग जोडिन पुग्छन्।

    यसको अर्को पक्ष भनेको ‘हामी’ र ‘उनीहरू’ भन्ने सोचको विकास हो। जब कुनै घटनालाई एउटा समुदायको विरुद्ध वा पक्षमा मात्र हेर्न थालिन्छ तब समस्या समाधानभन्दा विभाजनतर्फ जान थाल्छ। एउटा व्यक्तिको गल्तीलाई सम्पूर्ण धर्म वा समुदायको चरित्रसँग जोड्नु न्यायसंगत हुँदैन। हरेक समुदायभित्र जिम्मेवार मानिस पनि हुन्छन् र गलत सोच भएका व्यक्ति पनि हुन्छन्। समस्या समुदायमा होइन, गलत कार्य गर्ने व्यक्ति र त्यसलाई बढावा दिने सोचमा खोजिनुपर्छ।

    तर अर्को महत्वपूर्ण प्रश्न पनि छ। नेपालमा विगत धेरै वर्षसम्म ठूला धार्मिक द्वन्द्व कम देखिन्थे, अहिले किन यस्ता विषयहरू बढी सतहमा आइरहेका छन्? यसको उत्तर एउटै कारणमा खोज्न सकिँदैन। प्रविधिको विस्तार, स्मार्टफोनको पहुँच, सामाजिक सञ्जालको प्रभाव, राजनीतिक तथा सामाजिक ध्रुवीकरण र सूचनाको तीव्र प्रवाह सबैले यसमा भूमिका खेलिरहेका हुन सक्छन्।

    आज नेपाल भौगोलिक रूपमा मात्र होइन, डिजिटल रूपमा पनि विश्वसँग जोडिएको छ। भारत, पाकिस्तान र बंगलादेशजस्ता छिमेकी मुलुकहरूमा भएका धार्मिक तनाव, बहस र विवादका सामग्रीहरू पनि नेपाली प्रयोगकर्तासम्म सहजै पुग्छन्। यस्ता बाहिरी घटनाले नेपालमा प्रत्यक्ष रूपमा द्वन्द्व सिर्जना गर्छन् भन्नु उचित हुँदैन। तर निरन्तर यस्ता सामग्री हेर्दा मानिसहरूको सोच, डर र घटनालाई बुझ्ने तरिकामा प्रभाव पर्न सक्ने सम्भावनालाई भने बेवास्ता गर्न सकिँदैन। कतिपयले स्थानीय घटनालाई पनि क्षेत्रीय धार्मिक तनावको दृष्टिकोणबाट हेर्न थाल्न सक्छन्।

    यससँगै सामाजिक सञ्जालका एल्गोरिदमले पनि भूमिका खेल्छन्। विवाद, आक्रोश र भावनात्मक सामग्रीले बढी प्रतिक्रिया पाउने भएकाले त्यस्ता सामग्री धेरै मानिससम्म पुग्ने सम्भावना बढी हुन्छ। परिणामस्वरूप शान्तिपूर्ण संवादभन्दा उत्तेजक बहस बढी देखिन सक्छ। तर यसको अर्थ सामाजिक सञ्जाल नै दोषी हो भन्ने होइन। जिम्मेवार प्रयोगकर्ता, तथ्य जाँच गर्ने संस्कार र आलोचनात्मक सोचको अभावले समस्या अझ गहिरो बनाउँछ।

    सुनसरी–इनरुवाको घटना केवल एउटा स्थानीय विवाद मात्र नभइ यो हाम्रो समाजले सूचना र भावनालाई कसरी व्यवस्थापन गरिरहेको छ भन्ने परीक्षण पनि हो। आजको चुनौती केवल सडकमा हुने झडप मात्र होइन त्योभन्दा ठूलो चुनौती मानिसहरूको मनमा निर्माण हुने अविश्वास पनि हो।

    त्यसैले समाधान पनि केवल सुरक्षा व्यवस्था कडा बनाएर सम्भव हुँदैन। राज्यले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ। सञ्चारमाध्यमले तथ्य पुष्टि गरेर मात्र सूचना दिनुपर्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि कुनै सामग्री साझा गर्नुअघि त्यसको सत्यता जाँच गर्ने जिम्मेवारी लिनुपर्छ।

    अन्ततः प्रश्न धर्मको मात्र होइन, हाम्रो सोच र व्यवहारको पनि हो। फरक आस्था हुनु कुनै समस्या होइन तर फरक आस्थालाई सम्मान गर्न नसक्नु समस्या हो। यदि हामीले अफवाहभन्दा तथ्य, भीडको आवाजभन्दा स्वतन्त्र सोच र घृणाभन्दा संवादलाई प्राथमिकता दिन सक्यौँ भने विविधता नेपालको कमजोरी होइन, सबैभन्दा ठूलो शक्ति बन्न सक्छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij