काठमाडौं । असार लागेपछि गाउँघरमा छुट्टै रौनक छाउँछ। हिलोले भरिएका खेतमा वल्लो–पल्लो घरका, छिमेकका, कोही पर्ममा त कोही ज्यालामा आएका खेतालाले खेत भरिएको हुन्छ। खेतको हिलोले खुट्टा समात्छ, कपडा फोहोर बनाउँछ, शरीर थकाउँछ। तर त्यही हिलोमा केही मुस्कानहरू भने वर्षौंदेखि उस्तै हँसिला र उज्याला छन्।

गाउँमा बिहानदेखि रोपाइँमा झुकेका हातहरू केहीबेरका लागि रोकिन्छन्। कसैले गम्छाले निधार पुस्छन्, कसैले डोकोबाट खाजा निकाल्छन्। खेतको आलीमै बिहानदेखिको थकान र भोक मेटाउन सबै गोलो भएर बस्छन्। कसैले धेरै बोल्छन्, कसैले हाँस्दै कुरा सुन्छन्। उनीहरूलाई हाँस्न कुनै विशेष कारण चाहिँदैन। सायद उनीहरूका लागि सुख–दुःखमा सँगै हुनु नै पर्याप्त हुन्छ।


तस्बिरमा देखिएकी वृद्ध आमाको अनुहारमा समयले कोरेका रेखाहरू प्रष्ट देखिन्छन्। ती रेखाहरूले उमेर मात्रै होइन, कति रोपाइँ, कति बाली र कति मौसम देखेका होलान्। तर उनको मुस्कान हेर्दा लाग्छ, जीवनले सबैभन्दा धेरै सिकाएको कुरा गुनासो होइन, स्वीकार गर्न जान्नु रहेछ।

खेतमा काम गर्नेहरूका लागि रोपाइँ नयाँ कुरा होइन। हरेक वर्ष असार आउँछ। फेरि बिउ रोपिन्छ। फेरि पानीमै दिन बित्छ। शरीर थाक्छ। तर यही दोहोरिने कामभित्र पनि उनीहरू हाँस्न बिर्सँदैनन्। सायद त्यसैले गाउँ अझै गाउँजस्तै छ।
पुरानो माटोको घर, खेतका आली, कोदालो, चिउराको खाजा र एउटै थलो वरिपरि बसेका मानिसहरू। यी दृश्यहरू कुनै विशेष अवसरका होइनन्। यही उनीहरूको दैनिकी हो। हामीलाई सामान्य लाग्ने यी क्षणहरू नै उनीहरूको जीवनका सबैभन्दा सच्चा तस्बिर हुन्।


हामी प्रायः गाउँलाई दुःखको कथाजस्तै हेर्छौँ। तर गाउँमा दुःख मात्र छैन। त्यहाँ सँगै काम गर्ने मानिस छन्, सँगै खाने समय छ, सानो कुरामै छुट्ने हाँसो छ। यही हाँसोले दिनभरको थकानलाई केहीबेर भए पनि हलुका बनाइदिन्छ।

सायद त्यसैले यी तस्बिरहरू रोपाइँका मात्रै तस्बिर होइनन्। यी त एउटा बानीका तस्बिर हुन् जसले जति काम बढे पनि, जति उमेर ढले पनि, मुस्कुराउन नछोड्ने बानी देखाउँछन्।


